खेलबाट राष्ट्रलाई अघि बढाउने गरी हामी अघि बढ्नुपर्छ–सभामुख देवराज घिमिरे
काठमाडौँ,–सभामुख देवराज घिमिरेले खेलबाट राष्ट्रको विकास गर्ने गरी अघि बढ्नुपर्ने बताएका छन् । शनिबार ललितपुरमा आयोजित झापा निर्वाचन क्षेत्र नम्बर एकले आयोजना गरेको झापा १ काठमाडौँ कप फुटसल प्रतियोगिताको उद्घाटन गर्दै घिमिरेले खेलको क्षेत्रमा नेपाल क्रमशः अघि बढ्दै आइरहेको बताएका हुन् ।
उनले खेललाई राज्यले दिनुपर्ने जति महत्त्व दिन नसकेको गुनासो समेत गरे । खेलकुदमा हरेक ठाउँबाट सक्रियता लिने हो भने खेलकुद क्षेत्रमा धेरै अवसरहरू रहेको उनको भनाई थियो ।
उनले भने, ‘खेलको क्षेत्रमा नेपाल क्रमशः अघि बढ्दै आइरहेको छ । खेललाई राज्यले जति महत्त्व दिनुपर्दथ्यो । सायद पुगिरहेको छैन । तर राज्य भनेको हामी सबै मिलेरै हुन्छ । आज खास गरी झापा क्षेत्र नम्बर १ का माननीय विश्वप्रकाश शर्मा लगायतको सक्रियतामा आज यो कार्यक्रम भइरहेको छ । हाम्रो खेलकुदमा हरेक ठाउँबाट सक्रियता लियौँ भने अवसर प्राप्त गर्छ, हौसला प्रदान गर्छ र राष्ट्रमा आवश्यक पर्ने नीतिदेखि व्यवहारहरूलाई सुधार गर्दै खेलकुदको क्षेत्रमा गर्नुपर्ने प्रगति गर्न सकिन्छ । नेपाल केही समय यता खेलकुदमा राम्रो प्रगति गर्दै आएको छ । त्यसमा पनि क्रिकेटमा विश्व स्तरमा हामी प्रवेश गरिरहेका छौँ । महिलाहरूको फुटबलमा साफ स्तरमा फाइनल पुगेका थियौँ । हाम्रो खेलकुदमा भविष्य सुन्दर छ, त्यसको लागि सबैले ध्यान दिनुपर्छ । खेलबाट राष्ट्रलाई अघि बढाउने गरी हामी अघि बढ्नुपर्छ ।’
त्यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खेलकुदले राष्ट्रलाई एक बनाउने बताए । खेलकुदले राष्ट्रलाई एकढिक्का बनाउन मद्दत गर्ने उनको जिकिर थियो ।
उनले भने, ‘राजनीति गर्ने मान्छेले राजनीति मात्रै प्रथम र अन्तिम सोच्नु हुँदैन । राजनीति बाहेक जीवनका अन्य धेरै पाटाहरू छन् । राजनीतिले फरक फरक ठाउँ उभ्याएका मान्छेहरूलाई पनि कला, साहित्य, संगीत, खेलकुदले एउटा ठाउँमा उभ्याउँछ । सबैलाई जोड्ने चिज भनेको साहित्य, संगीत, कला हो । यसको मजा अर्कै छ । फुटबलमा जसरी नियममा बाँधिन्छौँ, त्यसरी नै राजनीतिमा पनि सिक्नुपर्छ । स्पोर्ट्सबाट अनुशासन सिक्नुपर्छ ।’
WRITE COMMENTS FOR THIS ARTICLE