आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

नवौं संस्करणकाे ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अस्ट्रेलियामा हुने

काठमाडौं – नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड-२०२६’ को नवौं संस्करण आगामी १७ डिसेम्बर २०२६ मा अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ।

यसका लागि नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी र भारा इन्टरटेनमेन्ट अस्ट्रेलियाबीच औपचारिक सम्झौता भएको छ। सम्झौतापत्रमा नेपाल फिल्म सोसाइटी तथा ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका प्रतिनिधि एवं संयोजक सञ्जय खतिवडा र भारा इन्टरटेनमेन्ट अस्ट्रेलियाका संस्थापक अरुण श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौता कार्यक्रममा भर्चुअल माध्यमबाट सहभागी नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले सिड्नीमा हुन लागेको नवौँ संस्करणले ग्लोबल नेपाली फिल्म अवार्डको इतिहासमा नयाँ अध्याय थप्ने विश्वास व्यक्त गर्दै सबै साझेदारलाई बधाई दिएका थिए।

सन् २०१८ देखि अमेरिकामा निरन्तर आयोजना हुँदै आएको उक्त अवार्डका आठ संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन्। नेपाली चलचित्रका कलाकार, प्राविधिक, स्रष्टा तथा सञ्चारकर्मीलाई सम्मान गर्दै आएको अवार्डले नेपाली कला, संस्कृति र विश्वभर रहेका नेपाली समुदायबीचको सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको आयोजकहरूको दाबी छ।

आयोजकका अनुसार नवौँ संस्करण पहिलोपटक अमेरिकाबाहिर आयोजना हुन लागेकाले यसले अवार्डलाई थप अन्तर्राष्ट्रिय पहिचान दिलाउने अपेक्षा गरिएको छ। सिड्नीमा रहेको ठूलो नेपाली समुदाय र त्यहाँका सक्रिय सांस्कृतिक गतिविधिले नेपाल-अस्ट्रेलियाबीच कला र संस्कृतिको आदान-प्रदानलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

आयोजक संस्थाहरूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने साझेदार, प्रायोजक, सञ्चारमाध्यम तथा विश्वभर रहेका नेपाली समुदायप्रति आभार व्यक्त गर्दै आगामी डिसेम्बर १७ मा सिड्नीमा हुने अवार्ड समारोहमा सहभागी हुन सबैलाई आग्रह गरेका छन्।

सम्झौता कार्यक्रममा अस्ट्रेलियास्थित नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिनिधिको उल्लेखनीय सहभागिता थियो। कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)का उपाध्यक्ष दिनेश पोखरेल, एससीसी एनएसडब्लु संयोजक उषाकिरण बरिया पोखरेल, भारा इन्टरटेनमेन्ट अस्ट्रेलियाका निर्देशक रुपेश भट्टराई, ग्लोबल नेपाली फिल्म अवार्डका सल्लाहकार विजय सापकोटा, भारा इन्टरटेनमेन्टका संस्थापक हेमन लामिछाने, एएनसीका इभेन्ट संयोजक नवराज तिमल्सिना, एएनसीकी प्रवक्ता सबला बस्नेत, जीएसएनएमसीका अध्यक्ष विष्णु हमाल, चलचित्र निर्माता तथा आरएफएमका संस्थापक रञ्जित शाह, वरिष्ठ सामुदायिक अगुवा महेन्द्र लम्साल र भूपाल सिटौला, वरिष्ठ पत्रकार हेमन्त काफ्ले तथा एनआरएनएका पूर्व सहमहासचिव राकेश जोशीलगायतको उपस्थिति थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x