सोमवार, मंसिर १, २०८३
Monday, November 16, 2026

आज एनपीएलका लिग चरणका अन्तिम दुई खेल हुँदै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणका अन्तिम दुई खेल आज हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चितवन राइनोजले कर्णाली याक्ससँग तथा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्नेछन्।

दिउँसो १२ः३0 बजे सुरु हुने पहिलो खेलमा चितवन र कर्णाली आमनेसामने हुनेछन्। चितवनले यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ भने कर्णाली लिग चरणबाटै बाहिरिसकेको छ।

अंकतालिकामा सात अंकसहित चौथो स्थानमा रहेको चितवनका लागि यो खेल आफ्नो अन्तिम स्थान सुधार गर्ने अवसर हुनेछ। जित निकाले चितवनले नौ अंक पुर्‍याउनेछ। तर टोलीको अन्तिम स्थान काठमाडौं गोर्खाजले पोखराविरुद्ध निकाल्ने नतिजामा पनि निर्भर रहनेछ।

चार अंक जोडेको कर्णाली भने प्लेअफ दौडबाट बाहिरिइसकेको छ। त्यसैले उसका लागि यो खेल प्रतियोगिताको सुखद अन्त्य गर्ने अवसर हुनेछ।

आजै अपराह्न ५ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज भिड्नेछन्। प्लेअफमा स्थान पक्का गरिसकेको काठमाडौंको नजर भने अंकतालिकाको दोस्रो स्थानमा छ।

आठ अंकसहित तेस्रो स्थानमा रहेको काठमाडौंले पोखरालाई पराजित गरे १0 अंक पुर्‍याउनेछ। यस्तो अवस्थामा नेट रनरेटका आधारमा सुदूरपश्चिम रोयल्सलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिने सम्भावना छ। दोस्रो स्थानमा पुग्न सके काठमाडौंले क्वालिफायर–१ मा शीर्ष स्थानको लुम्बिनी लायन्ससँग खेल्नेछ।

दोस्रो स्थानमा पुग्न नसके काठमाडौंले तेस्रो वा चौथो स्थानमा रहेर एलिमिनेटर खेल्नुपर्नेछ। त्यसैले पोखराविरुद्धको खेल काठमाडौंका लागि निकै महत्त्वपूर्ण हुनेछ।

अर्कोतर्फ पोखरा एभेन्जर्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ। दुई अंकसहित अंकतालिकाको पुछारमा रहेको पोखराले लिग चरणको अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिता टुङ्ग्याउने लक्ष्य राख्नेछ।

शनिवार लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई चार विकेटले पराजित गरेपछि प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लागेको हो। लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम रोयल्स १0 अंकसहित दोस्रो स्थानमा छ। काठमाडौं आठ अंकसहित तेस्रो र चितवन सात अंकसहित चौथो स्थानमा छन्।

यससँगै लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान बनाइसकेका छन्। विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स भने लिग चरणबाटै बाहिरिएका छन्।

आजका दुई खेलपछि प्लेअफमा पुग्ने टोलीको अन्तिम स्थानक्रम र क्वालिफायर तथा एलिमिनेटर खेल्ने टोलीको समीकरण स्पष्ट हुनेछ। एनपीएलको प्लेअफ खेल आगामी मंगलबारदेखि सुरु हुनेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments