देशभर मतपत्र छपाइ र ढुवानी प्रक्रियामा निर्वाचन आयोगकाे तीव्रता
काठमाडौ – आगामी प्रतिनिधिसभाका लागि देशभर मतपत्र छपाइ र ढुवानी प्रक्रियामा तीव्रता आएको छ ।
निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन शुरू गरेको छ भने अन्य प्रदेशका जिल्लामा पनि छपाइ र प्याकिङ व्यापक रूपमा जारी छ ।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतमा मतपत्र ढुवानी प्रक्रिया शुरू भइसकेको छ ।
हालसम्म देशभर ५८ जिल्लाका एक सय २४ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न भइसकेको छ, जसमा कुल एक करोड ५७ लाख ७८ हजार मतपत्र तयार पारिएको छ ।
पहिलो चरणमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भइसकेको छ र माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ तथा प्याकिङ गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ ।
हाल दैनिक करिब एक हजार बाकस मतपत्र प्याकिङ भइरहेको छ भने दिनहुँ १३-१५ लाख मतपत्र छपाइ भइरहेको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई करोड ३२ हजार मतपत्र छाप्ने प्रक्रिया माघ १६ गते बिहानदेखि शुरू भएको छ ।
निर्वाचन आयोगले मतपत्र छपाइ, प्याकिङ र ढुवानीमा उच्च प्राथमिकता दिँदै निर्वाचन तयारीमा कुनै पनि ढिलाइ नहोस् भनेर प्रक्रिया तीव्र बनाएको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE