शनिबार, भदौ २७, २०८३
Saturday, September 12, 2026

हरितालिका (तीज)लाई लक्षित गर्दै पशुपति क्षेत्रको विशेष सफाइ

काठमाडौं –  हरितालिका (तीज) पर्वको तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा विशेष सफाइ गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठ, सञ्चालक परिषद्का सदस्य, कर्मचारी, स्थानीयवासी तथा भक्तजनको सहभागितामा वाग्मती पारिका १५ शिवालय, मृगस्थली, किरातेश्वर, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, भुवनेश्वरीलगायत क्षेत्रमा सफाइ गरिएको हो । सो क्रममा अव्यवस्थित संरचनालाई समेत व्यवस्थित गरिएको कोषले जनाएको छ ।

१५ शिवालय क्षेत्रमा शुक्रबार राति भएको आगलागीबाट क्षति पुगेको एक शिवालयको समेत अनुगमन गरी फोहर हटाइएको थियो । ढुङ्गाले बनेको शिवालयको भित्री भागमा काठ प्रयोग गरिएको र त्यहाँ बस्ने व्यक्तिले कपडा राखेकाले आगलागी भएको पाइएको कोष सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो ।

आगलागीपछि शनिबार बिहानसम्म त्यस क्षेत्रमा धुवाँको मुस्लो देखिएको थियो । घटनापछि पशुपति क्षेत्रका कुनै पनि शिवालय तथा मन्दिर परिसरमा अनधिकृत रूपमा बसोबास गर्न नदिइने उहाँले बताउनुभयो ।

नेपाली महिलाको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपति क्षेत्रलाई स्वच्छ र सफा राख्ने उद्देश्यले विशेष सफाइ अभियान सञ्चालन गरिएको हो । “स्वच्छ पशुपति निर्माणमा सामाजिक उत्तरदायित्वको भावनाले सफाइमा जुटौँ” भन्ने नारासहित अभियान सञ्चालन गरिएको भण्डारीले बताउनुभयो ।

कोषले साउन महिनाको तयारीस्वरूप असारको अन्तिम शनिबारदेखि पशुपति क्षेत्रमा नियमित सफाइ अभियान सञ्चालन गर्दै आएको छ । हरेक शनिबार बिहान सञ्चालन हुँदै आएको अभियानअन्तर्गत आज नवौँ हप्ताको सफाइ गरिएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x