प्रधानमन्त्री, आयोगका पदाधिकारी र मन्त्रीहरू सहितको बैठक बस्दै
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता लगायतका समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहितको बैठक आयोगका पदाधिकारीहरूसँग प्रधानमन्त्रीले छलफल गर्न लागेको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।
आज ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक हुनेछ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सरोकारवालाबीच विचार–विमर्श गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
‘निर्वाचन आचारसंहिता लागु हुने समय भयो । आचारसंहिता लागु भएपछि सरकारले के के गर्नुहुन्छ र के के गर्नुहुँदैन भनेर आयोगका पदाधिकारीले ब्रिफिङ गर्ने कार्यक्रम छ’, रावलले भने, ‘त्यसबाहेक अरू केही विषय होइन ।’
निर्वाचन आयोगले यही माघको पहिलो साताबाट निर्वाचन आचारसंहिता कार्यान्वयनमा आउने बताएको छ । नेपाली कांग्रेसको आन्तरिक विवादपछि कांग्रेसको शेरबहादुर समूहले आइतबार नै सर्वोच्चमा रिट निवेदन दिएको छ भने निर्वाचन आयोगमा माघ ६ गतेको मनोनयन स्थगन गर्न माग गरेको छ ।
चुनावका लागि प्रत्यक्षतर्फ मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ । तर राजनीतिक दलहरूले उम्मेदवारी चयनका लागि आन्तरिक व्यवस्थापन गर्न समस्या परेपछि केही दिन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरिरहेका छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE