नेपाल-चीन सम्बन्ध सुदृढ बनाउन परराष्ट्रमन्त्री बेइजिङमा
काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय औपचारिक भ्रमणका लागि बेइजिङ पुगेका छन्।
गएराति त्यसतर्फ प्रस्थान गरेका मन्त्री खनाल स्थानीय समय अनुसार आज अपराह्न बेइजिङस्थित विमानस्थलमा ओर्लिएका हुन्। विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए।
परराष्ट्रमन्त्रीको सम्मानमा बेइजिङस्थित नेपाली दूतावासले आजै साँझ एक विशेष स्वागत समारोहको आयोजना गर्दैछ, जहाँ उनले त्यहाँ रहेका नेपाली समुदायसँग समसामयिक विषयमा अन्तरक्रिया समेत गर्नेछन्।
चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग नेपाल-चीन सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा महत्त्वपूर्ण द्विपक्षीय वार्ता गर्ने तालिका रहेको छ।
यसका साथै उनले चीन सरकारका अन्य उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्नेछन्।
नेपालमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मुख्य अतिथिका रूपमा सहभागी हुँदै मन्त्री खनालले चिनियाँ उद्यमी व्यवसायीहरूलाई नेपालमा लगानीका अवसरहरूबारे आश्वस्त पार्न विशेष छलफल गर्ने कार्यक्रम रहेको छ।
चार दिनको उच्चस्तरीय राजनीतिक तथा आर्थिक भ्रमण सम्पन्न गरी मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किनेछन्।


WRITE COMMENTS FOR THIS ARTICLE