मङ्लबार, जेष्ठ १२, २०८३
Tuesday, May 26, 2026

सक्कली माननीय

माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर, प्रतिष्ठा र “नीय” अर्थात् योग्य। त्यसैले “माननीय” को शाब्दिक अर्थ हुन्छ- “सम्मान गर्न योग्य व्यक्ति”। अर्थात् जो आदरणीय छ, विशिष्ट छ, इमानदार छ, नैतिक छ र समाजलाई गौरवान्वित गर्न लायक छ त्यो व्यक्ति माननीय हो।

सम्मान व्यक्तिको क्षमता, चरित्र, आचरण, इमानदारी र योगदानबाट जन्मिने भावना हो। मानिसले आफ्ना व्यवहार, बोली र कर्ममार्फत मान-सम्मान कमाउँछ। साँचो सम्मान मागेर पाइँदैन न त सपथ ग्रहणसँगै स्वतः झर्छ। त्यो त समयसँगै आर्जन गरिने कुरा हो। तर विडम्बना, व्यवहारमा “माननीय” शब्द अहिले सांसद, मन्त्री वा उच्च पदस्थ व्यक्तिका नामअघि टाँसिने एउटा सरकारी औपचारिक स्टिकरजस्तो बनेको छ। कुर्सीमा बस्नेबित्तिकै माननीय, कुर्सीबाट झर्नेबित्तिकै सामान्य नागरिक! मानौँ सम्मान पनि अस्थायी लाइसेन्स हो।

के पद पाएपछि मानिस स्वतः सम्मानयोग्य वा माननीय हुन्छ? वा वास्तवमै सम्मानयोग्य भएकाले उसलाई “माननीय” भनिएको हो? यदि केवल पदकै आधारमा माननीय हुने हो भने  चरित्रहीन, भ्रष्ट, झुट बोल्ने, विभेद फैलाउने र जनताको दुःखमाथि राजनीति गर्ने व्यक्ति पनि “माननीय”?

आज “माननीय” शब्दले गुणभन्दा पदलाई बढी प्रतिनिधित्व गर्न थालेको छ। यहाँ प्रश्न शब्दमाथि होइन त्यसको प्रयोगमाथि हो। सम्मान आचरणबाट नआउँदा “माननीय” शब्द कहिलेकाहीँ व्यङ्ग्यजस्तो सुनिन थाल्छ। आखिर मान गर्न अयोग्य व्यक्तिलाई पनि केवल पदका कारण “माननीय” भनिरहने हो भने शब्दको अर्थ पुनः परिभाषित गर्नुपर्ने देखिन्छ।

पूर्वीय दर्शनमा मानिस पदले होइन गुणले माननीय हुन्थ्यो। हिन्दु दर्शनले “गुण”, “चरित्र” र “धर्म” लाई उच्च स्थान दिएको छ। सत्यनिष्ठा, संयम, न्यायप्रियता र जनकल्याणको भावना जस्ता व्यवहारले मानिसको सम्मान निर्धारण गर्थ्यो- पदले होइन। त्यसैले राजा भएर पनि “दुर्योधन” कहिल्यै माननीय बन्न सकेन तर राजा नभए पनि “विदुर” सम्मानित र आदरणीय बने। बौद्ध दृष्टिमा पनि मानिसलाई जन्म, जात, सम्पत्ति वा शक्तिले होइन कर्मले ठूलो बनाउँछ। अर्थात् मानिसको वास्तविक उचाइ उसको सिंहासनले होइन व्यवहारले नापिन्छ।

आजको लोकतान्त्रिक युगमा “माननीय” शब्दको हालत केही फरक देखिन्छ। अहिले सांसद, मन्त्री वा उच्च पदस्थ व्यक्तिका नामअघि “माननीय” टाँस्ने चलन छ। जनप्रतिनिधिलाई सम्मान दिन, संसदको गरिमा बढाउन र सार्वजनिक संस्थाप्रति आदर निर्माण गर्न यस्तो गरिएको होला। तर प्रश्न उठ्छ, मान गर्न योग्य गुण, चरित्र र क्षमता नै नभएका कतिपय व्यक्तिलाई पनि “माननीय” भनिरहनु कति उचित छ?

के सबै सांसदमा साँच्चै “माननीय” भन्ने आधारभूत गुण छन् ? कानुनी र औपचारिक हिसाबले हेर्ने हो भने चुनाव जितेपछि सांसदलाई “माननीय” भनिन्छ। तर नैतिक हिसाबले चुनाव जित्नु र सम्मानयोग्य हुनु एउटै कुरा होइन। चुनाव जित्ने कारण अनेक हुन सक्छन्। धन-पैसा, जातीय गणित, पार्टीको लहर, प्रचार, डर, भ्रम, भावनात्मक उक्साहट, सत्ता पहुँच वा कहिलेकाहीँ त केवल भीडको हल्ला।

इतिहास हेर्दा धेरै भ्रष्टाचारी, नैतिक पतन भएका, अवसरवादी, व्यभिचारी र अत्याचारी व्यक्तिहरू पनि जनताको मतबाट निर्वाचित भएर सत्तामा पुगेका छन्। विगतका साना गुण्डागर्दीदेखि ठूला भ्रष्टाचार र राष्ट्रघातसम्ममा तिनै माननीयहरूको संलग्नता देखिन्छ। त्यसैले चुनाव जित्नु लोकप्रियता हुन सक्छ तर चरित्रको प्रमाणपत्र होइन। त्यो माननीय हुने योग्यता पनि होइन।

“माननीय” केवल पदको नाम हुन सक्छ। वास्तवमै माननीय बन्न गुण, चरित्र र आचरण चाहिन्छ। केवल कुर्सी, शक्ति वा पद पाएर मानिस सम्मानयोग्य हुँदैन। पदलाई अन्धभक्त भएर मान्नु चेतनशील मानसिकता होइन दास मानसिकता हो। साँचो सम्मान पदलाई होइन- सत्यनिष्ठा, नैतिकता, इमानदारी र जनहितमा समर्पित कर्मलाई दिइनुपर्छ। सम्मान कुर्सीलाई होइन, सीप, दक्षता र चरित्रलाई हुनुपर्छ।

यदि केवल जनताको मतबाट निर्वाचित भएकै आधारमा कसैलाई “माननीय” भन्ने हो भने अर्को गम्भीर प्रश्न उठ्छ। कतिपय वडाध्यक्ष वा वडा सदस्यहरूले संघीय सांसदहरूले भन्दा धेरै मत प्राप्त गरेर विजय हासिल गरेका हुन्छन्। अझ उनीहरू नागरिकका दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्या र स्थानीय विकासका काममा दिनरात खटिरहेका हुन्छन्। जनताको घरदैलोमै पुगेर सेवा गर्ने तिनै स्थानीय जनप्रतिनिधिहरू हुन्। उनीहरूलाई किन “माननीय” भनिँदैन? यदि सम्मानको आधार जनसेवा, जिम्मेवारी र उत्तरदायित्व हो भने नागरिकका दैनिक दुःख–सुखसँग प्रत्यक्ष जोडिएर काम गर्ने स्थानीय जनप्रतिनिधिहरू अझ बढी सम्मानका पात्र हुनुपर्ने होइन र? के सम्मानको मापदण्ड सत्ता र शक्तिकेन्द्रको नजिक हुनु हो?

बिहान सबेरै उठेर शहरको फोहोर सफा गर्ने सफाइ मजदुर माननीय होइनन्? के अरबको चर्को घाममा पसिना बगाएर आफ्नो परिवार र देशको अर्थतन्त्र धान्न रेमिट्यान्स पठाउने श्रमिकहरू सम्मानका योग्य छैनन् ? के आफ्नो पसिनाले जमिन सिञ्चित गरेर मानिसको पेट भरिदिने किसान माननीय होइनन्? के आफ्नो पिठ्युमा सुत्केरी महिलालाई बोकेर स्वास्थ्य केन्द्रसम्म पुर्याउने भरिया माननीय होईनन?

राहत कोटामा, न्यून सुविधामा वा कहिलेकाहीँ स्वयंसेवक बनेर गाउँका बालबालिकालाई अक्षर चिनाउने शिक्षक–शिक्षिकाहरू के सम्मानका पात्र होइनन्? न्यून तलबमा रातदिन बिरामीको जीवन बचाउन खटिने स्वास्थ्यकर्मीहरू, भोकै पेटमा घन ठोकेर औजार बनाउने मजदुरहरू वा आफ्नै शरीरमा पुरानो कपडा लगाएर अरूका लागि नयाँ कपडा सिलाइदिने सुचिकारहरू “माननीय” होइनन्?

विशिष्ट ज्ञान, सीप र क्षमता भएका र आफ्नो ज्ञान, सीप र क्षमतालाई देश र जनताको हितमा समर्पित गरेका डाक्टर, वैज्ञानिक, अनुसन्धानकर्ता, शिक्षक आदि के माननीय होइनन्? यदि जनताको जीवन बचाउने डाक्टर, नयाँ खोज र आविष्कार गर्ने वैज्ञानिक, सत्य र तथ्यको खोज गर्ने अनुसन्धानकर्ता, अनि समाजलाई शिक्षित र सचेत बनाउने शिक्षक माननीय होइनन् भने केवल पद, सत्ता वा कुर्सीका आधारमा मात्रै कसैलाई “माननीय” किन भन्ने?

वास्तवमा “माननीय” शब्द केवल औपचारिक पदसँग जोडिएको उपाधि बन्नु हुँदैन। सम्मान त काम, चरित्रइमानदारी र जनताको जीवनमा पारिएको सकारात्मक प्रभावबाट कमाइने कुरा हो। पद ठूलो हुँदैमा व्यक्ति स्वतः महान हुँदैन। कुर्सी अग्लो हुँदैमा चेतना पनि अग्लिन्छ भन्ने कुनै ग्यारेन्टी छैन। जनताको बीचमा बसेर उनीहरूको पीडा बुझ्ने र समाधानका लागि काम गर्ने व्यक्ति नै साँचो अर्थमा सम्मानयोग्य हुन्छ।

विगतमा देशको सीमामा अवैध सामान ओसारपसार गर्ने, सार्वजनिक स्थलमै अशोभनीय व्यवहार गर्ने, दलाल र बिचौलियाको झोला बोकेर सत्ता वरिपरि घुम्ने, जातीय, भौगोलिक र लैङ्गिक विभेद फैलाउने व्यक्तिहरू पनि “माननीय” बनेका थिए। अब प्रश्न उठ्छ के केवल चुनाव जित्दैमा वा पदमा पुग्दैमा मानिस साँच्चै सम्मानयोग्य हुन्छ? माननिय हुन्छ?

हिजो आफ्नै नागरिक बेच्ने, भ्रष्टाचारमा चुर्लुम्म डुबेका, राजनीतिलाई जनसेवाभन्दा व्यक्तिगत पेशा र कमाइ खाने उद्योग बनाउने व्यक्तिहरूलाई पनि “माननीय” भनियो, मानियो र राज्यका उच्च स्थानमा पुर्‍याइयो। समाजले चरित्रभन्दा पदलाई ठूलो मान्न थाल्छ तब “माननीय” शब्दको नैतिक गरिमा स्वतः कमजोर हुन्छ। सम्मानको मापदण्ड शक्ति, पहुँच, झण्डा र गाडीको मूल्य र त्यसमा जडित सायरन बनाइयो।

तर यहाँ एउटा कुरा स्पष्ट बुझ्न आवश्यक छ- सबै सांसद वा जनप्रतिनिधिहरू एउटै प्रकृतिका छैनन्। राजनीति भित्र पनि अध्ययनशील, योग्य, इमानदार, शिष्ट र सेवाभाव भएका व्यक्तिहरू छन्, जसले आफ्नो जिम्मेवारीलाई साँचो अर्थमा जनसेवा ठानेका छन्। कतिपयले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितका लागि उल्लेखनीय योगदान पनि दिएका छन्। त्यसैले सबैलाई एउटै डालोमा हालेर आलोचना गर्नु अन्याय हुनेछ। समस्या सम्पूर्ण राजनीतिमा होइन राजनीति भित्र फैलिएको नैतिक पतनमा हो। “माननीय” शब्दको वास्तविक गरिमा जोगाउने हो भने पदभन्दा पहिले चरित्र, शक्तिभन्दा पहिले जिम्मेवारी र भाषणभन्दा पहिले आचरणलाई महत्व दिनुपर्छ।

र अन्त्यमा- जसको श्रमको पसिनाले यो भूमि सिञ्चित भएको छ, जसको ज्ञान र सीपले असंख्य जीवन धानेको छ, जसको बुद्धि, विवेक र इमानदार कर्मले समाज र देशलाई अघि बढाएको छ ती सबै माननीय हुन्। जनताको दुःख बोक्ने हातहरू, समाजलाई उज्यालो बनाउने मस्तिष्कहरू र इमानदारीपूर्वक आफ्नो कर्तव्य निभाउने हृदयहरू नै सबैभन्दा ठूलो “माननीय” हुन्। माननिय बनाउने मतदाताहरुनै सक्कली माननीय हुन।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x