मङ्लबार, माघ २७, २०८२
Tuesday, February 10, 2026

ज्ञानेन्द्र मल्ललाई खेलकुदको बागडोर सुम्पिने छौं : बालेन साह

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाहले नेपाली क्रिकेटका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको खेल कौशल र अनुभवलाई देशको नीति निर्माण तहमा सदुपयोग गर्ने उद्घोष गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता शाहले सन् २०१४ को ऐतिहासिक विश्वकपमा नेपालको सानदार प्रदर्शन र त्यसमा ज्ञानेन्द्र मल्लको योगदानको चर्चा गरेका हुन् । उनले मल्ललाई पार्टीको तर्फबाट समानुपातिक सांसदको उम्मेदवार बनाइएको जानकारी दिँदै खेलकुद क्षेत्रको विकासको जिम्मा अब पूर्व कप्तान मल्लकै काँधमा रहने स्पष्ट पारेका छन् ।

वरिष्ठ नेता शाहले आफ्नो स्टाटसमा सन् २०१४ को बंगलादेश विश्वकपलाई स्मरण गरेका छन्, जहाँ नेपालले अफगानिस्तान र हङकङ जस्ता देशलाई पराजित गर्दै विश्व क्रिकेटमा आफ्नो दरिलो उपस्थिति जनाएको थियो। सो प्रतियोगितामा मल्लको ब्याटिङ नै नेपालको जितको मुख्य आधार बनेको उल्लेख गर्दै शाहले भनेका छन्, ‘उहाँले मैदानमा देखाउनुभएको खेल, अनुशासन र क्षमतालाई अब क्रिकेट र समग्र खेलकुद विकासमा सदुपयोग गरिनेछ ।’

राजनीतिमा युवा र दक्ष जनशक्तिको आगमन हुनुपर्ने एजेन्डा बोकेका शाहले क्रिकेटले देशलाई जोड्ने र खुसी दिने मात्र नभई यसले व्यावसायिक सम्भावना पनि बोकेको बताएका छन् । उनले क्रिकेटको आगामी लक्ष्य, योजना र विकासको जिम्मेवारी विज्ञकै रूपमा ज्ञानेन्द्र मल्ललाई दिइएको बताएका हुन् । मल्लको अनुभव र दृष्टिकोण (भिजन) अनुसार नै नेपालको खेलकुद क्षेत्रलाई अगाडि बढाइने उनको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x