बिहिबार, बैशाख १०, २०८३
Thursday, April 23, 2026

एआईमा आधारित शिक्षण विधिको अभ्यास

काठमाडौं- आर्टिफिसियल इन्टिलिजेन्स (एआई)ले हरेक क्षेत्रमा आमूल परिवर्तन ल्याउँदैछ। एआईले केही वर्षभित्रै शिक्षा क्षेत्रमासमेत युगान्तकारी परिवर्तन ल्याउने निश्चित छ। आजको युगमा हामी एउटा यस्तो मोडमा उभिएका छौँ, जहाँ प्रविधिले हाम्रा हरेक बानी परिवर्तन गरिसकेको छ, तर हाम्रो शिक्षा प्रणाली अझै पनि पुरातन ढाँचामै अल्झिएको छ। एउटै कोठामा ३०–४० जनाभन्दा बढी विद्यार्थी, एउटै पाठ्यपुस्तक र एउटै गतिमा पढाउने शिक्षक रहने ढाँचा अब असान्दर्भिक भइसकेको छ।

यसैबीच, अमेरिकाको टेक्सासस्थित अल्फा स्कुलले एउटा यस्तो उदाहरण प्रस्तुत गरेको छ, जसले शिक्षण सिकाइ प्रक्रियाको परिभाषा नै बदलिदिएको छ। अल्फा स्कुल सम्भवतः विश्वकै पहिलो यस्तो विद्यालय हो, जहाँ शिक्षक छैनन्। सो स्कुलको कक्षा कोठामा छिर्दा तपाईंले कुनै शिक्षकले बोर्डमा लेखेर पढाइरहेको देख्नुहुने छैन। बरु, विद्यार्थीहरू हेडफोन लगाएर एआई ट्युटरसँग संवाद गरिरहेका देखिन्छन्।

यस स्कुलको सबैभन्दा ठूलो विशेषता भनेको दिनमा दुई घण्टा मात्र पढाइ हुनु हो। सुन्दा पत्याउन गाहे लाग्छ तर त्यहाँका विद्यार्थीले दिनको मात्र दुई घण्टा पढेर बाँकी समय अन्य सिर्जनशील जीवनोपयोगी काममा बिताउँछन्। नतिजा भने अन्य परम्परागत विद्यालयको तुलनामा १० गुणा राम्रो र राष्ट्रियस्तरको शीर्ष एक-दुई प्रतिशतमा रहने गरेको छ।

परम्परागत विद्यालयमा एउटा कक्षाको पूरा पाठ्यक्रम सक्न एक वर्ष लाग्छ। तर अल्फा स्कुलमा विद्यार्थीले मात्र २२ देखि ३० घण्टाको अध्ययनमा एउटा सिङ्गो कक्षाको पाठ्यक्रम पूरा गर्छन्। यो कसरी सम्भव छ भन्ने कुरा निम्न तथ्यहरुबाट प्रष्ट हुन्छ।

निजीकृत पाठ्यक्रमः त्यहाँ एउटै कक्षाका सबै विद्यार्थीका लागि एउटै पाठ्यक्रम र पाठ्यपुस्तक हुँदैन। एआईले प्रत्येक विद्यार्थीको क्षमता, कमजोरी र रुचिको विश्लेषण गर्छ र सोही अनुसारको फरक–फरक पाठ्य सामग्री विकास गर्छ। यदि कुनै विद्यार्थीलाई फुटबल मन पर्छ भने एआईले गणितका समस्या फुटबलकै तथ्याङ्क प्रयोग गरेर सिकाउँछ। यसले सिकाइलाई ’बोझ’ होइन, ‘मनोरञ्जन’ बनाउँछ।

नब्बे प्रतिशतको मापदण्डः कुनै पनि विद्यार्थीले एउटा पाठको कम्तीमा ९० प्रतिशत नबुझी अर्को पाठमा जानै पाउँदैन। परम्परागत विद्यालयमा कुन विद्यार्थीले कति बुझेका छन् भन्ने मापन गरिँदैन। तर अल्फामा औसत विद्यार्थीले पनि कम्तीमा ९० प्रतिशत पाठ नबुझी अर्को पाठमा जानै मिल्दैन। यसले गर्दा औसत विद्यार्थी पनि उत्कृष्ठ बन्छन्।

तत्काल प्रतिक्रियाः गल्ती हुने वित्तिकै एआईले तुरुन्त सच्याउँछ। शिक्षकले हप्ता दिनपछि कापी जाँचेर गल्ती औँल्याउने समयसम्म विद्यार्थीले त्यो विषय बिर्सिसकेको हुन्छ। तर अल्फामा एआईको तत्काल प्रतिक्रियाले सिकाइको गति १० गुणा बढाउने गरेको छ।

घोकाउने होइन, बुझाउनेः हाम्रा विद्यालयमा विद्यार्थीलाई घोकाउने चलन छ। यतिसम्मकी विद्यालयमा शिक्षकले घोकाएको भन्दा तलमाथि गर्न समेत विद्यार्थी मान्दैनन्। घोकेको कुरा चाँडै बिर्सने हुन्छ, तर अल्फामा घोकाउने हुने बुझाउने गरिन्छ। त्यसका लागि निश्चित समयमा एउटै विषय दोहोर्‍याइन्छ।

बिदाभन्दा प्यारो विद्यालयः अल्फा स्कूलको अर्को सफलता भनेको विद्यार्थीको मनोविज्ञानमा ल्याएको परिवर्तन हो। त्यहाँका विद्यार्थीलाई आज घरै बस, स्कुल नजाउ भन्दा उनीहरू मान्दैनन् किनभने उनीहरूका लागि स्कुल रमाउने ठाउँ हो। खोजको केन्द्र हो।

स्वभाविक रुपमा प्रश्न उठछ दुई घण्टा एआईसँग पढ्छन्। त्यसबाहेकको समय चाहीँ के गर्छन त? एआई स्कुलमा त्यसबाहेकको समय विद्यार्थीले जीवन सिक्छन्। आफनो रुची र क्षमता अनुसारको जीवनोपयोगी सीप सिकिरहेका हुन्छन्। उनीहरु फुटबल, भलिबल, पौडी खेल्छन्। साना कक्षामा विद्यार्थी साइकल चलाउन सिक्छन्। कोडिङ सिकिरहेका देखिन्छन्। उनीहरुले दुई घण्टा बाहेकका समयमा उद्यमशीलता र पैसाको व्यवस्थापनका बारेमा सिक्छन्। उनीहरुलाई तीन कक्षादेखि नै वित्तीय साक्षरता र पाँच कक्षामा पुग्दा व्यवसाय कसरी चलाउने भन्ने ज्ञान सिकाइन्छ।

त्यस्तै सानैदेखि सार्वजनिक भाषणकलामा जोड दिइएको हुन्छ। २ कक्षादेखि नै निर्धक्क बोल्ने कला सिकिरहेका देखिन्छन्। ५ कक्षा उत्तीर्ण विद्यार्थीलाई टिमवर्कको महत्वका बारेमा सिकाइन्छ। विभिन्न ब्यवसायलाई कसरी उच्चतम् स्तरसम्म पुर्‍याउन सकिन्छ भन्ने ज्ञान उनीहरुले पाइसकेका हुन्छन्। स्कुल तह पार गर्दा प्रत्येक विद्यार्थीसँग आफ्नो जीवनको लक्ष्य र त्यहाँ पुग्ने स्पष्ट मार्गचित्र बोकेर जीवनको नयाँ उडान भर्न तयार भएर निस्कने गर्दछन्।

नेपालको शिक्षा प्रणालीमा सुधारका लागि सुझावहरू
नेपालको सन्दर्भमा हामीले तुरुन्तै अल्फा स्कुलकै जस्तो महँगो भौतिक पूर्वाधार बनाउन नसके पनि यसले सिकाएको पाठलाई आत्मसाथ गरेर शिक्षामा परिवर्तनको सुरुआत गर्न सक्छौँ। ढिलो,चाँडो हामीले शिक्षामा एआई प्रयोग नगरी सुखै छैन। एआई साक्षर बनाउन सानै कक्षादेखि एआई पढाउन ढिलो गर्नुहुँदैन। अबको शिक्षा ‘के सोच्ने’ भन्नेमा होइन, ‘कसरी सोच्ने’ भन्नेमा केन्द्रित हुनुपर्छ। एआई त्यसको सबैभन्दा शक्तिशाली हतियार हो। नेपालले अब ढिलो नगरी यो हतियारको सही सदुपयोग गर्नुपर्छ। हाम्रो शिक्षा प्रणालीमा परिवर्तन ल्याउन निम्न कुरामा जोड दिनुपर्ने देखिन्छ।

शिक्षकको भूमिकामा परिवर्तनः शिक्षकको भूमिका परिवर्तन गरी ‘मेन्टर’ वा ‘गाइड’ मा बदल्नुपर्छ। पाठ्यपुस्तकको ज्ञान दिन एआई र प्रविधिको प्रयोग गर्ने र शिक्षकले विद्यार्थीको अनुशासन, चरित्र निर्माण र प्रेरणामा ध्यान दिने वातावरण बनाउनुपर्छ।

‘वान साइज फिट्स अल’ पाठ्यक्रमको अन्त्य: नेपालको पाठ्यक्रम अत्यन्तै केन्द्रिकृत र बोझिलो छ। हामीले एआई आधारित सफ्टवेयर प्रयोग गरेर विद्यार्थीको रुचि अनुसारको सिकाइ सुरु गर्नुपर्छ। जुम्लाको विद्यार्थी र काठमाडौँको विद्यार्थीको परिवेश फरक छ। त्यसैले उनीहरूको उदाहरण र सिकाइको शैली पनि फरक हुनुपर्छ।

सीपमा आधारित शिक्षः हाम्रो शिक्षा प्रणालीले प्रमाणपत्रधारी तर बेरोजगार जनशक्ति उत्पादन गरिरहेको छ। एआईमा आधारित अल्फा स्कुलबाट सिकेर हामीले कम्तीमा ५० प्रतिशत सीप सिकाउनुपर्छ। एआई, कृषिको आधुनिक प्रविधि, वित्तीय साक्षरता र कोडिङ जस्ता विषयलाई विद्यालय तहदेखि नै अनिवार्य गर्नुपर्छ।

‘डिजिटल डिभाइड’ कम गर्न एआई ट्याब्लेट: नेपालका दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षक पुग्न गाह्रो छ। तर यदि हामीले ‘अफलाइन एआई ट्युटर’ भएका ट्याब्लेट वितरण गर्न सक्यौँ भने हुम्लाको एउटा बच्चाले पनि काठमाडौँको भन्दा उत्कृष्ट शिक्षा पाउन सक्छ। यसले शिक्षामा रहेको असमानता हटाउनेछ।

मूल्याङ्कन पद्धतिको पुनरावलोकन: वर्षको अन्त्यमा लिइने तीन घण्टाको परीक्षाले विद्यार्थीको वास्तविक क्षमता मापन गर्दैन। हामीले ‘कन्टिन्युअस एसेसमेन्ट’ र एआई आधारित ट्याकिङ सुरु गर्नुपर्छ, जहाँ विद्यार्थीले कति घण्टा र कति दिन स्कुलमा बितायो भन्दा पनि कति ज्ञान हासिल गर्‍यो भन्ने कुराले महत्व पाउनुपर्छ।
चुनौती र भविष्य

एआई स्कुलको अवधारणा सुन्दा जति आकर्षक छ, यसका चुनौती पनि त्यति नै छन्। स्क्रिन टाइमको व्यवस्थापन, मानवीय संवेदनाको कमी हुन नदिने र प्रविधिमा सबैको पहुँच पुर्‍याउनु ठूलो चुनौती हो। तर, परम्परागत शिक्षा प्रणाली असफल जस्तै भइसकेको अवस्थामा यो जोखिम लिनुको विकल्प छैन। अल्फा स्कुलले प्रमाणित गरिदिएको छ कि शिक्षाको उद्देश्य ‘धेरै पढाउनु’ होइन, ‘राम्रोसँग सिकाउनु’ हो। एआईले शिक्षाको पहुँचलाई लोकतान्त्रिक बनाउँदैछ। नेपालले समयमै यो प्रविधिलाई अङ्गीकार गर्न सक्यो भने हाम्रा बालबालिका विश्व बजारमा कसैभन्दा कम हुने छैनन्।   -लीलाराज भट्टराई (रासस)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x