काठमाडौँ महानगरमा कल्पना गर्न नसकिने विदेश चलखेल हुन्थ्यो:साह
दमक – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता तथा काठमाडौँ महानगरका निवर्तमान मेयर बालेन्द्र साहले काठमाडौँ महानगरमा आफू मेयर हुँदा विदेशी चलखेल तथा हस्तक्षेप रहने गरेको खुलाउनु भएको छ ।
राजधानीको मेयरमा प्रधानमन्त्रीभन्दा कम हैसियत नहुने जनाउँदै उहाँले यस्तो खुलाउनु भएको हो । झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार रहनु भएका साहले सोमबार बिहान झापाको दमकमा घरदैलो कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय समुदायको चलखेल महानगरमा धेरै नै रहेको दाबी गर्नुभयो ।
अन्तराष्ट्रिय चलखेलको विषयमा एक मतदाताले प्रश्न गरेपछि उहाँले त्यो आफूले भोगेको बताउनुभयो । कसरी र कसले चलखेल गर्यो भन्ने उहाँले खुलाउनु भएन ।
“काठमाडौँ महानगरमा अन्तराष्ट्रिय चलखेल कति भएको थियो त्यो तपाई कल्पना पनि गर्न सक्नुहुन्न,” साहले भन्नुभयो । फोहोर व्यवस्थापनमा समेत अन्तराष्ट्रिय चलखेल रहेको साहले बताउनुभयो ।
फोहोर व्यवस्थापनको विषयमा धेरै नै हस्तक्षेप भएको साहको भनाइ छ । त्यो समयको विषयमा धेरैलाई जानकारी भएको साह बताउनुहुन्छ ।
पछिल्लो समयमा अन्तराष्ट्रिय चलखेल बढेको र यो निर्वाचनमा पनि त्यो प्रभाव देखिएको भन्दै मतदाताले गुनासो गर्न थालेका छन् । रास्वपाले आफ्ना बरिष्ठ नेता साहलाई निर्वाचनपछिको प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE