शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

सन् २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नुपर्छ -केपी शर्मा ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नुपर्ने बताउनुभएको छ । सन् २०२५ मा भत्किएको लोकतन्त्र र खण्डित गरिएको, मिचिएको संविधानलाई सन् २०२६ मा मजबुत बनाई उठाउनुपर्ने उहाँले बताउनुभयो ।

नयाँवर्ष सन् २०२६ का अवसरमा बिहीबार साँझ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले सन् २०२५ नेपाल र नेपालीका लागि दुःखद वर्ष भएको बताउनुभयो ।

नेपालमा लोकतन्त्र विस्थापनको ठुलो सिलसिला गम्भीर ढङ्गले सुरू गरिएको भन्नुहुँदै नेपाली जनताको सचेतनताका कारण प्रतिगमनकारीहरूले त्यो प्रयासलाई चाहेको ठाउँमा पुर्‍याउन भने नसकेको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयोे, ‘‘जननिर्वाचित सरकार ढल्नु भनेको देशमा लोकतन्त्र र संविधान ढल्नु हो, जनताको सार्वभौमसत्ता थिचिनु, मिचिनु र ढालिनु हो ।’’

वर्तमान सरकार असंवैधानिक भएको र संसद अनधिकृत व्यक्तिको सिफारिशमा विघटन गरिएको भन्नुहुँदै यो प्रधानमन्त्री परिवर्तनको कुरा मात्र नभई लोकतान्त्रिक प्रणाली र प्रक्रियामाथिको प्रहार भएको उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकिएको भए पनि अहिलेसम्म निर्वाचनको वातावरण नबनेको र सरकारले वातावरण बनाउने दिशामा काम गरिरहेको छैन भन्नुहुँदै अध्यक्ष ओलीले निर्वाचनका नाममा लोकतान्त्रिक प्रक्रिया दुरूपयोग गरेर लोकतन्त्र मास्ने प्रयास हुनसक्ने खतरा औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेताहरूविरूद्ध झुठा मुद्दा लगाउने, अशान्त वातावरण सिर्जना गर्ने, लुटिएका हतियार फिर्ता नहुने, जेलब्रेक गर्नेहरूलाई अगुवा बनाएर अगाडि बढ्न खोजियो, निर्वाचनमा बुथ कब्जा गर्न खोजियो र निर्भयपूर्वक मतदान भएन भने निर्वाचन लोकतन्त्र कमजोर बनाउने ‘ड्रामा’ मात्र हुने छ ।’’

निर्वाचनमा जन अभिमत स्वेच्छाले प्रकट हुन पाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले शान्तिपूर्ण वातावरणमा स्वच्छ निर्वाचन जहिले हुन्छ, नेकपा (एमाले) निर्वाचनमा सहभागी हुने र विजय हासिल गर्ने बताउनुभयो ।

निर्वाचन भइहाले त्यसका लागि तयार रहन निर्देशन दिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘‘आफ्नो सामर्थ्यलाई नतिजा निकाल्ने गरी लाग्नुपर्छ । निर्वाचनका लागि सबै तरिकाले तयार रहनूस् ।’’

तर अहिले देशलाई निकास दिने सबभन्दा सही बाटो ‘विघटन भएको प्रतिनिधि सभा पुनस्र्थापना’ हो भन्नुहुँदै अध्यक्ष ओलीले संसद पुनस्र्थापनापछि संसदबाट समाधान खोजिनुपर्ने पार्टीको धारणा रहेको बताउनुभयो ।

विगतमा संसद विघटनका मुद्दामा सर्वोच्चले दुई महिनामा फैसला दिने गरेको स्मरण गर्दै यो कसैको निजी विषय नभई राष्ट्रको विषय भएकाले समयमै फैसला आउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

गत भदौ २३ र २४ गतेका घटना स्मरण गर्दै अध्यक्ष ओलीले सन् २०२५ मा नेपालमा मानवजातीकै विरूद्ध नृशंस र दानवीय व्यवहार भएको बताउनुभयो । नेपालीपन, नेपाली मनसँग कहिँ पनि नमिल्ने घटना भएको र यो नेपालका लागि सबभन्दा धेरै असहज रहेको उहाँले बताउनुभयो ।

अहिले पनि आतङ्क र भय सिर्जना गर्ने, नेताहरूमाथि प्रतिशोध र पूर्वाग्रह साध्ने, चरित्र हत्या गर्ने सिलसिला चलिरहेको बताउँदै अध्यक्ष ओलीले प्रतिशोधको राजनीति लोकतन्त्र विरोधी र लोकतन्त्रलाई सिध्याउने कुरा भएको बताउनुभयो ।

लोकतन्त्रलाई ट्रयाकमा ल्याउने जिम्मेवारी नेकपा (एमाले)मा आएको र पार्टीले त्यो काम गरिरहेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले अन्य राजनीतिक दलहरूलाई  पनि लोकतन्त्रको पक्षमा आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभयो ।

देशमा सिर्जना गरिएको भय, आतङ्कलाई कम गर्न र शान्ति सुव्यवस्थाको अवस्था सिर्जना गर्न एमालेले सुरूदेखि नै प्रयास/पहल थालेको र त्रासदीपूर्ण अवस्थाबाट नेपाली समाज सामान्य अवस्थामा फर्कन शुरू भएको अध्यक्ष ओलीले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सबै जिल्ला, पालिका र वडावडामा गरी हजारौंको सङ्ख्यामा जुलुस र सभा गरी जनताको मनोबल उठाउने काम गरियो ।’’

अध्यक्ष ओलीले पार्टीको ११औं महाधिवेशन पनि असाधारण जनपरिचालनका साथै सिङ्गो पार्टी परिचालन गरेर सम्पन्न गरिएको र महाधिवेशनबाट पार्टीमा ताजापनका साथै राष्ट्रिय राजनीतिमा एउटा असाधारण र सकारात्मक परिस्थिति निर्माणको सन्देश दिन सफल भएको बताउनुभयो ।

पार्टीमा कतै गुटगत भावना होइन, पार्टी भावना, एकताको भावना, राष्ट्रका लागि समर्पित भावनाका साथ पार्टी एकताबद्ध भएर अगाडि बढ्ने उहाँले बताउनुभयो  ।

आफूले सधैँ पार्टीलाई एकताबद्ध बनाउन कोसिस गरेको र विगतमा लगभग दुईतिहाइको अवस्थामा सुदृढ पार्टी बनाएको स्मरण गर्दै अब पनि पार्टीमा यथोचित मिलाएर लैजाने प्रयास आफूबाट हुने अध्यक्ष ओलीले बताउनुभयो ।

नयाँवर्षमा देशका अगाडि गम्भीर चुनौतीहरू रहेको औँल्याउँदै  आफ्नो निर्णय आफैँ गर्ने सन्दर्भमा यतिबेला देश धेरै कमजोर अवस्थामा रहेको र देशको सार्वभौमसत्ता कमजोर बनाउन विभिन्नतिरका लगानी डरलाग्दोगरी प्रयोग भइरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘‘अहिले पनि असंवैधानिक काम भइरहेका छन् । विभिन्न प्रकारका तत्व जम्मा गरेर शक्ति निर्माण गर्न खोजिँदै छ । सर्वोच्चले थुनामा राखेर कारवाही गर्नु भनेका मान्छे जिल्ला र उच्च अदालतबाट छोड्ने काम भएको छ, छोड्ने वित्तिकै तमासा देखिँदै छ ।’’

२५० वर्षको अवधिमा नभएका विकासका काम विगत ३६ वर्षमा भएका र आधुनिकतासहितको विकासका साथै देश विकासशील राष्ट्रको लहरमा उक्लिँदै गरेको अवस्थामा ती असाधारण कामलाई ओझेलमा पारेर देशमा केही भएन भन्ने भाष्य खडा गरिएको र जनतालाई अल्मल्याउने प्रयास भएको बताउँदै अध्यक्ष ओलीले यस भ्रमबाट जनतालाई मुक्त गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।

उहाँले नेपाल विकासका दृष्टिले धेरै अगाडि बढेको अवस्थामा २०२५ मा असाधारण क्षति पुर्‍याइएको र अब २५ वर्ष प्रयास गर्दा बल्ल हिजोको ठाउँमा पुर्‍याउन सकिने गरी देशलाई पछाडि धकेलिएको बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x