लुम्बिनी प्रदेशमा ललितकलाको प्रचुर सम्भावना छ-मुख्यमन्त्री चेतनारायण आचार्य
घोराही, – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र ललितकलाको प्रचुर सम्भावना रहेकाले त्यसको अध्ययन, संरक्षण र विकासका लागि साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्यसचिव देवेन्द्र थुम्केलीलगायतका प्रतिनिधिसँग मङ्गलबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले प्रदेशभित्रका कला, संस्कृति, साहित्य, सिप, ज्ञानविज्ञान तथा सम्पदाको संरक्षण गर्न साझेदारी गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले भन्नुभयो, “प्रदेशको विकासका लागि पर्यटनसँगै कला, साहित्य, संस्कृति, सम्पदाको संरक्षण र विकासमा हामीले ध्यान दिन्छौँ । साझेदारी गरेर अघि बढौँ ।”
मुख्यमन्त्री आचार्यले प्रदेश प्रज्ञा–प्रतिष्ठान गठनका लागि विधेयक अगाडि बढाउने तयारी भइरहेको बताउनुभयो । प्रदेश प्रज्ञा–प्रतिष्ठान गठनका लागि विधेयक अगाडि बढाउने तयारीमा रहेको भन्दै मुख्यमन्त्री आचार्यले भन्नुभयो, “प्रदेशभित्रको कला, साहित्य, संस्कृति, सम्पदा संरक्षणका लागि सरकार प्रतिबद्ध छ ।”
ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदेशमा ललितकलाको अध्ययन अनुसन्धानको विषयलाई प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो । कलाकृतिको सिर्जना तथा तिनको प्रदर्शन गर्नुका साथै कलाका विविध विधामा अध्ययन, अनुसन्धान र अन्वेषण गर्न जरुरी रहेको उहाँले बताउनुभएको थियो । भेटमा ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले दाङको गढवालाई ‘सेरामिक्स हब’ बनाउने गरी कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो । उहाँले देशकै सेरामिक्स हब गढवा बन्ने, यहाँको माटो र माटोबाट बनेका भाँडा विश्व बजारमा पु¥याउन सके वार्षिक १० देखि १५ करोड रुपियाँको कारोबार गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएको बताउनुभएको थियो ।
WRITE COMMENTS FOR THIS ARTICLE