सत्ता परिवर्तन संगै सुस्तायाे बाँसवारी जग्गा हिनामिना प्रकरण

काठमाण्डाैं– सत्ता फेरिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना मुद्दाको अनुसन्धान रोकेको छ । निकटस्थ स्रोतका अनुसार गृहमन्त्रीमा नेपाली कांग्रेसका नेता रमेश लेखक आएपछि सिआईबीले अघोषित रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उद्योगपति विनोद चौधरीको समेत संलग्नता रहेको सो मुद्दाको अनुसन्धान रोकेको हो ।
जुत्ता कारखानाको जग्गा गैरकानुनी रूपमा चाँदबाग स्कुलको नाममा लगिएको प्रकरणमा सिआइ)बीले माघबाटै अनुसन्धान थालेको थियो । सिआईबीलेसिजी चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरसहित मुख्य लगानीकर्ता अरुण चौधरी तथा जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । उनीहरू हाजिरी जमानीमा छुटेका छन् । सिआइबीले उद्योगपति तथा सांसद चौधरीसँग पनि यो प्रकरणमा बयान लिएको थियो ।
छाला जुत्ता कम्पनीलाई सहयोग गर्ने नाममा च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरी ६ रोपनी जग्गा सस्तोमा खरिद गरेको थियो । पछि चार रोपनी जग्गा सेयर दिएर फुटवेयरले लिएर १० रोपनी जग्गा हत्याएपछि कम्पनी बन्द गरिएको थियो ।
जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा भए हाइप्रोफाइल जोडिएकाले मुद्दाबारे निर्णय गर्न विविध कारणले नसकिएको सिआइबीका एक अधिकृतले जानकारी दिए । जग्गा मालपोत कार्यालयले सरकारको नाममा ल्याइसके पनि चाँदबाग विद्यालय त्यही जग्गामै सञ्चालनमा छ ।
सीआईबीले उद्योगपति चौधरीमाथि छानबिन भइरहेको विषयमा सभामुख देवराज घिमिरेलाई जानकारी गराएर जिल्ला सकारी वकिल कार्यालय काठमाडौंका अधिकारीको रोहवरमा बयान लिएको थियो । त्यसपछि चौधरी यो मुद्दा मिलाउन भारत, श्रीलंकादेखि सिंगापुरसम्म पनि पुगेका थिए ।
कपडाका जुत्ता उत्पादन गर्ने उद्देश्यले २०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरले तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो । फुटवेयरमा बाँसबारी छाला जुत्ता कम्पनीसमेत सेयरधनी थियो । फुटवेयरलाई जग्गा लिँदा मिलेमतो गरेर तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको दाबी सिआईबीका अधिकारीहरूले अनुसन्धान पश्चात गरिरहेका छन् ।
८३ रोपनी क्षेत्रफलमा २०२२ साउनमा चिनियाँ सरकारले स्थापना गरिदिएको जुत्ता कारखाना कम्पनी निरन्तर घाटामा गएको देखाएर सञ्चालक समितिले जग्गा बिक्री गर्ने निर्णय गरेको थियो । प्रतिरोपनी साढे २ लाखका दरले १० रोपनी (दुई पटक गरी) जग्गा २५ लाखमा च्याम्पियन फुटवेयरलाई बेचेको थियो । च्याम्पियनले २५ लाख रुपैयाँ बराबर हुने गरी कम्पनीको २५ सय कित्ता सेयर बाँसबारीलाई दिएको थियो ।
बाँकी ७५ प्रतिशत सेयर चौधरी परिवारका विनोद, अरुण, वसन्त, बाबु लुनकरणदास, दिदी गंगादेवी र भिनाजु महेशकुमार अग्रवालका नाममा कायम भएको सीआईबीको अनुसन्धानबाट पत्ता लगाएको छ । च्याम्पियन फुटवेयरमा २५ प्रतिशत सेयरका लागि बाँसबारीको जग्गाको मूल्यांकनबाट २५ लाख लिइएकामा ७५ प्रतिशत सेयरबापत चौधरी परिवारले भने आठ लाख मात्र भुक्तान गरेको देखिएको सीआईबीले अनुसन्धानबाट पत्ता लगाएको छ । बाँसबारीको २५ प्रतिशत सेयर लिएपछि च्याम्पियन फुटवेयर लिमिटेडलाई प्रालि बनाइएको थियो ।
च्याम्पियन फुटवेयर प्रालि अहिले ‘सीजी चाँदबाग रेसिडेन्सी प्रालि’ बनेको थियो । यो जग्गामा अहिले चाँदबाग स्कुल चलाइएको छ ।
अहिले कांग्रेस नेता लेखक गृहमन्त्री भएपछि चौधरीले अनेकन उपाय लगाएर अनुसन्धान रोक्न र मुद्दाबारे निर्णय नगर्न सिआईबीलाई दबाब दिएका निकटस्थ स्रोतहरू बताउँछन् । निकटस्थ स्रोतले सिआईबीका प्रमुख रहेका प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीलाई सरुवा गर्ने दबाब पनि चौधरीले गृहमन्त्री लेखकलाई दिएका थिए । अहिले सिआईबीचमा प्रमुख भएर दीपक थापा पुगेका छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE