शुक्रबार, कार्तिक २१, २०८२
Friday, November 7, 2025

माम्दानी निर्वाचित भएपछि क्वीन्समा आइसको गतिविधि बढेको भन्दै नेपाली समुदायमा त्रास

न्युयोर्क  – न्युयोर्क सिटीको मेयरमा माम्दानी निर्वाचित भएपछि क्वीन्सका विभिन्न क्षेत्रमा आइसको गतिविधि बढेको भन्दै नेपाली समुदायमा त्रास फैलिएको छ । क्वीन्सका ज्याक्सनहाइट क्षेत्रमा आइसको गतिविधि बढेको भन्दै नेपाली समुदायमा त्रास फैलिएको छ । सामाजिक सञ्जालका विभिन्न च्यानलहरुमा नेपालीमाझ त्यस्ता सन्देशहरु प्रवाह भइरहेका छन् । आइस आफैले भने क्वीन्समा गतिविधि बढाएकोबारे कुनै सार्वजनिक पुष्टी गरेको छैन । ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजा क्षेत्रमा आइस देखिएको बताइएपनि त्यहाँ व्यवसाय गरिरहेका एक नेपालीले भने आफू विहानैदेखि उक्त क्षेत्रमा भएपनि आइसको गतिविधि नदेखेको बताएका छन् ।

न्युयोर्क सिटीको मेयरमा जोहरान माम्दानीको विजयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय शक्तिको प्रयोग गरेर न्युयोर्क शहरलाई सजाय दिनसक्ने आशंका बढेको छ । हालै न्युयोर्क सिटीको चाइनाटाउनमा भएको आइसको कारवाहीपछि यो त्रास र आशंका अझै बढेको छ । जसले सामाजिक सञ्जालमा चिन्ताका सन्देशहरू देखिएका हुन् । न्युयोर्कका एकजना नेपाली व्यवसायीले पनि आइसको गतिविधि बढ्नसक्नेबारे चिन्ता व्यक्त गरेका छन् । उनले ट्म्पको चेतावनीका कारण आइसको गतिविधि बढ्नसक्ने भएकाले आफूहरु चिन्तित भएको बताएका हुन् ।

राष्ट्रिय राजनीतिको तनाव, माम्दानीको नीति र नेपाली डायस्पोराको स्थानीय अवस्थासँग जोडिएको छ । आफ्नो चुनावी अभियानका क्रममा माम्दानीले खसोखाससँग कुराकानीमा संघीय अध्यागमन कानुन कार्यान्वयनको कडा निन्दा गर्दै शहरको आप्रवासी समुदायलाई आइसको छापाबाट बचाउने र न्यूयोर्कको आश्रय शहरको स्थिति कायम राख्ने वाचा गरेका थिए ।

मामदानीले आफूलाई आप्रवासी अधिकारका एक दृढ रक्षक को रूपमा प्रस्तुत गरेका थिए । देशभरि आइसले मानिसहरूलाई गरेको व्यवहार देखेका न्यूयोर्कवासीहरू डरमा बाँचिरहेका तथा प्राय आफ्नो घरबाट बाहिर निस्कन पनि डराउने माम्दानीले उल्लेख गरेका थिए । उनले निर्वाचित भएपनि डोनाल्ड ट्रम्पसँग सहकार्य गर्न वा समन्वय गर्न खोज्ने नभई यस शहरका जनताको पक्षमा उभिने मेयर वाचा गरेका थिए ।

न्यूयोर्क शहरको पहिलो आप्रवासी मेयर बनेका मामदानीले चुनावी अभियानका क्रममा आफू आफ्नो आश्रय शहरको स्थितिमा गर्व गर्ने र ती आप्रवासीहरूको रक्षा गर्न तयार मेयर बन्ने प्रतिबद्धता जनाएका थिए । उनको सन्देश खासगरी नेपाली लगायत आप्रवासी समुदायहरूमा कार्यस्थल र अन्य संवेदनशील स्थानहरूमा आइसको छापाहरू बारे रहेका चिन्ताहरूको जवाफ थियो।

अमेरिकाको अध्यागमन अदालतबाट देशनिकालाको आदेश पाएकामध्ये झण्डै ४० प्रतिशत नेपालीहरु न्युयोर्कका बासिन्दाहरु रहेका छन् । अर्थात् अध्यागमन अदालतमा उनीहरुलाई देशनिकालाको फैसला हुँदा उनीहरुको ठेगाना न्युयोर्कमा रहेको थियो । देशनिकालाको आदेश पाएका झण्डै ३५ सय मध्ये झण्डै १४ सय जना न्युयोर्कका बासिन्दा रहेको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकले देखाएको छ । यो तथ्यांक विगत २० बर्षको हो ।

उनीहरुमध्ये झण्डै ३ हजार नेपालीहरु अहिलेपनि अमेरिकाभित्रै रहेको तथ्यांकले देखाएको छ । तीमध्ये १५ सयलाई टीपीएसले संरक्षण प्रदान गरेको थियो तर उनीहरुको पनि अहिले टीपीएस समाप्त भइसकेको छ । त्यो बाहेक अरु १४ सय पनि देशनिकालाको आदेशपछि अमेरिकामा नै लुकिछिपी बसेको तथ्यांकले देखाएको छ । हालै आइसले सार्वजनिक गरेको तथ्यांक अनुशार १३५६ जना नेपालीहरु देशनिकालाको आदेशपछि पनि टीपीएस लगायत विना कुनै संरक्षण अमेरिकामा नै बसिरहेका थिए । अर्थात् उनीहरु सन् २०१५ को जुनपछि देशनिकालाको आदेश पाउनेहरु भएको देखिएको छ । उनीहरु अहिले आइसले पक्राउ गरेर देशनिकालाको उच्च जोखिममा रहेकाहरु हुन् ।

देशनिकालाको आदेश पाएकाहरुमा झण्डै ५ सय जना क्यालिफोर्निया निवासी र झण्डै साढे ३ सय जना टेक्सास निवासी रहेको तथ्यांकले देखाएको छ । मेरिल्याण्ड निवासी झण्डै २ सय र जर्जिया निवासी झण्डै डेढसयजना रहेका छन् । देशनिकालाको आदेश पाएका झण्डै ३५ सय जनामा झण्डै २२ सय जनालाई कहिलेपनि हिराशतमा लिइएको थिएन भने झण्डै ८ सय जनालाई रिहा गरिएको थियो । झण्डै साढे ५ सय जनालाई पनि हिराशतमा राखिएका बेलामा देशनिकालाको आदेश भएकाले उनीहरु प्राय नेपाल फिर्ता भइसकेका छन् ।

देशनिकालको आदेश पाएकामध्ये झण्डै २३ सयले वकिल राखेका थिए भने झण्डै १२ सयले कुनै वकिल राखेका थिएनन् । देशनिकालको आदेश पाउनेहरु अदालती सुनुवाईको क्रममा उल्लेखित राज्यहरुमा रहेपनि त्यसपछि उनीहरु कुन राज्यमा छन् भन्नेबारे कुनै यकिन तथ्यांक सार्वजनिक भएको छैन । देशनिकालाको आदेश पाउने नेपाली सबैभन्दा धेरै सन् २०१९ मा थिए । उक्तबर्ष झण्डै साढे ३ सय नेपालीले देशनिकालको आदेश पाएकोमा १२१ जना न्युयोर्कमा ठेगाना भएकाहरु थिए ।

बाइडेनकालका ४ बर्षमा झण्डै ६ सय नेपालीहरुले देशनिकालाको आदेश पाएकोमा अघिल्लो ट्रम्प प्रशासनका ४ बर्षमा झण्डै ९ सय नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x