बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

कैलाली कारागार कैदीहरुको कब्जामा,गृहमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि बोलाए

कैलाली । कैदीहरुबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि कैलाली कारागार कैदीहरुको कब्जामा परेको छ।

शुक्रबार मध्यराति झडप भएपनि त्यसपछि कारागारभित्रको घटनास्थलमा सुरक्षा निकायका पदाधिकारी नै जान सकेका छैनन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, कैलालीका प्रहरी उपरीक्षक बालनसिह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीतसहितका सुरक्षा अधिकारीहरू कारागारको अवस्था बुझ्न गएका थिए। तर कैदीहरूले उनीहरूलाई कारागारभित्र पस्न दिएनन्।

‘हामीहरू अहिलेसम्म पनि कारागारभित्र पस्न सकेका छैनौं। उनीहरू आक्रोसित छन्। थप घटना नहोस् भनेर नै हामीले भित्र जान पनि खोजेका छैनौं’ प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले भने। जिल्ला सुरक्षा समितिको बैठकले अहिले कारागार सुरक्षाका लागि सशस्त्र प्रहरी पनि तैनाथ गरेका छन्।

घटनापछि राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि कारागारभित्रको घटनास्थलसम्म पुग्न सकेको छैन।

कारागारमा शुक्रबार राती सामूहिक झडप भएको थियो। झडपमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षका भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्। यसअघि ४७ जना घाइते भनिएकोमा घाइते अवस्थामै कारागारको छतमा लुकेका थप २ जना प्रहरीको टोली पुगेपछि फेला परेका हुन्।

मृतक चौधरीको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। घाइते ४९ जनालाई सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ। सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले घाइतेहरूमध्ये अधिकांशका हात खुट्टा भाँचिएका छन्। उनले झडपमा फलामका रडहरूको बढी प्रयोग भएको बताए।

‘फलामे रडहरुको बढी प्रयोग भएको छ। घाइतेहरूलाई ठूलो चोट लागे पनि उनीहरु खतरामुक्त छन्। एक जनाको सल्यक्रिया भएको छ। एक जनालाई आईसियुमा भर्ना गरिएको छ,’ डाक्टर कमरले भने।

सेती प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचारका लागि स्थान नपुगेपछि घाइतेहरूलाई नजिकै रहेको कोरोनाका बेला बनाइएको भवनमा सारिएको छ।

धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि बोलाएका छन् ।

कैदीबन्दीबीच झडपपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न मन्त्री लेखकले शनिबार बेलुकी ४ बजे गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई बोलाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्ले लगायत सहभागी हुनेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x