बुधबार, साउन २०, २०८३
Wednesday, August 5, 2026

अनुसन्धान विभागलाई कुन मातहत राख्ने बहसभन्दा सशक्त र व्यावसायिक बनाउन सांसद पोखरेलको जोड

काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्ने बहसभन्दा पनि यसलाई कसरी सशक्त र व्यावसायिक बनाउने भन्ने विषय प्रमुख रहेको बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ माथिको छलफलमा बोल्दै पोखरेलले यस्तो धारणा राखेका हुन्।

विभागलाई गृह मन्त्रालय वा प्रधानमन्त्री कार्यालय जहाँ राखे पनि दुवै पक्षका तर्कहरू बलिया रहेको उल्लेख गर्दै उनले संरचनागत अवस्थितिले मात्र संस्थाको प्रभावकारिता सुनिश्चित नगर्ने स्पष्ट पारे। नेपालको गुप्तचर निकायको वर्तमान अवस्थाप्रति टिप्पणी गर्दै उनले हालसम्म पनि विभागले पूर्व-सूचनामूलक भूमिका निर्वाह गर्न नसकेको बताए। विभाग जहिले पनि घटना घटिसकेपछि मात्र सूचना संकलनमा सक्रिय हुने गरेको र सूचनाका आधारमा ठोस रणनीति बनाउन सक्ने सामर्थ्य विकास हुन नसकेको उनको भनाइ छ।
पोखरेलले विभागको कार्यशैली अझै पनि परम्परागत रहेको औँल्याए। विश्वका शक्तिशाली गुप्तचर निकायहरू आइएसआई, रअ र सीआईएको उदाहरण दिँदै उनले ती निकायहरूले कसरी सरकारलाई मार्गदर्शन गर्छन् भन्ने विषयबाट पाठ सिक्नुपर्ने बताए। विभागलाई केवल देखाउने दाँत मात्र बनाउन नहुनेमा जोड दिँदै उनले नयाँ भर्ना प्रणाली, पर्याप्त बजेट र आधुनिक स्रोत-साधनको व्यवस्था गरी यसलाई राष्ट्रिय तथा बाह्य सुरक्षा चुनौती सामना गर्न सक्ने गरी पुनर्संरचना गर्नुपर्ने माग गरे।
बैठकमा बोल्दै उनले भने, ‘गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालय दुवैका आ-आफ्नै मजबुत तर्क छन्।’ उनले अगाडि थपे, ‘त्यसैले यो कुन निकाय मातहत रहन्छ भन्ने कुरा गौण हो।’ मुख्य प्रश्न यसलाई कसरी सशक्त बनाउने र राष्ट्रिय सुरक्षाको भरपर्दो खम्बाका रूपमा कसरी स्थापित गर्ने भन्ने नै रहेको उनले स्पष्ट पारे। आफूहरू अझै पनि पञ्चायतकालीन शैलीको सूचना संकलनमै सीमित रहेको र प्रविधिको प्रयोगमा पछाडि परेको उनले बताए। घटना हुनुभन्दा अगाडि सूचना पाउने र त्यसका विरुद्ध रणनीति बनाउने परिस्थिति अझै निर्माण हुन नसकेको उनको भनाइ थियो।
पोखरेलले समय खेर नफाली राष्ट्रिय आवश्यकताअनुसार विभागको सामर्थ्य र शक्ति विकास गर्ने दिशामा गम्भीर छलफल र लगानी गर्न सरकारको ध्यानाकर्षण समेत गराए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x