शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

मण्डनदेउपुरको विभिन्न भागको भ्रमण गर्दै स्रस्टा पदयात्राको ९० औँ शृङ्खला सम्पन्न

-माधव घिमिरे ‘अटल’

‘’ देउपुर र मण्डन कृषि र पर्यटन’’ भन्ने नाराका साथ मण्डनदेउपुर नगरपालिकाको निमन्त्रणमा स्रष्टा पदयात्रा टोलीको ९०औं शृङ्खला त्यस क्षेत्रको विभिन्न भागको भ्रमण गरी सम्पन्न गरिएको छ । शुक्रवार र शनिवार गरी २ दिनसम्म गरिएको पदयात्राका क्रममा त्यस क्षेत्रको कला, साहित्य, संस्कृति,प्रकृति र जनजीवनको अध्ययन अनुसन्धान गरी बिस्तृत प्रतिवेदन तैयार पार्ने समेत टोलीले जनाएको छ ।

उक्त पदयात्रामा सामेल हुन उपत्यकाका विभिन्न स्थानबाट चावहिल कोटेश्वर तथा जडिबुटी क्षेत्रमा भेला भई १९ जना लेखक, साहित्यकार,तथा पत्रकारहरुको टोली माघ ४ गते त्यसतर्फ प्रस्थान गरेको थियो । मण्डन देउपुर नगरपालिकाका वडा नम्बर ३ खस्रेका वडाध्यक्ष तथा नगर प्रवक्ता पुरुषोत्तम बजगाईंले सो समारोहमा पदयात्रा टोलीलाई स्वागत गर्दै स्रष्टाहरुको नजरबाट समग्र नगरको चित्रण बाहिर आउनेमा आशावादी रहेको बताएका छन् । त्यसैक्रममा होमस्टे व्यवस्थापन समितिका अध्यक्ष विकास गुरुङ तथा देवराज गुरुङद्वारा टोलीलाई खादा माला लगाएर सम्मान गर्दै न्यानो आतिथ्यता सहित भोजनको प्रवन्ध मिलाएका थिए । उक्त अवसरमा आपसमा परिचयात्मक कार्यक्रम गरी पदयात्रा टोलीले दुर्गा भवानी भट्टको सम्योजनमा पहिलो रचना वाचन कार्यक्रम सञ्चालन गरेको थियो । टोलीमा सहभागी शशि थापा पण्डितले ‘साँहिली रोकायाको सपना र भरिएको डोको’ शीर्षकीय कविता वाचन गर्दै साहित्यिक कार्यक्रमको घुम्टो उघारेकी थिइन् । मुक्तक सहित स्रष्टा एन्जेल नीलुले कविता ‘रुँदै छिन आमा’ भन्दै आफ्ना रचना सुनाइन् । शार्दूलविक्रिडित छन्दमा नेपालको महिमागान गर्दै कवि शान्ति सापकोटाद्वारा ‘नेपाल सर्वोपरि’ सुनाउँदा माहौलमा रौनकता आएको थियो । सुन्यतामा विलिन हुँदै गएको मानवताका विरुद्धमा आसाको किरण जगाउनुपर्ने दायित्वबोध गराउँदै कवि रुबि सत्यालले ‘सुन्य युग’ शीर्षकीय रचना वाचन गरेकी थिइन । साहित्यिक पत्रकार तथा प्राध्यापक नवराज रिजालले विकास निर्माणमा नजागेको भोकलाई सार्थक परिणाम आउने गरी भोक शीर्षकको कविता वाचन गरेका थिए भने संयोजक शीतल गिरीले विकृति विरुद्धमा प्रहार गरिएको ‘कविता’ शीर्षकको रचना वाचन गरेका थिए । यसैगरि जयराम बिडारीले चार मुक्तक सुनाएका थिए ।

दोस्रो चरणको कार्यक्रम वडा नम्बर ४ स्थित महाकाली माविमा आयोजित कार्यक्रममा पदयात्रा टोलीका महासचिव तथा साहित्यकार गङ्गाप्रसाद भेट्वालद्वारा सहजीकरण गरिएको कार्यक्रममा विद्यालयका विद्यार्थी भाई बहिनीहरुको समेत संलग्नतामा संयुक्त रुपमा कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त अवसरमा सोही विद्यालयकी कक्षा ९ मा अध्ययनरत छात्रा मानवी न्यौपाने द्वारा ‘साथी तिमी हौ मेरो सहारा’ शीर्षकीय कविता वाचन गरेकी थिइन् । यसैगरि कक्षा १२ मा अध्ययनरत नमूना न्यौपानेले चेतनामूलक कविता ‘महिनावारी’ शीर्षकीय कविता सुनाएर सवैलाइई मन्त्रमुग्ध पारेकी थिइन् भने समसामयिक परिस्थितिलाई प्रतिनिधित्व गर्ने गरी कक्षा १२ की छात्रा मनिषा गौतमले ‘हाम्रो गाउँ’ कविता सुनाइन् । त्यसैक्रममा बालकवि शुष्मा परियारले रुँदै गरेकी नेपाल आमामा समर्पित कविता सुनाइन् भने कक्षा ९ की छात्रा सामाजिक रुपमा एक्लो हुँदै गएको समग्र नेपालको परिस्थितिलाई उजागर गर्दै ‘परदेशीएका दाजुभाई ‘र सञ्जिता रम्तेलले ‘सेवक नेपाल मेरो परिवार’ तथा रोशनी बोहराले देउडा गाएर माहौलमा रौनकता थपेकी थिइन् । त्यसैक्रममा पदयात्री तथा छन्दकवि परशुराम पराशरले मालिनी छन्दमा आधारित ‘मेरो देश शीर्षकीय कविता तथा अनिता कोइरालाले ‘एयरफोन’ शीर्षकीय लघुकथा सुनाइन् । त्यसैक्रममा भविष्यका कर्णधार विद्यार्थीहरुलाई कथा,कविता तथा अन्य साहित्यिक गतिविधिलाई सक्रिय पार्न प्रधानाध्यापक मार्फत आफूलाई सम्पर्क गर्न सुझाउँदै साहित्यकार शान्ति सापकोटाद्वारा विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो । साहित्यकार सारदा पराजुलीले ‘मोबाइल’शीर्षकीय बालकविता तथा डा. बालचन्द्र मिश्रद्वारा गीत र ध्रुवराज थापाले ‘पत्रु खाना’ लघुकथा सुनाएका थिए । सोही अवसरमा वडा नम्बर ४ की वडा सदस्य सरस्वती विश्वकर्माद्वारा स्थलगत रुपमा अध्ययन अनुसन्धान गरी तत् क्षेत्रको वृहद प्रतिवेदन निर्माण गर्ने उद्देश्यले आफ्नो स्थानीय निकायमा पदार्पण गर्नु भएका स्रष्टा पदयात्रीहरु लाई स्वागत गर्न पाउनु समग्र वडा लगायत नगरपालिकाकै लागि पनि गर्वको विषय रहेको बताउँदै यस्ता सिर्जनशील कर्मले मण्डन देउपुर क्षेत्रको दर्पण प्रस्तुत हुने विचार व्यक्त गरिन् । सो समारोहमा पदयात्रा टोलीमा सामेल भएका नवप्रज्ञापन साहित्यिक मासिक पत्रिकाका सम्पादक नवराज रिजालद्वारा महाकाली माविको पुस्तकालयका लागि प्रधानाध्यापक पुष्पराम सापकोटालाई नवप्रज्ञापन , सम्यक सन्देशका सम्पादक दीपक भेटुवाल ‘दीपसागर’ द्वारा सम्यक् संदेश,अभिनव साहित्य समाजका सचिव परशुराम पराशरद्वारा ‘अभिनव प्रवाह’ स्रष्टा पदयात्रा नेपालकी सचिव सारदा पराजुलीद्वारा बालसाहित्यिक पत्रिका ‘मेरी पुतली’ तथा साहित्यकार ध्रुवबहादुर थापाद्वारा ‘सपनाको पहाड़’ प्रदान गरिएको थियो । उक्त अवसरमा स्थानीय समाजसेवी ऋषिराम सापकोटाद्वारा चैनपुरका विषयमा प्रकाश पारेका थिए । विद्यालयका प्रधानाध्यापक पुष्पराम सापकोटाको सभापतित्वमा सम्पन्न सो समारोहमा सापकोटाले अग्रज साहित्यकारहरुको प्रशिक्षण सहितको रचना वाचनले विद्यार्थीहरुका सिर्जनशीलतामा सकारात्मक सन्देश प्रवाह भएको विश्वास व्यक्त गर्दै साहित्यको माध्यमबाट मण्डन देउपुरको भाषा, कला, साहित्यको प्रचार प्रसारमा ठूलो योगदान पुग्ने विचार व्यक्त गरेका थिए ।

नगर प्रमुख टोकबहादुर तामाङद्वारा पदयात्रा टोलीको
कार्यक्रम सफलताको शुभेच्छा प्रकट गर्दै पदायात्रीहरुलाई हौसला प्रदान गरिएको थियो भने उपप्रमुख विष्णुमणी नेपाल दोश्रो दिन बिहान सखारै पदयात्री टोली सामू पुगेर पदयात्रा टोली सँग-सँगै पदयात्रा गर्ने उत्कट चाहना हुँदा हुँदै पनि वैदेशिक भ्रमणको चटारोमा परेर साथ दिन नपाएकोमा दु:ख व्यक्त गर्दै यात्रा सफलताको अभिलाषा राख्दै शुभकामना दिएका थिए ।

स्रष्टा पदयात्रा टोलीले दोश्रो दिन मण्डन देउपुरको वडा नम्बर ६ कोदारी स्थित दनुवार बस्तीको स्थलगत भ्रमण गर्दै दनुवारबस्तिका बारेमा स्थानीयबासीहरुसँग अन्तरकृया गरेको थियो । यसैगरी पदयात्रा टोलीले गैह्रीबिसौना स्थित ब्रम्हायणी मावि पुगी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत शिक्षकहरुसँग अन्तरकृया गर्दै आवश्यक सूचनाहरु लिँदै डोटेलगाउँ, शिवालय मन्दिर तथा ऐतिहासिक बारुदघर लगायत कोतघरको अवलोकन गरेको थियो । ब्रम्हायणी माविका प्रधानाध्यापक शिवराम सापकोटा तथा शिक्षक जयराम डोटेलको अगुवाईमा स्रष्टा पदयात्रा टोलीले ब्रम्हायणी मावि हुँदै मण्डन देउपुरको वडा नम्बर ६ र ५ का विभिन्न भूभागको भ्रमण गरेको थियो । त्यसैगरी टोलीले वडा नम्बर ५ मा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ब्रम्हायणी माईको दर्शन गर्ने क्रममा जयराम डोटेलद्वारा मन्दिरको धार्मिक महत्वका बारेमा प्रकाश पारिएको थियो । पश्चात् पदयात्रा टोली ठाडाकोलस्थित तपेश्वर मावि पुगि विद्यालयका प्रधानाध्यापक लगायत वडाध्यक्ष हर्क घिसिङ तथा स्थानीय प्रबुद्ध वर्गहरुसँग अन्तरकृया गर्दै रचना वाचन गरेको थियो ।

उक्त कार्यक्रममा पदयात्रा टोलीको तर्फबाट कवि शोभा शरभद्वारा ‘माटो’ कविता वाचन गरिएको थियो भने महाकाली माविका प्रधानाध्यापक पुष्पराम सापकोटाद्वारा चोटिलो मुक्तक प्रस्तुत गरिएको थियो । कार्यक्रममा तपेश्वर माविका प्रधानाध्यापक सुरेन्द्रप्रसाद पौडेलले स्रष्टा पदयात्रा टोलीले आफ्नो ठाउँको भ्रमण गरी ज्ञानको विनिमय गरिदिएकोमा आभार व्यक्त गर्दै कतिपय जातजातीका लोप हुनलागेका रीति रिवाज तथा संस्कृतिका बारेमा गहन अध्ययन गरी पुस्तकको रुपमा प्रकाशित गरिने कृतिले मण्डन देउपुरको बिम्बको रुपमा प्राप्त हुने विश्वास व्यक्त गरे । यसैगरि वडाध्यक्ष हर्क घिसिङले संघर्षमय जीवनको उहापोहका बारेमा प्रकाश पार्दै पदयात्रा टोलीको सामिप्यताले आफूले जनप्रतिनिधिको हैसियतमा थुप्रै कार्यहरु गर्नुपर्ने दायित्वबोध भएको बताए । यसैगरी ब्रम्हायणी माविका प्रधानाध्यापक शिवराम सापकोटाले पदयात्रा टोलीमा जोडिन पाउँदा अत्यन्त हर्षविभोर रहेको बताउँदै समाजमा हराउँदै गएको सांस्कृतिक विचलनलाई पदयात्रा टोलीको सार्थक प्रयासले पुनर्जीवित र र तरोताज तुल्याउने विश्वास व्यक्त गरे । टोलीले घुमाउने स्थित सिद्धि विनायकको दर्शन गर्दै नेपाली चलचित्रका नायक पुरण जोशीको पुस्तैनी घरको अवलोकन गर्दै श्रीस्वस्थानीमा वर्णित सतिदेवीको फियो पतन भएको मानिने फड्केश्वर महादेव मन्दिर दर्शन गर्दै उपलब्धिमूलक भ्रमण गरेको थियो । कार्यक्रमको समापन पश्चात् पदयात्रा टोलीले वडाध्यक्ष हर्क घिसिङको पारिवारिक विवाह कार्यक्रममा सामेल भई तामाङ समुदायको सामाजिक र सांस्कृतिक जनजीवनलाई नजिकबाट बुझ्ने अवसरको रुपमा समेत सदुपयोग गरेको थियो ।

स्रष्टा पदयात्रा नेपालको २६ जना पदयात्री सम्मिलित भएको ८९ औं पदयात्रा पनि सोही नगरपालिकाको मण्डन क्षेत्रमा गत पुषको …गते सम्पन्न गरिएको थियो भने ९०औं श्रृङ्खलामा शीतल गिरी,डा. बालचन्द्र मिश्र,डा.शशि थापा पण्डित, परशुराम पराशर,सारदा पराजुली, ,एन्जेल निलु गङ्गाप्रसाद भेटवाल,विष्णुप्रसाद शर्मा,शान्ति सापकोटा,नवराज रिजाल दीपक भेटुवाल दीपसागर,शोभा शरभ,हरिबोल काफ्ले, दुर्गा भवानी भट्ट, अनिता कोइराला, शुभाष ढुङ्गेल, ध्रुवराज थापा, र रुबि सत्याल सामेल भएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x