अनुशासन आयोगले पूर्वाग्रह राखेर पार्टीका नेताहरुमाथि कारबाही गरेको निष्कर्ष
काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर (डा. शेखर कोइराला) पक्षका नेताहरूले पार्टीको अनुशासन समितिले पूर्वाग्रह राखेर पार्टीका नेताहरुमाथि कारबाही गरेको निष्कर्ष निकालेको छ।
बिहीबार कोईरालाको सचिवालयमा भएको संस्थापनइतर समूहले अनुशासन समितिले पूर्वाग्रह राखेर पार्टीका नेताहरूमाथि कारबाही गरेको निष्कर्ष निकालेको हो ।
नेताहरुले विधानतः कारबाही सही नरहेको बताएका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस सांसद एवं संस्थापनइतर पक्षधर नेता राजेन्द्र बजगाईंले उजुरी परेको समयको ६ महिनाभित्रमा कारबाही गर्नुपर्ने भन्ने कांग्रेसको विधान रहेको भएपनि करिब तीन वर्षपछि कारबाही गरिनु गलत भएको बताए।
उनले गठबन्धनको उम्मेदवार हराउन लागेको भन्ने आधार बनाएर अहिले कारबाही गर्नु उचित नरहेको तर्क गरे। आसन्न निर्वाचन २०८४ र त्यो भन्दा अघि पनि मध्यावधिको रुपमा पनि हुनसक्ने स्थितिलाई हेरेर कारबाही गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।
कांग्रेस नेता अर्जुननरसिंह केसीले कारबाही पक्षपातपूर्ण र पूर्वाग्रही रहेको बताए। सिंगो पार्टीको हित र विधान विपरित गइ कारबाही गरिएको भन्दै यसलाई स्वकार्न नसकिने उनले बताए।
केसीले १५औँ महाधिवेशनलाई लक्षित गरेर विधि, विधान र प्रक्रिया विपरीत पूर्वाग्रहले कारबाही भएको आरोप लगाए।
अनुशासन समितिको कारबाहीमा परेका कांग्रेस खोटाङ जिल्ला सभापति विष्णुकुमार राईले पार्टीको विधान भन्दा बाहिर गएर कारबाही गरिएको भन्दै आपत्ति जनाए।
उनले पार्टीको विधान भन्दा बाहिर गएर पार्टीलाई क्षति पुर्यायो भने उसलाई अनुशासनको ट्रयाकमा ल्याउनुपर्छ भन्ने विधान भएपनि त्यो प्रावधानको उपयोग हुन नसकेको बताए।
आफूहरू विपीको विचारबाट प्रेरित भएर पार्टीमा लागेको राईको भनाइ छ। पार्टी विचार, सिद्धान्त र ट्रयाक भन्दा बाहिर गइरहेको समेत उनले बताए।
अर्का कांग्रेस नेता एवं अनुशासन समिति सदस्य सञ्जय गौतमले अनुशासन समितिमा २१ सय भन्दा बढी मुद्दाहरू रहेको बताए।
कतिपय केन्द्रीय सदस्यका पदाधिकारीका मुद्दाहरू पनि रहेको बताए। अनुशासन समितिका बहुमत सदस्यहरुले पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको र यो राम्रो नभएको उनले बताए।
कांग्रेस नेता गुरु घिमिरेले अनुशासन समितिले गरेको कारबाही पार्टी विधान र नियमावली विपरीत रहेको बताए। उनले यो अवैधानिक र पक्षपातपूर्ण रहेको बताए। पार्टीभित्रको अर्को पक्षलाई पाखा लगाउने उद्देश्यमा आधारित रहेर कारबाही गरिएको उनको आरोप छ।
कारबाहीबारे अनुशासन समितिका ५ जना सदस्यमध्ये दुई जनाले नोट अफ डिसेन्ट लेखेको पनि उनले जानकारी गराए।


WRITE COMMENTS FOR THIS ARTICLE