शनि ग्रहले ज्योतिषमा कर्मको कारक र वास्तुशास्त्रमा विभिन्न वस्तुहरूको प्रतिनिधित्व गर्छ

आज शनिबारको दिन । यो दिन शनिदेवसँग सम्बन्धित र समर्पित छ । शनिदेवलाई न्यायका देवता र कर्मफलदाताका रूपमा लिइन्छ । ज्योतिषीय दृष्टिकोणले हेर्दा शनि ग्रहलाई शनिश्चर भनिन्छ र यसलाई दुःख, कष्ट, सङ्घर्ष, त्याग, धैर्य र अनुशासनको कारक मानिन्छ । मानिसहरू शनि ग्रहले केवल नकारात्मक परिणाम मात्र दिन्छ भन्ने गरेको पाइन्छ, वास्तवमा शनिले कर्मको उचित फल प्रदान गर्छन् भन्ने शास्त्रीय मान्यता छ । यस ग्रहले ज्योतिषमा कर्मको कारक र वास्तुशास्त्रमा विभिन्न वस्तुहरूको प्रतिनिधित्व गर्छ ।
तपाईंको कुण्डलीमा शनि कमजोर वा पीडित छ भने त्यसको प्रभाव जीवनमा नकारात्मक हुन सक्छ । यस्तो अवस्थामा अनेकौँ कष्ट, असफलता, स्वास्थ्य समस्या र आर्थिक अभावको सामना गर्नुपर्ने हुन सक्छ । जन्मकालीन शनि सकारात्मक छ भने सकारात्मक परिणाम दिन्छ । साढेसाती र अढैयाजस्ता शनिका दशाकालमा मानिसको धैर्य र सहनशीलताको ठुलो परीक्षा हुने गर्छ । यस समयमा व्यक्तिलाई मानसिक तनाव, निराशा र एक्लोपनको अनुभूति हुन सक्छ ।
वैदिक साहित्य र शास्त्रहरूले वास्तु र ग्रहहरूको महत्त्वलाई विशेष रूपमा व्याख्या गरेका छन् । अथर्ववेदमा वास्तु र भवन निर्माणका नियमहरूको चर्चा गरिएको छ, जहाँ दिशाहरूको महत्त्वलाई विशेष स्थान दिइएको पाइन्छ । शनिलाई कर्मफलदाता मान्नुको पछाडि गहिरो दार्शनिक आधार छ । वैदिक मान्यता अनुसार प्रत्येक व्यक्तिले आफ्नो कर्मको फल भोग्नैपर्छ । शनिले कर्मफलको न्यायपूर्ण वितरण गर्ने भएकाले ज्योतिषीय या वास्तुशास्त्रीय विधिबाट शनिदेवलाई सकारात्मक बनाउनु आवश्यक हुन्छ ।
वास्तुशास्त्र अनुसार घरको पश्चिम दिशाको अवस्थाले शनिको शुभ र अशुभ प्रभावलाई निर्धारित गर्छ । पश्चिम दिशामा कुनै दोष छ भने शनिदेवको नकारात्मक प्रभाव बढ्न सक्छ । यसले घरका सदस्यहरूमा आलस्य, निराशा, स्वास्थ्य समस्या र काममा बाधा उत्पन्न गर्न सक्छ । त्यसैले घर या भवन निर्माण गर्दा पश्चिम दिशाको वास्तुदोष हुन नदिन सचेत रहनुपर्छ ।
घरको पश्चिम दिशामा फोहोर थुप्रिएको वा अस्तव्यस्त भएको अवस्थामा शनि कमजोर हुन्छ । यस दिशालाई सधैँ सफा र खुला राख्दा वास्तुदोष र कमजोर शनि सकारात्मक बन्न सक्छ । शौचालय र सेप्टिक ट्याङ्कका लागि पश्चिम दिशा उपयुक्त मानिन्छ । यसले शनिको नकारात्मक ऊर्जालाई बाहिर निकाल्न मद्दत गर्छ भन्ने वास्तुशास्त्रीय मान्यता छ ।
स्थिरता र सफलताका लागि पश्चिम दिशामा ठुला र भारी फर्निचर वा सामान राख्नु शुभ मानिन्छ भने यस दिशामा गाढा निलो वा कालो रङ प्रयोग गर्नु राम्रो हुन्छ । यी रङको प्रयोगले शनिलाई सन्तुलित गर्न मद्दत मिल्छ ।
हाम्रो वरपरको वातावरणले हाम्रो मनस्थिति, व्यवहार र सोचाइमा प्रत्यक्ष प्रभाव पार्छ । घरको पश्चिम दिशामा फोहोर वा अस्तव्यस्तता छ भने यसले व्यक्तिमा आलस्य, उदासी र निराशाको भावना बढाउँछ । यसको सीधा सम्बन्ध शनिको नकारात्मक प्रभावसँग जोडिन्छ । घरको वातावरण व्यवस्थित हुन्छ भने मन पनि शान्त र स्थिर रहन्छ र धैर्य र अनुशासनलाई बढाउँछ ।
शनि ग्रहलाई डरको प्रतीकका रूपमा नभई अनुशासन, धैर्य र कर्मको मार्गमा हिँड्न प्रेरित गर्ने शक्तिको रूपमा बुझ्न आवश्यक छ । वास्तुका नियमहरू पालना गरेर हामी शनिदेवको कृपा प्राप्त गर्न सक्छौँ; सुखी र सफल जीवन बिताउन सक्छौँ । त्यसैले वास्तु र ज्योतिषीय रूपमा शनि ग्रहलाई बलवान् बनाउनुपर्छ । शनिबार पिपलको दर्शन, हनुमान चालिसा पाठ, घरको पश्चिम दिशाको वास्तुदोष निवारणजस्ता पहलबाट शनिदेवलाई बल दिन र सकारात्मक प्रभाव लिन सकिन्छ । अस्तु ।
(लेखक वास्तु विज्ञानका सञ्चालक एवं दक्षिण एसियाली ज्योतिष महासङ्घका महासचिव हुन् ।)
WRITE COMMENTS FOR THIS ARTICLE