प्रधानमन्त्रीको मंसिर ७-९ भारत भ्रमणमा निजी क्षेत्रका प्रतिनिधि पनि समेटिँदै
काठमाण्डाैं – प्रधानमन्त्री वालेन्द्र शाह आगामी मंसिर पहिलो साता भारत भ्रमणमा जाने तयारीमा छन्। प्रधानमन्त्री शाहले मंसिर ७ देखि ९ गतेसम्म भारत भ्रमण गर्न सक्ने उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालका अनुसार भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ। भ्रमणमा सहभागी हुने टोलीका सदस्यहरूबारे भने अहिलेसम्म टुङ्गो लागिसकेको छैन। यस विषयमा छलफल भइरहेको उनले जानकारी दिइन्।
बालुवाटार स्रोतका अनुसार यसपटकको भारत भ्रमणमा निजी क्षेत्रका प्रतिनिधिलाई समेत सहभागी गराउनेबारे प्रधानमन्त्री र सचिवालयका अधिकारीहरूबीच छलफल भइरहेको छ।
‘को–को जाने भन्ने टोली तयार हुँदैछ। निजी क्षेत्र पनि समेटिने छन्। सकेसम्म सानो र छरितो टोली बनाउने तयारी छ। १५ जनाभन्दा कमको टोली हुन सक्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘परराष्ट्र मन्त्रालयले विवरण ल्याएपछि मात्रै यसबारे स्पष्ट हुनेछ। अहिले विभिन्न कोणबाट छलफल भइरहेको छ।’
भ्रमण टोलीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही सांसदसमेत सहभागी हुन सक्ने सम्भावना छ। प्रधानमन्त्री वालेन्द्र शाहसँग परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह र प्रेस विज्ञ दीप दाहाललगायत सहभागी हुन सक्ने सम्भावना छ।
त्यस्तै, परराष्ट्र मन्त्रालयका केही वरिष्ठ अधिकारीहरू पनि भ्रमण टोलीमा रहनेछन्। प्रधानमन्त्रीको भारत भ्रमणलाई उपलब्धिमूलक बनाउने उद्देश्यले विभिन्न मन्त्रालयले तयारी गरिरहेको बताइएको छ। परराष्ट्र मन्त्रालयसहित सम्बन्धित मन्त्रालयहरूले भ्रमणका एजेन्डाबारे छलफल र तयारी गरिरहेका छन्।



WRITE COMMENTS FOR THIS ARTICLE