बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपाली कांग्रेस र माओवादी केन्द्र बिचको छलफल निष्कर्ष विहीन

काठमाडौं – प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्यका लागि भएकाे नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का नेताहरूबिचको छलफल विना निष्कर्ष सकिएको छ । नयाँ बानेश्वरस्थित संसद्‌ भवनमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्र कार्की तथा माओवादीका तर्फबाट  उपमहासचिवद्वय वर्षमान पुन र  शक्तिबहादुर बस्नेत तथा प्रमुख सचेतक हितराज पाण्डे छलफल भएको थियो ।

छलफलमा आफूहरूको अडानमा कुनै सहमति नभएको माओवादी प्रमुख सचेतक पाण्डेले जानकारी दिए । ‘दुई दलका नेताहरूबिचको बैठकमा कुनै सहमति भएन । भिजिट भिसामा सेटिङको विषयमा छानबिन समिति बनाउने हाम्रो माग यथावत् छ । उहाँहरू समिति बनाउन सहमत भइसक्नु भएको छैन,’ प्रमुख सचेतक पाण्डेले रातोपाटीसँग भने ।

कांग्रेस नेता कार्कीले सहमति जुटिनसकेको तर बैठक सकारात्मक रहेको बताए । ‘सहमति भइसकेको छैन । तर छलफल सकारात्मक भएको छ । हामी अझै छलफलमै छौँ,’ कार्कीले रातोपाटीसँग भने । कार्कीले फेरि प्रमुख सचेतकहरूबिच संसद्को गतिरोध हटाउने विषयमा कुराकानी भइरहेको जानकारी दिए ।

संसद्को गतिरोध हटाउने विषयमा शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबिच छलफल भएको थियो । छलफलमा पनि दुई पक्ष आ–आफ्ना अडानमा यथावत् रहेपछि सहमति हुन सकेको थिएन ।
त्यसअघि शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसका नेताहरू खड्का, कार्की, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग गरेको छलफल पनि विना निष्कर्ष सकिएको थियो ।  भिजिट भिसा प्रकरणमा माओवादी लगायत प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै आएका छन् ।
सत्तापक्षले मने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले समानान्तर रूपमा अर्को आयोग वा समिति बनाउन नहुने भन्दै प्रतिपक्षीहरूको माग इन्कार गर्दै आएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x