लामिछाने विरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति
काठमाडौं – नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ ।
लामिछानेमाथिका मुद्दा कमजोर बनाउन गरिएको प्रयास र भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोधमा प्रदर्शन गरेको युवा संघले जनाएको छ ।
सङ्घका अध्यक्ष क्षितिज थेबेले सामाजिक सञ्जालमार्फत उक्त निर्णयलाई गैरकानूनी, अनैतिक र दण्डहीनतालाई प्रश्रय दिने कार्यको संज्ञा दिनुभएको छ । उहाँले सरकारलाई सो निर्णय फिर्ता लिन कडा चेतावनी समेत दिनुभएको छ ।
सङ्घका प्रवक्ता निरोज पौडेलका अनुसार फौजदारी कार्यविधि संहिता, २०७४ ले गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिन नमिल्ने स्पष्ट व्यवस्था गरेको स्मरण गराइएको छ । सङ्घले यस प्रकरणमा नागरिक समाज र हिजो यही विषयमा चर्को आवाज उठाउने चर्चित व्यक्तिहरूको मौनताप्रति समेत प्रश्न उठाएको छ।
युवा संघको केन्द्रीय कार्यालयबाट विरोध प्रदर्शन निकालिएको हो । महान्यायाधिवक्ताको कार्यालयले रवि लामिछानेको मुद्दा कमजोर बनाउने गरी निर्णय गरेको भन्दै आलोचना हुँदै आएको छ ।
प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताले सरकार र रवि लामिछानेविरुद्ध नाराबाजी गरेका थिए ।


WRITE COMMENTS FOR THIS ARTICLE