सोमवार, मंसिर ८, २०८३
Monday, November 23, 2026

देउसी भैलोमा मौलिकता हराउँदै, अत्याधुनिक प्रविधिको प्रभाव बढ्दो

नेपाली मौलिक संस्कृति र परम्परासँग जोडिएको तिहार पर्वको रौनक बढेसँगै गाउँदेखि सहर बजारसम्म देउसी भैलो खेल्ने क्रम सुरु भएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म देउसी भैलोमा रमाइरहेका छन् । तर, पछिल्लो समय देउसी भैलोमा प्रयोग हुने गीत, संगीत र नृत्यमा मौलिकता हराउँदै गएकोप्रति संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गर्नुभएको छ ।

बागलुङ बजारमा पनि कार्तिक १९ गतेदेखि नै देउसी भैलो खेल्न थालिएको छ । बजारका चोक तथा टोलमा ठूला साउण्ड सिस्टम बजाउँदै समूहगत रूपमा नाचगान गर्नेहरूको चहलपहल बढेको छ । तिहारको उल्लाससँगै बजार क्षेत्र देउसी भैलोमय बनेको छ ।

तर, परम्परागत रूपमा मादल, बाँसुरी, खैँजडीजस्ता मौलिक बाजा बजाउँदै गीत गाउने र नाच्ने चलन क्रमशः हराउँदै गएको छ । पहिले देउसी भैलोमा सुनिने सोरठी, मारुनी र कौरा नाचसँगै यानीमाया, सुनिमाया र झ्याउरे गीत अहिले विरलै सुनिन्छन् । तिनको ठाउँमा रेकर्ड गरिएका पप, आधुनिक, र्‍याप तथा विदेशी भाषाका गीत बजाएर नाच्ने प्रवृत्ति बढेको छ ।

संस्कृतिकर्मी काजीगाउँले श्रेष्ठका अनुसार पछिल्लो एक दशकमा तिहार र देउसी भैलोको मौलिकता निकै कमजोर बनेको छ । पश्चिमा संस्कृतिको प्रभाव र नयाँ पुस्तामा मौलिक कला तथा संस्कृतिको संरक्षणप्रति चासो कम हुँदा परम्परागत देउसी भैलोको स्वरूप परिवर्तन हुँदै गएको उहाँको भनाइ छ ।

मादल, बाँसुरी र खैँजडीको तालमा गाउँघरका कथा, व्यथा र सामाजिक सन्देश प्रस्तुत गर्ने देउसी भैलोमा अहिले विकृति मिसिएको उहाँले बताउनुभयो ।

‘हामीले मनाउँदै आएको तिहार यो होइन । हामीले खेल्ने देउसी भैलो पनि यो होइन । अहिले त पूरै विकृत भयो । यही हिसाबमा गए हाम्रो अस्तित्व पनि समाप्त हुने खतरा बढेको छ,’ श्रेष्ठले भन्नुभयो, ‘पहिला त मारुनी, सोरठी नाच्ने गर्थे । मौलिक वाद्यवादन र गीत गाउँथे । अहिले त्यस्तो केही छैन ।’

जैमिनी नगरपालिका–३ का टेकबहादुर केसी ‘संगम’ले पनि आधुनिक प्रविधिको विकास र देखासिकीका कारण देउसी भैलोको मौलिकता हराउँदै गएको बताउनुभयो । तिहार र देउसी भैलो नेपाली पहिचानसँग जोडिएको संस्कृति भए पनि पछिल्लो समय यसको मौलिक स्वरूप नै संकटमा पर्न थालेको उहाँको चिन्ता छ ।

‘के खालको देउसी भैलो हो यो ? गीत नबुझिने, नाचै हेर्न नसकिने । यस्तो पनि देउसी भैलो हुन्छ ? उतिबेला हामी पुराना गीत गाउँथ्यौँ, आफैँ बजाउँथ्यौँ । अहिले त गीत गाउन पनि नपर्ने, बजाउन पनि नपर्ने । साउण्ड सिस्टममा गीत बजायो र नाच्यो,’ उहाँले भन्नुभयो ।

यद्यपि, बागलुङ बजारमा केही समूहले भने परम्परागत देउसी भैलोको संरक्षणलाई प्राथमिकता दिएका छन् । पुरानो पुस्ताबाट मौलिक गीत, संगीत र नृत्य सिकेर नयाँ पुस्तालाई समेत सहभागी गराउँदै उनीहरूले संस्कृति संरक्षणको प्रयास थालेका छन् ।

मगर भैली टोलीले अघिल्लो वर्षदेखि नै मौलिक देउसी भैलो खेल्दै आएको स्थानीय गमबहादुर पुन मगरले बताउनुभयो । परम्परागत संस्कृति संरक्षण नगरे लोप हुने जोखिम बढ्ने भएकाले पाका पुस्ताले युवालाई सँगै राखेर देउसी खेल्न थालेको उहाँले जानकारी दिनुभयो ।

नयाँ पुस्तालाई मौलिक संस्कृति सिकाउन महिनौँसम्म अभ्यास गराउने गरिएको पुन मगरले बताउनुभयो । देउसी भैलोका अतिरिक्त अन्य परम्परागत कला र संस्कृतिको संरक्षणमा समेत आफूहरू सक्रिय रहेको उहाँको भनाइ छ ।

आधुनिक प्रविधि र नयाँ पुस्ताको रुचिसँगै चाडपर्व मनाउने शैली परिवर्तन हुनु स्वाभाविक भए पनि त्यसले मौलिक पहिचान नै विस्थापित गर्ने अवस्था आउनु चिन्ताको विषय बनेको छ । मनोरञ्जनसँगै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको कला, संगीत र परम्परालाई जोगाउन सके मात्रै देउसी भैलोको वास्तविक रौनक र पहिचान कायम रहन सक्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments