नेपाल ट्रस्ट जग्गा प्रकरण : ओली, प्रचण्डलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारीमा सिआईबी
काठमाडौं– नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा ३० वर्षका लागि यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिने निर्णयमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ ।
लिज सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन् ।
सीआईबीले उनलाई मिलेमतो र ठगीको आरोपमा अनुसन्धान अघि बढाएको छ ।
२०७१ साउन २८ मा ट्रस्टको सञ्चालक समितिले उक्त जग्गा भाडामा दिने निर्णय गरेको थियो ।
त्यसपछि दुई वर्षपछि सार्वजनिक बोलपत्र आह्वान गर्दा थामसेर्कुलाई अनुकूल हुने गरी मापदण्ड तयार गरिएको देखिएको छ ।
प्रतिस्पर्धामा छ कम्पनी सहभागी भए पनि अन्ततः थामसेर्कुले प्रस्ताव जितेको थियो ।
अनुसन्धानकर्मीहरूका अनुसार सहसचिवस्तरबाट निर्णय भए पनि ट्रस्टका संरक्षक (प्रधानमन्त्री) र अध्यक्ष (गृहमन्त्री) को मिलेमतोमा सस्तोमा सम्झौता गरिएको आशंका छ ।
२०७३ असारमा बोलपत्र आह्वान हुँदा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्तिबहादुर बस्नेत थिए भने २०७४ वैशाखमा प्रस्ताव स्वीकृत र जेठमा सम्झौता गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री विमलेन्द्र निधि थिए ।
थामसेर्कुले सुरुवातमा ६ अर्ब २६ करोड रुपैयाँको प्रस्ताव गरे पनि पछि रकम घटाएर १ अर्ब ४० करोडमा सम्झौता गरेको पाइएको छ ।
अन्य प्रतिस्पर्धीले भने ६२ करोड र २६ करोड प्रस्ताव गरेका थिए ।
अनुसन्धान अनुसार यो प्रक्रिया योजनाबद्ध रूपमा सस्तो दरमा सम्पन्न गरिएको हो ।
सीआईबी प्रमुख एआईजी मनोज केसीका अनुसार सम्झौतामा केरमेट गरिएको प्रमाण भेटिएको छ ।
उनले भने, ‘राज्यलाई ठूलो हानि पुर्याउने गरी मिलेमतो भएको देखिन्छ ।’
नेपाल ट्रस्ट गणतन्त्र स्थापनापछि तत्कालीन राजपरिवारका सम्पत्ति व्यवस्थापनका लागि २०६४ मा गठन गरिएको हो ।
पछिल्ला वर्षहरूमा ट्रस्टका अधिकांश जग्गा यति होल्डिङ्स समूहले भाडामा लिएको देखिन्छ ।
यसअघि पनि गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि २५ वर्ष थप्ने निर्णय गर्दा विवाद उठेको थियो, जसमा तत्कालीन प्रधानमन्त्री ओली र रक्षामन्त्री ईश्वर पोखरेल आलोचनामा परेका थिए ।


WRITE COMMENTS FOR THIS ARTICLE