बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

महिलामैत्री नीतिका कागजमा मात्र सीमित नरही व्यवहारमा कार्यान्वयन हुनुपर्छः मन्त्री सिन्हा

काठमाडौैं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले महिलामैत्री नीति कागजमा मात्र सीमित नरही व्यावहारिक रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । महिलालाई उद्यम, व्यवसाय र स्टार्टअप क्षेत्रमा वास्तविक पहुँच र अवसर दिन नसकेसम्म नीतिको औचित्य पुष्टि नहुने उनको भनाइ थियो ।

नीति रिसर्च प्रालिद्वारा सोमबार यहाँ आयोजित ‘स्टार्टअपमा महिला अवसर, चुनौती र आगामी बाटो’ विषयक अन्तरक्रियामा मन्त्री सिन्हाले महिला उद्यमीलाई उद्योग तथा व्यवसाय क्षेत्रमा प्रेरित गर्नु आजको आवश्यकता भएको बताए । उनले महिलाको उद्यमशीलता विकासले समग्र अर्थतन्त्रलाई मजबुत बनाउने उल्लेख गरे ।

“असफलता नै सफलतातर्फको पहिलो पाइला हो, महिलाले काम गर्न सक्छन् कि सक्दैनन् भन्ने बहस अब समाप्त भइसक्यो,” मन्त्री सिन्हाले भने, “अब महिलाहरू काम गरिरहेका छन्, उद्यम गरिरहेका छन् भन्ने यथार्थ स्थापित गर्न आवश्यक छ । त्यसका लागि महिला उद्यमीलाई माथि उकास्न राज्य, निजी क्षेत्र र समाज सबैले सकारात्मक भूमिका खेल्नुपर्छ ।”

मन्त्री सिन्हाले देशका विभिन्न स्थानमा महिलाले ठूला व्यापार तथा उद्योग सफलतापूर्वक सञ्चालन गरिरहेका उदाहरणहरू रहेको उल्लेख गर्दै यस्ता प्रयासलाई थप प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट परेका थिए । महिला उद्यमीलाई आवश्यक सीप, लगानी, बजार र नीतिगत सहजीकरण प्रदान गर्न सके आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।

“महिला उद्यमीले सञ्चालन गरेका व्यवसायलाई सरकारले प्राथमिकताका साथ सहयोग गर्नुपर्छ”, उनले भने, “महिला उद्यमी सशक्त भए घर परिवार सशक्त हुन्छ, परिवार सशक्त भए समाज र राष्ट्र सशक्त हुन्छ । त्यसैले महिलालाई सशक्त बनाउनु सरकारको दायित्व हो ।”

कार्यक्रममा सहभागी वक्ताहरूले स्टार्टअप क्षेत्रमा महिलाले भोग्दै आएका चुनौती, अवसर तथा आगामी रणनीतिका विषयमा धारणा राखेका थिए । उनहरूले वित्तीय पहुँचको अभाव, सामाजिक सोच, सीप विकास र बजार पहुँचजस्ता चुनौतीहरू समाधान गर्न समन्वित पहल आवश्यक रहेको औँल्याउनु भएको थियो ।

त्यस अवसरमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक ई उमेशकुमार गुप्ताले कार्यपत्र प्रस्तुत गर्दै महिला उद्यमशीलताको वर्तमान अवस्था, नीति संरचना र सुधारका सम्भावित क्षेत्रबारे विस्तृत जानकारी गराएका थिए ।

नीति रिसर्च प्रालिका निर्देशक वासुदेव न्यौपानेले महिला केन्द्रित स्टार्टअपलाई दीर्घकालीन रूपमा टिकाउ बनाउन नीति, प्रविधि र संस्थागत सहयोग अपरिहार्य रहेको बताए । उनले महिला उद्यमशीलताको प्रवद्र्धनका लागि ठोस कार्ययोजना र प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x