सोमवार, असार २२, २०८३
Monday, July 6, 2026

हामीलाई कुनै पनि कुराले रोक्न सक्दैन -राष्ट्रपति डोनाल्ड ट्रम्प

एजेन्सी – अमेरिकाले आफ्नो स्वतन्त्रताको २५० वर्ष पुगेको अवसरमा देशभर ऐतिहासिक ‘अमेरिका २५०’ उत्सव भव्य रूपमा मनाएको छ। ४ जुलाई १७७६ मा उत्तर अमेरिकाका १३ बेलायती उपनिवेशहरूले स्वतन्त्रताको घोषणा गर्दै बेलायतबाट अलग हुने ऐतिहासिक निर्णय गरेको दिनको स्मरणमा शनिबार अमेरिकाका ५० वटै राज्यहरूमा परेड, साङ्गीतिक कन्सर्ट र आतिशबाजीसहितका विविध कार्यक्रमहरू आयोजना गरिए।

यद्यपि, यस ऐतिहासिक उत्सवलाई खराब मौसम, १०२ डिग्री फरेनहाइट (३९ डिग्री सेल्सियस) सम्मको कीर्तिमानी गर्मी र शक्तिशाली आँधीबेहरीले विभिन्न स्थानमा प्रभावित तुल्यायो। प्रतिकूल मौसमका बाबजुद पनि लाखौं अमेरिकी नागरिकहरू यस ऐतिहासिक उत्सवमा सहभागी भएका छन्।

यसैगरी, फिलाडेल्फियाको बेन्जामिन फ्र्याङ्कलिन पार्कवेमा आयोजित ‘वन फिली: युनिटी कन्सर्ट फर अमेरिका’ पनि खराब मौसमकै कारण रोकियो। उक्त कन्सर्टमा क्रिस्टिना अगुइलेरा र विल स्मिथ जस्ता प्रख्यात कलाकारहरूको प्रस्तुति तय गरिएको थियो। यसअघि शनिबार बिहान वासिङ्टन डीसीको स्वतन्त्रता दिवसको मुख्य परेड पनि अत्यधिक गर्मीका कारण रद्द गरिएको थियो।

उनले मौसम खराब हुँदाहुँदै पनि फर्केर आएका हजारौं दर्शकहरूलाई धन्यवाद दिँदै भने, ‘मैले भनेको थिएँ, बिहानको ४ बजे एक जना मात्रै व्यक्तिको अगाडि बोल्नु परे पनि म यहाँ आउनेछु, हामीलाई कुनै पनि कुराले रोक्न सक्दैन।’ आफ्ना कर्मचारीले कार्यक्रम अर्को हप्ता सार्न सुझाव दिएको भए पनि यो २५०औं वार्षिकोत्सव भएकाले आफूले अस्वीकार गरेको ट्रम्पले प्रष्ट पारे

इतिहासकै सबैभन्दा ठूलो आतिशबाजी र न्युयोर्कको र्‍याली

ट्रम्पको सम्बोधनपछि वासिङ्टन डीसीको आकाशमा ४० मिनेट लामो र इतिहासकै सबैभन्दा ठूलो आतिशबाजी प्रदर्शन गरियो। ‘पाइरोटेक्निको’ नामक कम्पनीले तयार पारेको यस आतिशबाजीमा करिब ८ लाख ५० हजार वटा पटाकाहरू पड्काइएको थियो। यद्यपि, राष्ट्रिय निकुञ्ज सेवाका अधिकारीहरूले यसले सहरमा प्रदूषण बढाउन सक्ने चेतावनी दिएका थिए।

उता न्युयोर्कको हडसन नदीमा ऐतिहासिक पानीजहाजहरू र लडाकु विमानहरूको भव्य परेड निकालिएको थियो। राति न्युयोर्कको प्रख्यात ब्रुकलिन ब्रिजमा आतिशबाजीका कारण सामान्य आगलागी भए पनि तत्कालै नियन्त्रणमा लिइएको र कुनै मानवीय क्षति नभएको अधिकारीहरूले जनाएका छन्।

यस ऐतिहासिक अवसरमा अमेरिकी राष्ट्रपतिले प्रयोग गर्ने शक्तिको सीमालाई लिएर देशमा ठूलो बहस समेत छेडिएको छ। आफ्नो दोस्रो कार्यकालको आधा समय नजिक पुग्दै गर्दा ट्रम्पले हालै आफ्नो शक्तिको “कुनै सीमा नरहेको” बताएका थिए, जसको आलोचकहरूले तीव्र विरोध गरिरहेका छन्। प्रदर्शनकारीहरूले “हामीसँग संविधान छ, राजा होइन” जस्ता प्लेकार्ड बोकेर ट्रम्पको शक्ति केन्द्रीकरण गर्ने प्रवृत्तिको विरोध गरिरहेका छन्।

ट्रम्प प्रशासनसँग निकट रहेको ‘फ्रिडम २५०’ समूहले गैरदलीय निकायलाई पाखा लगाई नेसनल मलको ठूलो हिस्सालाई ‘ग्रेट अमेरिकन स्टेट फेयर’ का रूपमा प्रयोग गरेको र कार्यक्रमलाई बढी राजनीतिकरण गरेको भन्दै केही डेमोक्र्याट नेतृत्वका राज्यहरूले आफ्ना प्रतिनिधिमण्डल पठाएनन्। रोयटर्स/इप्ससको मत सर्वेक्षणले पनि बहुसंख्यक अमेरिकीहरूले यस राष्ट्रिय उत्सवलाई अत्यधिक राजनीतिक बनाइएको महसुस गरेको देखाएको छ। यसैबीच, श्वेत राष्ट्रवादी समूह ‘प्याट्रियट फ्रन्ट’ का सदस्यहरू पनि पोसाकसहित वासिङ्टन पुगेका थिए, तर कुनै अप्रिय घटना भने भएन।

यस ऐतिहासिक दिनमा अमेरिकाका चार  पूर्व राष्ट्रपतिहरू बिल क्लिन्टन, जर्ज डब्लु बुस, बाराक ओबामा र जो बाइडेनले  आ-आफ्ना सन्देश जारी गर्दै देशको लोकतान्त्रिक मूल्य र स्वतन्त्रताका लागि दिइएको बलिदानको स्मरण गरे। यद्यपि, पूर्व राष्ट्रपति क्लिन्टनले भने आफ्नो सन्देशमा वर्तमान ट्रम्प प्रशासनको नीतिहरूप्रति कडा आलोचना गरेका थिए।

त्यस्तै, आप्रवासी नीतिलाई लिएर ट्रम्प प्रशासनसँग वैचारिक मतभेद राख्दै आएका पोप लियो चौधौंले ४ जुलाईको दिन इटालीको लाम्पेडुसा टापुस्थित एक आप्रवासी चिहानमा प्रार्थना गरेर बिताए। पछि उनले होली सीका लागि अमेरिकी राजदूत ब्रायन बर्चलाई भेटेर अमेरिकाको २५०औं स्वतन्त्रता दिवसको शुभकामना आदानप्रदान गरेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x