बुधबार, फाल्गुन २०, २०८२
Wednesday, March 4, 2026

निःस्वार्थ, निस्पृह र जिम्मेवार ढङ्गले मुख्यसचिवको पद सम्हाल्ने अर्यालकाे प्रतिबद्धता

काठमाडाैं – नेपाल सरकारका नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले राष्ट्र र जनताको सर्वोत्तम हित हुने गरी मुख्यसचिव पदको जिम्मेवारी निःस्वार्थ, निस्पृह र जिम्मेवार ढङ्गले सम्हाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बुधबार सिंहदरवारमा पद बहालीपछि आयोजित स्वागत कार्यक्रममा उनले चुनौतीपूर्ण अवस्थामा प्राप्त भएको यो जिम्मेवारीलाई पूर्ण जिम्मेवारी बोधका साथ निर्वाह गर्ने बताउँदै राष्ट्र र जनताको सर्वोत्तम हित नै आफ्नो कार्यसंचालनको मूल लक्ष्य रहने स्पष्ट गरे।

उनले आफ्नो कार्यकालमा निजामती सेवाको साख बढाउँदै यसलाई सुशासन, सेवा प्रवाह, विकास निर्माण तथा समग्र रूपान्तरणको मियोको रूपमा स्थापित गर्न अहोरात्र क्रियाशील रहने प्रतिबद्धता जनाए। उनका अनुसार, देशको गौरव र प्रतिष्ठा वृद्धि तथा नागरिक सन्तुष्टि अभिवृद्धि नै आफ्नो कार्यकालको सर्वोपरि लक्ष्य हुनेछ। सार्वजनिक सेवालाई चुस्त, पारदर्शी र नागरिक–मैत्री बनाउँदै प्रशासनिक संयन्त्रलाई विकास र नतिजामुखी बनाउनेमा उनले जोड दिए।

मुख्यसचिव अर्यालले देश संवेदनशील परिस्थितिबाट गुज्रिरहेको वर्तमान अवस्थामा प्रशासनिक कामकाजलाई विगतझै सामान्य ढङ्गले सञ्चालन गर्न असम्भव रहेको उल्लेख गर्दै शान्ति–सुरक्षा, स्थिरता, सद्भाव र सेवा प्रवाहलाई अक्षुण्ण राख्न अझ बढी समर्पित भएर खटिनुपर्ने आवश्यकता औँल्याए। उनले सबै तहका कर्मचारीमा सक्रियता, लगनशीलता र नतिजामुखी कार्यशैलीको निरन्तर आवश्यकता रहेको स्पष्ट पारे।

उनका अनुसार, स्थायी सरकारको रूपमा परिचित निजामती सेवा राज्य सञ्चालनको मेरुदण्ड भएकाले नीति निर्माणदेखि कार्यान्वयनसम्म यसको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। राजनीतिक नेतृत्वलाई तथ्य–तथ्याङ्क, सूचना तथा परामर्श उपलब्ध गराउनु, ऐन–नियम कार्यान्वयन गरी शान्ति–सुव्यवस्था कायम गर्नु, समयमै सार्वजनिक सेवा उपलब्ध गराउनु तथा विकास निर्माणलाई गति दिनुजस्ता जिम्मेवारी बोकेको निजामती सेवा जति सबल हुन्छ, सुशासनको स्तर त्यति नै माथि उठ्ने उनले बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x