पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय
काठमाडौं – बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकी छन् । त्यहाँको एक अदालतले सोमबार हसिनालाई मानवअधिकार विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ ।
प्रदर्शन दबाउन तथा आन्दोलनकारीलाई खोज्न तथा पहिचान गर्न तत्कालीन प्रधानमन्त्री हसिनाले सुरक्षा निकायलाई ड्रोन प्रयोग गर्न अनुमति दिएको, प्रदर्शनकारी भेला भएको स्थानमा हेलिकोप्टरबाट बम खसाल्न अनुमति दिएकोसमेत इजलासले ठहर गरेको छ ।
गत वर्ष विद्यार्थी नेतृत्वमा भएको विद्रोहमाथि उनले घातक दमनकारी कारबाही गर्न आदेश दिएकी थिइन् । सो आरोपमा महिनौँसम्म चलेको मुद्दाको फैसला सोमबार सुनाइएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
इन्टरनेसनल क्राइम ट्रिब्यूनलले हसिनामाथि लागेका मानवता विरुद्धको अपराधका ५ आरोपहरूमाथि सुनुवाइ गर्दै फैसला सुनाएको हो । यसमा हत्या, अपराध रोक्न नसक्नु र मानवता विरुद्धको अपराध सबैभन्दा महत्त्वपूर्ण छन् ।
हसिनाको फैसलालाई लिएर देशभर हिंसा जारी छ । सरकारले उच्च सतर्कता (हाई अलर्ट) को घोषणा गरेको छ । ढाकामा १५,००० प्रहरी परिचालन गरिएको छ । उनीहरूलाई हिंसात्मक प्रदर्शनकारीहरूमाथि गोली चलाउने आदेश दिइएको छ । फैसलापछि हिंसा अझ बढ्ने आशंकालाई ध्यानमा राख्दै देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE