शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

बालेनको याेजना : ०८४ मा महानगर कब्जा, ०८९ मा प्रधानमन्त्रीको उम्मेदवार

काठमाडौं :-  शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई सामाजिक सञ्जाल फेसबुकमार्फत एक झट्का दिएपछि काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह पछिल्लो १२ घन्टा यता चर्चामा छन् ।

गणेशमान पुत्री एवं सिंहकी दिदी रिता सिंह वैद्य बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको पाइएपछि केपी ओली नेतृत्व सरकारले वैद्यलाई मुद्दा नचलाउने निर्णय गरको थियो । सोही सन्दर्भ जोड्दै आइतबार बालेनले फेसबुकमा लेखे, ‘माननीय शहरी विकासमन्त्री प्रकाशमान सिंहज्यू, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैँ कुरामै रह्यो । कहिले गर्ने हो? मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र र देशचाहिँ नहराउनु होला र यत्रो गणेशमान सिंह, पी.एल. सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला ।’

संघ सरकारले काम गर्न अवरोध गरेको भन्दै बालेन बेलाबेला संघ सरकारका प्रतिनिधिविरूद्ध आक्रोश व्यक्त गर्छन् । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला ‘सिंहदरबार जलाउँछु’ भन्ने आशयको अभिव्यक्ति दिएका बालेनले कांग्रेस–एमाले गठबन्धन भएपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसंगै बसेको फोटो शेयर गर्दै फेसबुकमा लेखेका थिए, ‘यो समय गिरीबन्धु चियाको हो ।’

प्रधानमन्त्री ओलीविरूद्ध पनि पटक पटक कटाक्ष गरेका बालेन अहिले तीन ठूला दलकै लागि टाउको दुखाइको विषय बनेका छन् । सबै पार्टीले मिसन ०८४ भन्दै अभियान सञ्चालन गरिहरेका रहँदा बालेन अहिलेसम्म मौन छन् तर, उच्च स्रोतका अनुसार ०८४ का लागि बालेनले भव्य तयारी गरेका छन् ।

०८४ मा महानगर कब्जा

बालेनसंग एउटा प्राविधिक टिम छ, जसले विकास निर्माणका खाका मात्रै कोर्दैन, अगाडि कसरी बढ्ने भन्ने पनि योजना बनाउँछ । ०८४ का विषयमा मौनता साँधेका बालेन फेरि पनि काठमाडौंमा मेयरमै चुनाव लड्नेछन् ।

बालेनकाे निकट स्रोतका अनुसार बालेनसंगै काठमाडौंका सबै वडा, ललितपुर र अन्य जिल्लाका पनि शहरी क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठ्नेछन् । निकट स्रोत भन्छ, ‘बालेनको पहिलो प्राथमिकता काठमाडौं नै हुनेछ । काठमाडौंको ३२ वटै वडामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जित्ने वातावरण बन्छ ।’

चुनावभन्दा केही अगाडि बालेनले श्वेतपत्र जारी गर्ने योजना छ । काठमाडौंमा कति काम भयो, कति भएन ? नभएको ठाउँमा किन, कसरी भएन जनताले बुझ्ने भाषामा भन्ने योजनामा छन् ।

‘काठमाडौं महानगरपालिकामा काम नहुनुमा बालेनभन्दा पनि दलीय प्रतिनिधिका कारण हो भन्ने कुरा हामी जनताले बुझ्ने गरी भन्ने छौं,’ निकट स्रोतले भन्यो ।

सकेसम्म सबै, नभए पनि बहुमत वडामा स्वतन्त्रले जितेपछि नमुना काम गर्ने दाबी निकट स्रोतले गर्‍याे । ‘काठमाडौंमा काम गर्नका लागि स्रोतको अभाव छैन, मात्रै वातावरणको हो । स्वतन्त्रको बहुमत आएपछि काम द्रुत गतिमा हुन्छ,’ स्रोतले भन्यो ।

अर्को पाँच वर्ष काठमाडौं महानगरपालिकामा नमुना काम गरेपछि ०८९ को चुनावअघि बालेनले पार्टी गठन गर्ने छन् र चुनावअघि नै पार्टीले ‘बालेन शाह भावी प्रधानमन्त्री’ भनेर घोषणा गर्नेछ । स्रोत भन्छ, ‘हामी पहिलो पटक नै बहुमत आउने तयारी गरेर चुनावमा जानेछौं ।’

०८४ मा पनि हुन सक्छ पार्टी गठन

पुराना दलहरुप्रतिको आक्रोश, राजवादीको आन्दोलनलगायतका विषयलाई अध्ययन गरिरहेको उक्त टिमले ०८४ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उपस्थिति उत्साहजनक भएमा स्थानीय चुनाव लगत्तै पार्टी गठन गर्नेछ । ‘प्रत्यक्ष र समानुपातिक गरेर कम्तिमा ६० सिट जित्ने पक्का भयो भने हामी ८४ को चुनावअघि नै पनि पार्टी घोषणा गर्न सक्छौं,’ स्रोतले भन्यो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x