काठमाडौं – यही भदौ २०-२२ मा हुन लागेको नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको तयारी गोदावरीमा धमाधम भइरहेको छ । गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन हुँदै छ ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नाराका साथ हुने महाधिवेशनको तयारी करिब पूरा भएको पार्टीले जनाएको छ ।
महाधिवेशनस्थल सनराइज हलको प्रांगणमा पुष्पलाल, मदन भण्डारी, मनमोहन, केपी ओली साथै मार्क्स, एंगल्स र लेनिनको कटआउट राखिएको छ ।
विधान महाधिवेशनबारे जानकारी दिन बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेनलमा पार्टी अध्यक्ष केपी शर्मा अोलीले उद्घाटन गर्ने जानकारी दिइयो।
त्यस्तै महाधिवशेनमा २ हजार २६ जना प्रतिनिधि रहने छन् भने आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल सहभागी सङ्ख्या २ हजार ३सय ४१ रहने छ। विधान अधिवेशनमा एमाले अध्यक्ष ओलीले भाद्र २० गते ११ बजे समुद्घाटन गर्ने बताइएको छ।
महाधिवेशनका लागि मञ्च सजावट, सचिवालयको व्यवस्थापन, स्वयंसेवकहरुको व्यवस्थापन, मेडिकल टिम, मिडिया सेन्टरको व्यवस्थापन, झाँकी प्रदर्शनको व्यवस्थापन, सातदोबाटो चोकबाट महाधिवेशन स्थलसम्म यातायातको व्यवस्था र सातदोबाटोदेखि महाधिवेशन स्थलसम्म विभिन्न पार्टी कमिटी र जनसंगठनहरुका तर्फबाट स्वागतद्वारका अतिरिक्त उपत्यकाका विभिन्न स्थानहरुमा स्वागत गेटहरु निर्माण लगायत आवश्यक सबै काम पूरा भएको बताइएको छ।
अधिवेशनमा पार्टीका तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन्।
त्यसै गरी केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ-आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने छन्।
WRITE COMMENTS FOR THIS ARTICLE