कस्तो होला साउन २९ पछिको कांग्रेस !
नेपाली कांग्रेसको ‘देउवा–खड्का पक्ष’ ले बीपीपुत्र शशांक कोइरालालाई संयोजक बनाएर ‘राष्ट्रिय भेला आयोजक समिति’ गठन गरेको छ।
विशेष महाधिवेशनपछि संस्थापनबाट बाहिरिएर इतरपक्षमा पुगेको देउवा–खड्का समूहले सम्भवतः बीपीपुत्र हुनुकै कारणले शशांकलाई अघि सारेको हुन सक्छ।
त्यसको लाभ कुनकुन अर्थमा सकारात्मक हुनेछ, त्यो चाँडै देख्न पाइनेछ।
कांग्रेसका संस्थापन र इतर दुवै पक्षका आआफ्ना जिकिर र अडान छन्। हालसम्मको घटनाक्रमले इतरपक्ष सभापति गगन थापालाई दोषी करार गरेर अर्को पार्टी गठन गर्नमा तल्लीन रहेको प्रष्ट पारेको छ।
के कारणले विशेष महाधिवेशन भयो र त्यसमा देउवा–खड्कापक्ष र शेखरसमूह किन सहभागी भएन, यसको मन्थन यो संश्लेषण्को उद्देश्य होइन। उद्देश्य हो सन्निकट भविष्य आकलन गर्नु।
कांग्रेसको इतरपक्षमा अर्को पार्टी गठन गरेर संस्थापनलाई ‘देखाइदिन’ पर्याप्त संख्या रहेको अनुमान गर्न सकिन्छ। यही साउन २९ गतेपछि हालको संस्थापनको समानान्तर अर्को पार्टी बन्न पनि सक्छ।
पार्टी फुट्नु–फुटाउनु कुनै नौलो र अप्रत्यासित घटना होइन। यो कुनै बहादुरी पनि होइन।
पहिलो संविधानसभामा २५ वटा दल निर्वाचित भएका थिए। विभाजनबाट तिनको संख्या त्यही संविधानसभामा ३१ पुगेको थियो।
आज प्रतिनिधिसभामा जम्मा छ वटा दल छन्। राजनीतिक दलहरूको औचित्य र तिनको आवश्यकताका सन्दर्भमा यही दृष्टान्त पर्याप्त छ।
प्रतिनिधिसभामा दुई तिहाइ निकट सदस्य रहेको एकमना सरकारको कार्यशैलीका सामु संसदमा र संसदबाहिर विपक्षी दलहरूको उपस्थिति निरीह छ।
आज देश कुन अवस्थामा छ?
आठ दशकको संघर्षशील इतिहास भएको आजको नेपाली कांग्रेसका नेताहरूको मुख्य चासो र चिन्ताको विषय के हो?
त्यो विषयमा बलियो हस्तक्षेप गर्न चाहिने विपक्षको शक्ति के हो?
वर्तमानमा कांग्रेसनेताहरूले यी तीन वटा प्रश्नमा गम्भीरतापूर्वक मनन गरून्।
नेपाली कांग्रेस विभाजनको अन्तिम तयारीमा छ। अन्ततः वर्तमान राजनीतिक परिवेशमा कांग्रेसको विभाजन विवेकशून्यताको परिणाम नै हुनेछ।
बहुमतको निर्णय नै लोकतन्त्रको सौन्दर्य हो भने आजको संस्थापनले निष्पक्ष ढंगले महाधिवेशन गराउनु र त्यसैबाट चयन हुने नेतृत्व स्वीकार गर्नु युक्तिसंगत, विधिसम्मत र विवेकसम्म हुनेछ। निष्पक्षताको विश्वास दिलाउने काम संस्थापनको हो।
हिजोआज इतर समूहका नेताहरूको एउटा साझा कथन आउने गरेको छ– गगनले चाहने हो भने एक घण्टामै सबै समस्या समाधान हुनेछ, एकताको पन्धौँ महाधिवेशन हुनेछ।
यस कथनको सार गगनलाई दोषी करार गरेर पार्टी विभाजनको औचित्य प्रमाणित गर्नु मात्र हो भन्न हिच्किचाउनु पर्दैन।
गगन र अहिलको संस्थापन पक्ष कतिपय सन्दर्भमा दोषी हुन सक्छ तर त्यसले इतरपक्षको निर्दोषिता प्रणाणित गर्दैन। पार्टी विभाजनको औचित्य पुष्टि गर्दैन।
अन्ततः क्षति हुने कांग्रेसलाई होइन, देशलाई हो।
आजको इतर पक्षमा पूर्णबहादुर खड्का साँच्चैका नेता हुन्, निष्ठावान हुन्। कृष्णप्रसाद भट्टराईसँग निकट संगत गरेका खड्का समकालीन नेताहरूमा कांग्रेसको कुशल नेतृत्व गर्ने राजनीतिक ज्ञान र व्यक्तित्वका नेता हुन्।
अपेक्षा गरौँ– साउन २९ मा भेलाबाट पार्टी एकता र देशको हित रक्षामा लागि उनकै नेतृत्व विवेकसम्मत दूरगामी निर्णय हुनेछ।
त्यसअघि २४ गते नै हुने कांग्रेस केन्द्रीय समिति बैठकले– साउन २९ मा हुने भेलालाई पार्टी एकताको घोषणा भेलामा रूपान्तरण गर्न प्रेरित गर्नेछ।
शेखर कोइराला बडो सकसले मझधारमा उभिएका छन्। उनीसँग एउटा अपेक्षा गरौँ–संस्थापन कांग्रेसको केन्द्रीय समिति बैठक र इतर पक्षको राष्ट्रिय भेलासम्ममा उनले दुवै पक्षलाई एकताको सूत्रमा आबद्ध गराउनेछन्।


WRITE COMMENTS FOR THIS ARTICLE