विज्ञान प्रविधिमा आधारित उद्यमशीलताको विकासका लागि राज्यले पहल गर्नुपर्छ-राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधिमा आधारित उद्यमशीलताको विकासका लागि राज्यले पहल गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय युवा परिषद्ले आज ललितपुरमा आयोजना गरेको युवा वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वैज्ञानिक अनुसन्धान र प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यको स्पष्ट नीति, पर्याप्त लगानी, सहकार्य प्रणाली र पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।
“युवाहरू विदेशपलायन हुनुपर्ने अवस्था न्यूनीकरण गर्न देशभित्र भरोसा र अवसर निर्माण गर्नुपर्ने आवश्यकता छ, यस्ता खालका महत्त्वपूर्ण सम्मेलनले युवामा आशा र सम्भावनाको नयाँ आधार खडा गर्नेछ । विज्ञान प्रविधिमा नेपाल अझै पछाडि रहेको अवस्थामा अनुसन्धानका पूर्वाधार, सरकारी तथा निजी लगानी, विश्वविद्यालय र प्रयोगशालाबीच समन्वय, नवप्रवर्तनको व्यवसायीकरण गर्न नीतिगत प्रोत्साहनलगायत पक्षमा सुधार गर्नुपर्ने हुन्छ”, दाहालले भने ।
अध्यक्ष दाहालले अनुसन्धान अनुदान, नवप्रवर्तन कोष, प्राविधिक शिक्षाको सुदृढीकरण तथा बौद्धिक सम्पत्ति अधिकारको संरक्षणका लागि स्पष्ट संरचना निर्माण गर्न जोड दिएका छन् ।
“विज्ञान तथा प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यले नीति निर्माण, पूर्वाधार विकास, जनशक्ति उत्पादन र अनुसन्धान प्रवर्द्धनलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने देखिन्छ, सङ्घीय संसद्ले प्रविधिको विकासमा दृष्टिगत गर्दै विभिन्न विधेयकहरू निर्माण गरिरहेको छ”, उनले भने । यस्तै उनले विज्ञान प्रविधिसँग सम्बन्धित कानुनहरू युवामैत्री बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।
अध्यक्ष दाहालले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, सामाजिक सञ्जाल विधेयक, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, मिडिया काउन्सिललगायत विधेयकहरू सङ्घीय संसद्मा छलफलका क्रममा रहेकाले यथाशीघ्र पारित हुने विश्वास व्यक्त गरे ।
विज्ञान प्रविधिको क्षेत्रमा आत्मनिर्भर बन्न नीतिगत स्थायित्व मात्र नभई पूर्वाधार निर्माण, दक्ष जनशक्ति उत्पादन र अनुसन्धान प्रवर्द्धनलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने उनले आवश्यकता औँल्याए । “सरकारले नीति तथा कार्यक्रम र बजेटमा विज्ञान प्रविधिको क्षेत्रमा विकास गर्न र लगानी बढाउन केही प्रतिबद्धता जनाएको छ, त्यसलाई कार्यान्वयन गर्ने र बजेटको सही सदुपयोगमा इमान्दारिता कायम गर्ने हो भने सफलता मिल्छ भन्ने विश्वास लिएको छु”, उनले भने।
अध्यक्ष दाहालले युवा वैज्ञानिकहरूलाई सिर्जनशील सोच, प्रयोगशील क्षमता र अनुसन्धानमूलक प्रवृत्तिमा अझ प्रोत्साहित गर्न आग्रह गरे ।राष्ट्रिय युवा परिषद्, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) रोबोटिक्स एसोसिएसन नेपाललगायत संस्थाको सहकार्यमा आयोजना गरिएको उक्त सम्मेलनमा युवा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधिमा नवप्रवर्तन गर्ने युवाको सहभागिता थियो ।
सम्मेलनमा नवप्रवर्तनशील प्रविधिको प्रदर्शनीका साथै विविध वैज्ञानिक विषयमा विज्ञहरूमार्फत विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
WRITE COMMENTS FOR THIS ARTICLE