काठमाडौं – उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापन गर्न काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा असोज १५ देखि २६ गतेसम्म विद्युत् कटौती गर्न लागेको हो।
सम्बन्धित क्षेत्रहरूमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द गरेर प्राविधिक कार्य गरिनेछ। मौसम प्रतिकूल भएमा भने तोकिएको तालिकाअनुसार विद्युत् कटौती हुने छैन।
प्राधिकरणका अनुसार असोज १५ गते सतुङ्गल बौथली क्षेत्र, असोज १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसी चोक क्षेत्र र असोज १७ गते मुलपानी क्षेत्रमा लाइन काटिनेछ। यस्तै असोज १८ गते गर्जुधारा क्षेत्र र असोज २० गते पुनः मुलपानी क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ।
असोज २१ गते बलम्बु क्षेत्र, असोज २२ गते कोटेश्वर-बालकुमारी क्षेत्र, असोज २४ गते सिफल क्षेत्र, असोज २५ गते सतुङ्गल धौलागिरी आवास क्षेत्र र असोज २६ गते धोबीखोला क्षेत्रमा लाइन कटौती गरी भूमिगत प्रणालीको काम अघि बढाइनेछ।
प्रणाली सुदृढीकरण र सहरी सौन्दर्य
काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउन प्राधिकरणले चरणबद्ध रूपमा काम गरिरहेको छ। पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रबाट सुरु गरिएको यो काम दोस्रो चरणमा काठमाडौँका बाँकी सहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर तथा भक्तपुर र चौथो चरणमा पोखरा एवं भरतपुर महानगरपालिकामा विस्तार भइरहेको छ।
यस कार्यक्रमअन्तर्गत ३३ केभी, ११ केभी र ४०० भोल्टेजका विद्युत् लाइनहरूसँगै अप्टिकल फाइबरसमेत बिछ्याइनेछ। भूमिगत प्रणालीले विद्युत् आपूर्तिको विश्वसनीयता बढाउनुका साथै सडकमा तारको गुजुल्टो हटाएर सहरी सौन्दर्य अभिवृद्धि गर्न सहयोग पुग्ने प्राधिकरणले जनाएको छ।



WRITE COMMENTS FOR THIS ARTICLE