अर्याल र कांग्रेस खतिवडाबीच आरोप-प्रत्यारोप

काठमाडाैं – भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने माग राख्दै विरोध गरिरहेको रास्वपा र कांग्रेस सांसदबीच प्रतिनिधिसभा बैठकमा आरोप–प्रत्यारोप भएको छ।
आज बसेको प्रतिनिधिसभाकाे बैठकमा रास्वपा सांसद डिपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाबीच आरोप-प्रत्यारोप भएको हो। बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद डिपी अर्याललाई बोल्न समय दिएका थिए।
सांसद अर्यालले यसअघिको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले झुठा आरोप लगाएको भन्दै आपत्ति जनाए। सुमिरे टुर्स एण्ड ट्राभल्स आफ्नो कम्पनी भएको भन्दै अर्यालले एक जना मान्छे भिजिट भिसामा बाहिर गएर नफर्केको प्रमाण दिन चुनौती दिए।
उनले आफू देशमा नै केही गरेर खाने मान्छे भएको र चोरेर खाने मान्छे नभएको जिकिर गरे। आफूमाथि लगाइएको आरोप निराधार भएको भन्दै उहाँले संसद्को रेकर्डबाट खतिवडाको अभिव्यक्ति हटाउन माग गरे।
अर्यालले बोलेपछि कांग्रेस सांसद खतिवडाले आफूले कुनै सांसदको नाम किटान नगरेको भन्दै चोरको खुट्टा काट भन्दा झिकेजस्तो देखिएको बताए। कुनै पनि संस्थालाई छानविन गर्नुपर्छ भन्दा संसद थर्काउने काम भएको भन्दै उनले आपत्ति जनाए। खतिवडाले २०९ वटा म्यानपावरलाई अवैध रुपमा अनुमति दिनेमाथि पनि छानविन हुनुपर्ने उल्लेख गरे।
उनले डिपी अर्यालको शव्द रेकर्डबाट हटाउन माग गरे। दुई सांसदले बोलेपछि सभामुख घिमिरेले जिम्मेवार ढंगले सदनमा बोल्न आग्रह गरे। सदनमा गैर संसदीय भाषा प्रयोग गर्ने र एक अर्कामाथि नामै किटान गरेर बोल्ने कुरा उचित नभएको उनको भनाइ छ। त्यसपछि रास्वपा र राप्रपाका सांसदहरुले सदन बहिष्कार गरेका थिए।
WRITE COMMENTS FOR THIS ARTICLE