पेन्सनका लागि अब जिल्ला धाउन नपर्ने
काठमाडौं – निजामती कर्मचारीले अवकाशपछि पेन्सनसम्बन्धी सेवा लिन अब जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ । सरकारले ई–पेन्सन सेवालाई विकेन्द्रीकरण गर्दै सम्बन्धित कर्मचारी कार्यरत कार्यालयबाटै सेवा उपलब्ध गराउने व्यवस्था गर्न लागेको हो ।
राष्ट्रिय निजामती किताबखानाको निर्णयअनुसार अब निजामती कर्मचारीले आफू कार्यरत कार्यालयबाटै ई–पेन्सनसम्बन्धी सेवा पाउने भएका छन् । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग तथा मातहतका कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन परिपत्र गरेको छ ।
किताबखानाले सम्बन्धित कार्यालयबाट प्रशासन हेर्ने कर्मचारीको कर्मचारी संकेत नम्बर, नाम, पद, इमेल ठेगाना र सम्पर्क नम्बर माग गरेको छ । उक्त विवरण विभागको इमेल ठेगानामा पठाउन मन्त्रालयमार्फत सबै कार्यालयलाई निर्देशन दिइएको छ ।
यस व्यवस्थाले निजामती कर्मचारीलाई पेन्सनसम्बन्धी कामका लागि अर्को कार्यालय धाउनुपर्ने झन्झट कम गर्ने अपेक्षा गरिएको छ । साथै, सेवा प्रवाहलाई सहज, छिटो र प्रविधिमैत्री बनाउनुका साथै प्रशासनिक काममा हुने अनावश्यक दौडधुपसमेत घट्ने विश्वास गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE