सर्वोच्च अदालत परिसरमा आत्मदाहकाे प्रयास
काठमाडौं — मंगलबार मध्याह्न सर्वोच्च अदालत परिसरमा फरक दृश्य देखियो । सर्वोच्च अदालतको नयाँ भवनको पाँचौँ तल्लामा एक अधिवक्ताले असामान्य गतिविधि (आत्मदाहकाे प्रयास) गरेपछि अदालतमा रहेका सुरक्षाकर्मी र कर्मचारीले उनलाई सम्झाउने प्रयास गरेका थिए । केही बेरको प्रयासपछि उनलाई सुरक्षित रूपमा उद्धार गरिएको थियो ।
उच्च अदालत हुँदै सर्वोच्च आइपुगेको ठगी मुद्दामा आफ्नो विपक्षमा फैसला भएपछि उनले ‘न्याय नपाएको’ भन्दै यस्तो गतिविधि गरेको बताइएको छ । सर्वोच्च अदालत प्रशासनका अनुसार उनी अधिवक्ता लालबहादुर राई हुन् ।
अदालत प्रशासनका अनुसार सोमबार ठगीसम्बन्धी मुद्दामा आफ्नो विपक्षमा फैसला आएपछि उनले एउटा नोटसमेत लेखेका थिए । उद्धार गरिएका राईलाई अहिले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारको कार्यालयमा लगिएको छ ।
न्यायाधीशद्वय अब्दिल अजिज मुसलमान र शान्तिसिंह थापाको इजलासले सोमबार उनको मुद्दामा उच्च अदालतको फैसला सदर गर्ने फैसला सुनाएको थियो । उक्त मुद्दामा सर्वेश मरासिनी, राजु श्रेष्ठ, खेमराज निरौला, शिव कार्की, राजेश श्रेष्ठ, खुशचन्द्र श्रेष्ठ, लालबहादुर राई तथा गंगाराम अधिकारी/सैवालकुमार दत्त विपक्षी छन् । उच्च अदालतको फैसला विरुद्ध राईले नै सर्वोच्चमा पुनरावेदन गरेका थिए ।


WRITE COMMENTS FOR THIS ARTICLE