शनिबार, कार्तिक २२, २०८२
Saturday, November 8, 2025

नेकपा (एस)मा आन्तरिक राजनीति किचलो सतहमा, अडान नछाडे पार्टी विभाजन हुने संकेत

काठमाडाैं – नेकपा एकीकृत समाजवादी (एस)को आन्तरिक राजनीतिमा किचलो बढ्न थालेको छ । जारी केन्द्रीय कमिटीको बैठकले एसलाई विभाजित बनाउने संकेत पनि देखिएको छ । खासगरी, अध्यक्ष माधवकुमार नेपाल र इतर समूहबीच बढ्दो दूरी बैठकमा देखिन थालेको छ । अध्यक्ष नेपाल र इतर समूहबीच नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने वा नगर्ने भन्नेमा विवाद बढेको हो ।

अध्यक्ष नेपाल समूह माओवादीसँग एकता गर्ने अन्तिम तयारीमा रहेका छन् । त्यही प्रस्ताव केन्द्रीय कमिटीमा प्रस्ताव गरेका छन् । उक्त प्रस्तावमाथि छलफल भने भइरहेको छ । त्यही छलफलका क्रममा आज महासचिव घनश्याम भुसाल खुलेर विरोधमा देखिएका छन् । उनले पार्टी एकताको विरोध मात्रै गरेनन्, नेतृत्वले विश्राम लिनुपर्ने पनि बताएका छन् ।

उनले पार्टी एकता गर्ने भए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले विश्राम लिनुपर्ने प्रस्ताव गरेका छन् । पार्टीको नाम, झन्डा र चुनावचिन्ह मिल्दैमा एकतामा जोड गर्न नहुने तर्क गरिरहेका छन् । अनि, आफ्नो पद संकटमा पर्‍यो भन्ने नाममा पनि एकता गर्न नहुने उनको तर्क रहेको छ ।

उनले एमाले र माओवादी केन्द्रको एकताको सन्दर्भमा पनि त्यही कुरा उठाएका थिए । त्यतिबेला पनि प्राविधिक एकता गर्न नहुने पक्षमा रहेका थिए । अहिले पनि एकताको विपक्षमा उभिएका भुसालले माधव नेपाल र प्रचण्डलाई फरक भूमिकामा जान आग्रह गरेका हुन् ।

उनले आजको बैठकमा भनेका पनि छन्, ‘माधवजी, प्रचण्डजी फरक भूमिकामा जानुस् । कार्यकर्ताले त मानेका हौँ । तपाईंहरूको लामो कार्यकारी भूमिका जनताले मानेनन्, अब आदेशले समाज चल्दैन, सोचेर सैद्धान्तिक वैचारिक एकता गरौँ । नाम मिल्यो, झण्डा मिल्यो भनेर प्राविधिक एकता नगरौँ । यो अपमानपूर्ण हुन्छ ।’

त्यही धारणामा रहेका छन् झलनाथ खनाल । उनले पनि एमालेसँग विभाजनको औचित्य पुष्टि गर्न नसकेको बेलामा एकताको नाममा पार्टी बिसर्जन गर्न नहुने तर्क गरिरहेका छन् ।

इतर समूह जहाँ सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेतृ रामकुमारी झाँक्रीलगायत देखिएका छन् । यो समूह एकताको विपक्षमा उभिएको । र, विपक्षमा उभिँदा एसभित्रको समीकरण पनि फेरबदल भएको छ । अध्यक्ष नेपाललाई जिम्मेवारीबाट हट्न झाँक्री गत असारमै भनेकी थिइन् । पतञ्जलि जग्गा प्रकरणको भ्रष्टाचारमा मुछिएपछि अध्यक्षबाट राजीनमा दिन भनेकी थिइन् ।

उनले युवा संघको कार्यक्रममा सिनोलाई बोकेर हिँड्न नसक्ने नै भनेकी थिइन् । अध्यक्ष नेपाल पक्ष भने कारबाही गर्नुपर्ने पक्षमा उभिएको मात्र थिएन, पार्टीबाट निष्कासन गर्ने लाइनमा थिए । जेन–जी आन्दोलन नचर्किएको भए २३ भदौमा झाँक्रीलाई कारबाही गरेर तयारी भएको थियो । तर, आन्दोलनले एसको बैठक सरेको थियो । त्यसैले, झाँक्रीको कारबाही रोकियो र अहिले केन्द्रीय कमिटीमा उनी अध्यक्ष नेपाल र उनको समूहको निर्णयमा खरो प्रतिवाद गरिरहेकी छिन् ।

मुख्यगरी, पार्टी एकताको विपक्षमा खुलेकी झाँक्री अध्यक्षबाट नेपालले राजीनामा दिनुपर्ने लाइनमा उभिएकी छिन् । जेन–जी आन्दोलनको माग मात्र होइन, कार्यकर्ताको चाहना नै नेपालको विश्राम रहेको उनको भनाइ छ ।

एसभित्र पछिल्ला दिनमा देखिएको रस्साकस्सी हेर्दा एस विभाजित अवस्थामा एकता हुने सम्भावना देखिएको छ । अध्यक्ष नेपालसहित एउटा समूह माओवादी केन्द्रसँग एकता गर्ने र अर्को समूह पार्टीलाई निरन्तरता दिने पक्षमा रहेको छ ।

स्रोतका अनुसार त्यस्तो अवस्थामा एसले निरन्तरता पाउने र अध्यक्षमा घनश्याम भुसाल हुन सक्ने पनि देखिएको छ । एस स्रोतले उल्लेख गरेअनुसार खनाल पनि भुसाललाई अध्यक्ष मानेर एसलाई निरन्तरता दिने पक्षमा रहेका छन् ।

पार्टी विभाजन हुने अवस्थामा रहेको पार्टीका सम्मानित नेता झलनाथ खनालले बताएका छन् । उनले पार्टी अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता गर्ने अडान नछाडे पार्टी विभाजन हुने बताए ।

यही पार्टीमा रामकुमारी झाँक्री पनि अटाउने सम्भावना रहेको छ । उनी माओवादीसँग एकतामा जाने सम्भावना कम रहेको र तत्काल एमालेमा पनि गइहाल्ने अवस्था छैन । त्यसो त, एमालेले एसका कार्यकर्तालाई एमालेको पार्टी सदस्यता नवीकरण गर्न आह्वान पनि गरेको छ ।

पार्टी अध्यक्ष माधव नेपाल पार्टी विभाजन गरेर माओवादीसँग एकता गर्न जाने र आफूसहितका अन्य असहमत नेताहरुले अलग्गै पार्टी बनाउने अवस्था आउन सक्ने बताए ।

खनालले पार्टीको नेतृत्व असफल भएको र आफ्नो असफलतालाई लुकाउने अध्यक्ष नेपालले पार्टी एकता गर्न खोजेको दाबी गरे । उनले पार्टी अध्यक्ष नेपालले माओवादीसँग एकता गरेर आफ्नो व्यक्तिगत ‘संरक्षण’ खोजेको आरोप समेत लगाए ।

झाँक्री अध्यक्ष ओलीको विकल्प हुनुपर्ने पक्षमा रहेका कारणले पनि झाँक्री तत्काल एमालेमा जाने सम्भावना रहेको छैन । त्यसरी हेर्दा एसका युवा पङ्क्तिको रुपमा चिनिएका अनुहारहरू माओवादी केन्द्रमा नजाने र एसलाई निरन्तरता दिने पक्षमा खुल्ने सम्भावना रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x