शनिबार, फाल्गुन २, २०८२
Saturday, February 14, 2026

सानेपा प्रवेश गर्दै कांग्रेस सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति भोलि (शुक्रबार) पहिलो पटक औपचारिक रूपमा पार्टी केन्द्रीय कार्यालय सानेपा प्रवेश गर्ने भएको छ । पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा नयाँ नेतृत्व चयन भए पनि कार्यसमिति अहिलेसम्म केन्द्रीय कार्यालय जान सकेको थिएन ।

पार्टीभित्रको आन्तरिक किचलो र निवर्तमान नेतृत्वको असन्तुतिका कारण यसअघि बसेका दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्डका बैठकहरू पार्टी कार्यालय बाहिरका होटल तथा पार्टी प्यालेसहरूमा आयोजना गरिएका थिए । प्रवक्ता देवराज चालिसेका अनुसार भोलि सभापति थापाको नेतृत्वमा सिंगो टोली सानेपा जाने र त्यहीँ केन्द्रीय समितिको बैठक समेत बस्ने तयारी भएको छ । ‘हामी भोलि सभापतिज्यू सहित केन्द्रीय कार्यालय सानेपा जान्छौं ,’ प्रवक्ता चालिसेले भने , ‘सोही क्रममा कार्यालयमै केन्द्रीय समितिको बैठक पनि बस्नेछ ।’

प्रतिनिधि सभाको आसन्न निर्वाचनका लागि अधिकांश केन्द्रीय नेताहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा खटिएकाले भोलिको बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध रहेका सदस्यहरू मात्र सहभागी हुने उनले जानकारी दिए ।

शेरबहादुर देउवा नेतृत्वको निवर्तमान कार्यसमितिको विमति रहँदा-रहँदै सम्पन्न विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिइसकेको छ । आयोगको उक्त निर्णयविरुद्ध निवर्तमान सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर, सर्वोच्चले यस विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि थापा नेतृत्वको कार्यसमितिलाई काम गर्ने कानुनी बाटो खुला भएको हो ।

यसअघि देउवा पक्षधर नेपाल तरुण दलका नेता तथा कार्यकर्ताहरूले विरोध स्वरूप केही दिन केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका थिए । तर, पछिल्लो समय तरुण दलका अध्यक्ष विद्वान गुरूङले एक विज्ञप्ति जारी गर्दै सबै कार्यकर्तालाई चुनावी अभियानमा होमिन निर्देशन दिएसँगै उनीहरूले कार्यालय छाडिसकेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x