सरकारले पूर्वप्रधानमन्त्रीहरूकाे सुरक्षा बृद्धि गर्ने
काठमाडौं – सरकारले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा बढाउने भएको छ। यहि पुस ८ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की र शीर्ष तीन नेताबीच पहिलो पटक छलफल भएको थियो । सोही छलफलमा तीन पूर्वप्रधानमन्त्रीले चुनावका लागि सुरक्षाको वातावरण नबनेको बताउँदै यही बेला सरकारले आफ्ना सुरक्षाकर्मी पनि फिर्ता लगेको गुनासो गर्नुभएको थियो।
प्रधानमन्त्री कार्कीले चुनाव गराउन प्रतिबद्ध रहेको दोहोर्याउँदै शीर्ष नेताहरूलाई सरकारले आवश्यक सुरक्षा प्रबन्ध मिलाउने वचन दिनुभएको थियो । सोही अनुसार थप सुरक्षा दिने गरी गृह मन्त्रालयले तयारी थालेको हो।
गृह स्रोतका अनुसार पछुवा गाडीको व्यवस्था गर्न सशस्त्र प्रहरीलाई भनिएको छ। ‘उहाँहरूसँग पहिले पनि सुरक्षाकर्मी धेरै थिए। बीचमा सरकारले मापदण्डभन्दा बढी भएका फिर्ता ल्याउने निर्णय गरेको थियो तर अहिले फेरि सुरक्षा बढाउने कुरा आएको छ, हामीले आवश्यक व्यवस्थाका लागि दुवै प्रहरी (सशस्त्र प्रहरी र नेपाल प्रहरी) लाई भनिसकेका छौँ, अब तीनै जना पूर्वप्रधानमन्त्रीले पछुवा गाडीसहितको सुरक्षा पाउनुहुन्छ,’ गृह मन्त्रालय स्रोतले भन्यो।
यसअघि असोज २३ गते गृहमन्त्री ओमप्रकाश अर्याल नेतृत्वको केन्द्रीय सुरक्षा समितिको बैठकले मापदण्डभन्दा बढी र मापदण्डविपरीत लगेका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार गृह मन्त्रालयले परिपत्र गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले देशभर यसरी लगेका पूर्व तथा हालका अति विशिष्ट र विशिष्टसहितले लगेका सुरक्षाकर्मीहरू फिर्ता गरेको थियो।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका बढी सुरक्षाकर्मी फिर्ता भएका थिए। जेनजी आन्दोलनमा कुटपिटमा पर्नुभएका शेरबहादुर देउवाको भने त्यतिबेलै सुरक्षाकर्मी फिर्ता भएका थिए। त्यसपछि देउवाले सीमित मात्रै सुरक्षाकर्मी लिनुभएको थियो ।
जेनजी आन्दोलनपछि बनेको कार्की नेतृत्वको सरकारले बढी सुरक्षाकर्मी फिर्ता गर्ने भनेपछि थप टोली पठाइएको थिएन। सरकारले सुरक्षाकर्मीको संख्यासँगै यसअघि खटाएको टोली नै हेरफेर गरेको थियो। आफ्नो सुरक्षा टोली कटौती र भएकै संख्यामा पनि यसअघिका अधिकृतहरू हटाएपछि तीन पूर्वप्रधानमन्त्रीहरू असन्तुष्ट बन्नुभएको थियो।


WRITE COMMENTS FOR THIS ARTICLE