बुधबार, पुस २३, २०८२
Wednesday, January 7, 2026

डेनमार्कको ४ सय वर्ष पुरानो डाक सेवाको युग समाप्त

डेनमार्कले पत्र वितरण अर्थात् हुलाक सेवा अन्त्य भएको घोषणा गरेको छ। यससँगै डेनमार्कको ४ सय वर्ष पुरानो डाक सेवाको युग समाप्त भएको छ। डेनमार्कको सरकारी डाक सेवा ‘पोस्टनर्ड’ ले आफ्नो इतिहासकै अन्तिम पत्र वितरण गरिएको जानकारी दिएको छ।

४ सय वर्षदेखि सञ्चालन हुँदै आएको यो राष्ट्रिय सेवा डिजिटल युगको बढ्दो प्रभावका कारण बन्द भएको हो। यस्तो निर्णय लिने डेनमार्क विश्वकै पहिलो देश बनेको छ।

पश्चिमी विश्वका धेरै देशहरूमा देखिँदै आएको डाक सेवाको गिरावट डेनमार्कमा चरम अवस्थामा पुगेको देखिन्छ। तथ्यांकअनुसार, सन् २००० को तुलनामा सन् २०२४ सम्म आइपुग्दा डेनमार्कमा पत्र वितरण ९० प्रतिशतभन्दा बढीले घटेको छ। तुलनात्मक रूपमा, अमेरिकामा पनि सन् २००६ को तुलनामा सन् २०२४ मा डाक सेवा करिब ५० प्रतिशतले घटेको पाइएको छ।

आजभोलि अधिकांश संवाद ह्वाट्सएप, भिडियो कल, इमेल र सामाजिक सञ्जालमार्फत हुने भएकाले सञ्चारको शैली र भाषा दुवै परिवर्तन भएका छन्। नेदरल्यान्ड्सको हुइगेन्स इन्स्टिच्युटका प्राध्यापक डिर्क भान मिर्टका अनुसार:

“अब पत्रहरू डिजिटल सन्देशभन्दा बढी व्यक्तिगत र भावनात्मक सञ्चारको प्रतीक बन्नेछन्।”

उनका अनुसार शताब्दीयौंदेखि पत्रमार्फत बनेका ज्ञानका सञ्जालहरू अहिले अनलाइन माध्यममा झन् विस्तार भइरहेका छन्। यसले सूचनाको पहुँच छिटो त बनाएको छ, तर सँगसँगै गलत सूचना फैलिने जोखिम पनि बढाएको छ।

पोस्टनर्डले गत जुनदेखि डेनमार्कभर रहेका करिब १,५०० मेलबक्स हटाउन सुरु गरेको थियो। डिसेम्बर १० मा ती मेलबक्सहरू परोपकारका लागि बिक्रीमा राख्दा हजारौँ डेनमार्कवासीले किन्न इच्छा देखाएका थिए। प्रत्येक मेलबक्सको मूल्य अवस्थाअनुसार १,५०० देखि २,००० डेनिस क्रोन तोकिएको थियो।

अब पत्र पठाउन चाहनेहरूले पसलभित्र रहेका ‘किओस्क’ मा पत्र बुझाउनुपर्नेछ। निजी कम्पनीहरूले स्वदेश तथा विदेशमा कुरियरमार्फत ती पत्र पुर्‍याउनेछन्। अनलाइन किनमेल लोकप्रिय भइरहेकाले पोस्टनर्डले पार्सल वितरण कार्य भने जारी राख्नेछ।

डेनमार्क विश्वकै सबैभन्दा बढी डिजिटल प्रविधि अपनाउने मुलुकमध्ये एक हो। त्यहाँ सरकारी सेवासमेत अनलाइन पोर्टलमार्फत सञ्चालन हुने भएकाले भौतिक पत्राचारको आवश्यकता निकै कम भएको छ।

यद्यपि, विश्वभर अझै पनि करिब २.६ अर्ब मानिस इन्टरनेटको पहुँचभन्दा बाहिर छन्। संयुक्त राष्ट्रसंघ सम्बद्ध युनिभर्सल पोस्टल युनियनका अनुसार ग्रामीण क्षेत्र, विपन्न समुदाय, महिला र वृद्धवृद्धाहरू अझै पनि डिजिटल पहुँचबाट वञ्चित छन्, जसका लागि परम्परागत हुलाक सेवाको महत्त्व अझै कायमै छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x