तिब्बतको केरुङ नाकामा भीषण पहिरोः उद्धार टोली कठिन मार्ग हुँदै प्रभावित क्षेत्रतर्फ प्रस्थान
चीनको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने तिब्बत स्वशासित क्षेत्रको केरुङ नाकामा भीषण पहिरो गएपछि उद्धारकर्मीहरू बिहीबार अति प्रभावित क्षेत्रतर्फ अघि बढेका छन् ।
पहिरोले सडक सञ्जाल पूर्ण रूपमा बगाएपछि उद्धार कार्यमा ठूलो चुनौती थपिएको छ । प्रभावित स्थलसम्म पुग्ने मुख्य बाटो अवरुद्ध भएपछि उद्धार टोलीले पहाडको कठिन भू–बनोट र भीरपहरा छिचोल्दै पैदल यात्रा तय गरिरहेका छन् । उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरूका अनुसार सडक पूर्ण रूपमा क्षतिग्रस्त भएकाले हाल पहाडको टाकुराबाट घुमेर अर्कोतर्फ जानुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।
खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन आधुनिक प्रविधिको समेत प्रयोग गरिएको छ । प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र उद्धार टोलीलाई मार्गनिर्देश गर्न ड्रोनमार्फत हवाई निरीक्षण (एरियल सर्भे) भइरहेको छ । ड्रोनबाट प्राप्त दृश्य र तथ्याङ्कका आधारमा खोजी कार्यलाई तिब्रता दिइएको अधिकारीहरूले जनाएका छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE