बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज जनैपूर्णिमा, यसकाे शास्त्रीय मान्यता

गुरुपूर्णिमा असारपछिको पूर्णिमालाई साउनको जनैपूर्णिका रूपमा मनाउँदै छौँ । नेपाली समाजमा चाडपर्व नभएका दिन नै हुँदैनन् । श्रावणशुक्ल पूर्णिमा, नयाँ जनै धारण गर्ने, रक्षाकवचका रूपमा रहेको रङ्गिन धागो नारीमा बाँध्ने र वर्षा ऋतुको प्रतिकूल मौसमसँग जुधी शरीरलाई थप पोषण प्राप्त गर्न विभिन्न गेडागुडी मिसाइएको क्वाँटी खाने विशेष दिन हो ।

तागाधारीहरूले प्राचीन भनौँ आफ्ना पुर्खा, ऋषि, महर्षिहरूलाई सम्झेर जल, तर्पण दिने दिन भएकाले यसलाई ऋषितर्पणी पनि भनिन्छ, बिहानै रुद्राभिषेक गरिन्छ, अष्टचिरञ्जीवीलगायतका देवताको विशेष पूजा गरिन्छ, यज्ञोपवित वा नयाँ जनैलाई मन्त्रणा गरिन्छ । जनै धारण गर्ने मन्त्रः यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् । आयुष्यमग्य्रंप्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तुतेजः हो । यो कर्म सबै ब्रह्मविधिले गरिन्छ, विधि बिनाको कर्मफल राम्रो प्राप्त हुन्न । मानव शरीरमा शुद्ध र स्वाध्याय गरी नै रहनुपर्ने हुँदा यस दिनलाई शरीर शुद्धि र विशेष स्वाध्याय गर्ने दिनका रूपमा पनि मानिन्छ । विशेष स्नान गरी यज्ञोपवित अर्थात् जनै, ब्रह्मसूत्र धारण गर्ने दिन वा उपाकर्म गर्ने दिनका रूपमा पनि यस दिनलाई मानिन्छ ।

यजुर्वेदीहरूका लागि वेदको अध्ययन आरम्भ गर्ने दिन, श्रवण नक्षत्रयुक्त भएकाले यसलाई श्रावणी भन्ने गरिएको हो । सामवेदीहरू भाद्रशुक्ल पूर्णिमामा र अथर्ववेदीहरूले श्रावण या भाद्र पूर्णिमाका दिन उपाक्रम गर्ने गर्छन् । तागाधारीहरूले यसदिन बिहानै विशेष चोखो माटो, खरानी, गोबर, जौ, तिल, कुश प्रयोग गरी स्नान गर्छन् । सप्तऋषिहरूको पूजा गरी वेदमन्त्रले नयाँ जनै मन्त्रेर रुद्राभिषेकसहित नयाँ जनै प्रयोग गरी पुरानो जनैलाई झिक्ने गर्छन् । जनै त्याग गर्दा पनि मन्त्रसहितले गर्नु पर्छ । त्याग गर्ने मन्त्रः एतावद्दिनपर्यन्तं ब्रह्मत्वं धारितं मया । जीर्णत्वात् त्वत् परित्यागो गच्छ सूत्र यथासुखम् ।। अर्थात् अहिलेसम्म मैले ब्रह्मसूत्रका रूपमा प्रयोग गरेँ, अब जीर्ण भएकाले सुखका साथ यथास्थानमा जाउ भनिन्छ ।

सबै जसोले कपासद्वारा बनाइएको जनै नै प्रयोग गर्ने गर्छन् । जनै प्रयोग गर्नुअघि विधि विधानले जनैलाई संस्कार गरिसकेको हुनु पर्छ । चूडाकर्म, व्रतबन्ध आदि कर्म भइसकेका लागि यस दिन जनैलाई नवीकरण गर्ने दिन सम्झी नयाँ मन्त्रिएको जनै लगाई पुरानो जनैलाई आफ्ना स्थानमा जाउ भनी प्रार्थना गरी फुकालिन्छ । प्रजापति देवता सँगसँगै यज्ञोपवीत ‘जनै’ को उदय भएकाले नयाँ जनै प्रयोग गर्दा पवित्र प्रजापति रूपका जनैले मेरो शरिरमा ब्रह्मतेज प्राप्ति र शरीरको रक्षाकबचका रूपमा रहन भगवदीय प्रार्थनासमेत गरी जनै लगाउने गरिन्छ । विधिपूर्वक मन्त्रणा गरिएको जनैले मानिसको शरीरमा तेज, पुष्टि, कीर्ति, बुद्धि, धर्म वृद्धिको साथै आयु र आरोग्यसमेत प्राप्त हुन्छ ।

शतं सम्वत्सरं जीवेत् भन्ने वैदिक चिन्तन मानिसको पूर्ण आयु १०० वर्षको र ९६ सूत, ९ गुणा र ३ डोरा र त्यसमा प्रयोग भएका ग्रन्थीहरूले मानिसको जीवन पूर्णायुको सङ्केत गर्छ । व्रतबन्धादि संस्कार गर्दा केही जीवन समय व्यतीत भइसकेको भए पनि झन्डै बाँकी ९६ वर्ष, ९६ सुत बाँकी जीवनको पूर्णता र प्रत्येक वर्षको उपाक्रमले यसको नवीकरण र शुद्धीकरणको सङ्केत गर्छ । शरीरमा भएका नौ द्वारबाटै अन्त्यमा प्राण बिसर्जन हुने हुँदा मुख्य नौ द्वारयुक्त शरीरको भरणपोषणको अनि रक्षाको सङ्केत नौ गुण जनैले नै दिन्छ । जनैमा भएका तीन डोराले जन्मँदै तीन ऋण बोकेर आउने र ती तीन ऋण देवऋण, पितृऋण, ऋषिऋण जीवनमा गरिने पुण्यकर्मले तिर्दै जाने पनि हो ।

ब्रह्माण्डभित्रका सम्पूर्ण लोकालोक अतल, वितल, सुतल, भूतल, रसातल, तलातल, पातालदेखि धर्तीमा रहेका सम्पूर्ण नदी, जलाशय, सागर, महासागर र अन्तरिक्षका भूत, पिशाच, प्रेतगणदेखि आकाशसम्मका ब्रह्मलोक, विष्णुलोक, शिवलोकसम्म र सृष्टिदेखि आजपर्यन्त रहेका सबै दोषबाट टाढा राखिदिन ईश्वरसँग प्रार्थना गरिन्छ । आफू सम्बन्धित तमाम वायुमण्डल र समस्त भूगोल, खगोल, आकाशीय पिण्डहरूलाई समेत स्मरण गरी तृप्त पार्ने प्रयास गरी आफूबाट आशा गरिएका समस्त जीव, जीवात्मालाई वर्षभरि नै तुष्टि, पुष्टि गर्न नसकेकोमा क्षमाप्रार्थी हुँदै प्रायश्चित गर्दै जलादि तर्पण दान गरी नयाँ जनै लगाउने क्रममा ब्रह्माण्डीय पिण्डको सम्पूर्ण सकारात्मक ऊर्जा आफ्नो शरीरमा संरक्षित होस् भन्ने कामना पनि गरिन्छ । स्नान र पूजाका लागि यस दिन छुट्टै आफैँले वा ब्राह्मणद्वारा महासङ्कल्प गरी गराई जानेर वा अन्जानमा यसअघि भएका सम्पूर्ण कर्मदोष पाप, प्रदूषण, कुकर्मलाई सकेसम्म स्मरण गरी सम्पूर्ण दोषादिबाट टाढा राख भनी परमेश्वरप्रति विशेष प्रार्थना गर्नुपर्ने वैदिक विधान छ ।

यस दिनको स्नान, जनै अभिमन्त्रणकार्य झन्डै चार घण्टाभन्दा बढी समय लाग्ने गर्छ । पितृका लागि जनै अपसव्य गरी विशेष तर्पण दिइन्छ भने देवताका लागि जनै सव्यबाट तर्पण गरिन्छ । वर्षभरि भएका कुकर्म, झुठो बोली, अभक्षण, खराब साक्षी, गम्यागम्य दोषदेखि आफ्ना सम्पूर्ण कुरीति, कुसंस्कार, कुप्रवृति र तिनका प्रभावबाट मुक्त राखी नवीनतम उत्साहसहितको नयाँ जीवनी आरम्भ गर्दै छु भन्ने प्रतिज्ञासमेत यस कर्मबाट गरिन्छ ।

रक्षाबन्धनको धागो भने देवी इन्द्रायणीमार्फत देवराज इन्द्रलाई बाँधिदिएको र यसो गर्दा गुरु वृहस्पतिले विशेष मन्त्र जप गरेको जसको प्रभावले दानव पराजित भई देवता सुरक्षित रहेको प्रसङ्ग र संस्मरणस्वरूप रक्षा धागो गुरुका हातबाट बाँध्ने परम्परा विकसित हुँदै आएको हो । यस्तो सुरक्षा कबचको तयारी श्रावणशुक्ल चतुदर्शीका दिन भएको र मन्त्रसहित इन्द्रका हातमा बाँधिएको समय पूर्णिमाको दिन परेकाले पनि यस पूर्णिमालाई लागि रक्षाकबचका रूपमा लिन थालिएको हो । हाम्रो देशमा यस दिन शिव मन्दिरमा विशेष पर्व मेला लाग्ने गर्छ । पशुपति, गोसाइँकुण्ड, कुम्भेश्वर आदि विशेष स्थानमा बिहानैदेखि स्नान गर्ने, यज्ञोपवित धारण गर्नेहरूको विशेष चहलपहल नै हुन्छ, ।

जनैमा रहेका नौ तन्तुमा ॐ कार, अग्नि, सोम, पितृ, प्रजापति, यम, विश्वेदेव आदिको आह्वाहन गरिन्छ भने जनै ग्रन्थीमा ॐ कै प्रतीक ब्रह्मा, विष्णु, शिव तीन शक्ति र गायत्रीसहित आह्वाहन गरी ब्रह्मसूत्र ब्रह्मतेजको रूपमा सब्य पारी धारण गरिन्छ । यसरी धारण गरिएको जनै आवश्यकता अनुसार पितृकार्यमा अपसव्य गरेर पितृ कार्य गरिन्छ भने देवकार्यलगायत अरू जुनसुकै बेलामा पनि जनै सव्य नै हुन्छ । सव्य भन्नाले देब्रे काँधमा अड्याएर दायाँतिर काखीमुनि फर्काएर लगाउनु हो भने दायाँ काँधमा अड्याएर देब्रे काखीमुनि पारिनु अपसव्य हो । शौच गर्दा पनि जनैलाई पवित्र राख्न कानमा अड्काउने गरिन्छ । आशौच–जन्म, मृत्युपछि ग्रहण –चन्द्र, सूर्य पछि, प्रत्येक चार महिनापछि नववर्ष, विशेष देवपितृ कार्यमा नयाँ जनै लगाउनुपर्ने हुन्छ ।

जनैपूर्णिमाका दिन खास गरी नौ थरीका गेडागुडी मिलाएर क्वाँटी खाने चलन छ । स्वास्थ्यवर्धक विशेष खाना मास, मुँग, बोडी, सिमी, गहत, राज्मा, चना, भटमास, केराउ आदि पोषक तत्व एकै ठाउँमा मिसाइ भिजाइ टुसा उमारी तयार पारेको क्वाँटीलाई विशेष मरमसलासहित खानाले शरीरमा तेज र पुष्टि बढ्ने हुँदा यस दिन विशेष क्वाँटी खाने चलन चलेको हो । कृषिप्रधान मुलुक हाम्रा लागि विशेष गरी वर्षायाममा खेतबारीमा रुझिभिजी किसानी कार्य गर्नुपर्ने हुँदा यस ऋतुभरि र नजिकै अर्काे शारदीय चिसो ऋतु सुरु हुने हुँदा स्वास्थ्य रक्षा गरी शारीरिक तन्दुरुस्तीका लागि तयार रहने सन्देश पनि मिल्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x