नेपाली कम्युनिस्ट पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर
काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूको जिम्मेवारी हेरफेर गरिएको छ । यही वैशाख १४ गते बसेको संयोजन समितिको बैठकबाट प्रस्तावित जिम्मेवारीमा केही हेरफेर गरिएको नेता बेदुराम भुसालले जानकारी दिए ।
उनका अनुसार, पार्टी सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी भानुभक्त जोशीलाई दिइएको छ । सुदूरपश्चिम इन्चार्ज यसअघि नेता भीम रावललाई तोकिएको थियो । तर, रावलले आफू सुदूरपश्चिम इन्चार्जका रूपमा ‘फिट’ नभएको भन्दै जिम्मेवारी नलिने बताएपछि पार्टीले हेरफेर गरेको नेता भुसालको भनाइ छ ।
यस्तै, सुदूरपश्चिम सहइन्चार्जको जिम्मेवारी यसअघि नेत्री रञ्जिता श्रेष्ठलाई दिइएको थियो । हाल उनलाई कृषि तथा भूमि व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ ।
अनुगमन तथा मूल्यांगन विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठलाई चयन गरिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी प्रमेशकुमार हमालले पाएका छन् ।
राष्ट्रिय हित सुरक्षा विभाग प्रमुखमा कृष्णबहादुर महरालाई चयन गरिएको छ । संगठन विभाग प्रमुखमा वर्षमान पुन नियुक्त भएका छन् । प्रवास प्रदेश समन्वय समितिको जिम्मेवारी पम्फा भुसाललाई दिइएको छ ।
नीति अध्ययन अनुसन्धान प्रतिष्ठान प्रमुखमा राजेन्द्र श्रेष्ठ छानिएका छन् । स्थानीय तह विभाग प्रमुखको जिम्मेवारी अग्नि सापकोटाले पाएका छन् । श्रम तथा रोजगार विभागको नेतृत्व गरिमा शाहलाई दिइएको छ । शिक्षा विभाग प्रमुखमा गिरिराजमणि पोखरेललाई चयन गरिएको छ ।
डा. बेदुराम भुसाललाई पार्टी स्कुल विभाग प्रमुख बनाइएको छ । विना मगरले खानेपानी तथा सरसफाइ विभाग प्रमुखको जिम्मेवारी पाएकी छन् ।
पार्टी गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी देवेन्द्र पौडेललाई दिइएको छ । गण्डकीमा यसअघि शिवनाथ बराललाई इन्चार्जका रूपमा प्रस्ताव गरिएको थियो ।
नेताहरूको चाहनाअनुसार नभएर संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले प्राप्त सुझावानुसार निर्णय गरेका भुसालले बताए ।
नेकपाले विभाग, जनसंगठन, मोर्चा, प्रदेशलगायत विभिन्न ४८ जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको उनले जानकारी दिए ।


WRITE COMMENTS FOR THIS ARTICLE