बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आउँदाे दशकलाई सूचना प्रविधिको दशकका रूपमा अगाडि बढाइने

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आउँदाे दशकलाई सूचना प्रविधिको दशकका रूपमा अगाडि बढाइने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा विकसित नवीनतम प्रविधिहरूको अधिकतम उपयोग गर्नेगरी कार्यक्रम तर्जुमा गरिएको उल्लेख गर्नुभयो ।

सूचना प्रविधिका क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्दै निर्यातयोग्य उद्योगका रूपमा विकास गर्ने, रोजगारी र स्वरोजगारीका अवसर सिर्जना तथा सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको अधिकतम उपयोग गर्ने सरकारको लक्ष्य छ, उहाँले भन्नुभयो ।

मन्त्री गुरुङले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता एवम् प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले सूचना प्रविधिमार्फत आर्थिक सामाजिक रूपान्तरण एवम् आर्थिक समृद्धि हासिल गर्ने मन्त्रालयको दीर्घकालीन सोच रहेको बताउनुभयो ।

मन्त्री गुरुङले पुराना ऐनलाई खारेज तथा संशोधनलगायतका कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने उल्लेख गर्नुभयो । उहाँले देशभर गुणस्तरीय दूरसञ्चार सेवा पुर्‍याउन आवश्यकता अनुसार बीटीएस तथा एफटीटीएचको विस्तारलगायतका काम अघि बढाइएको जानकारी दिनुभयो ।

मन्त्री गुरुङले सञ्चारमाध्यमको विज्ञापन, भाषा तथा प्रस्तुतीकरणलगायतका विषयको नियमनका लागि मन्त्रालयले आउँदाे आर्थिक वर्षमा विज्ञापन ऐन तथा नियमावलीमा संशोधन गर्ने, विज्ञापन बजारलाई नियमित व्यवस्थित गर्ने, व्यावसायिक वातावरण प्रवर्द्धन गर्ने र आमउपभोक्ताको हकहितलाई सुनिश्चित गर्न प्रदेश सरकार र पालिका तथा सम्बद्ध पक्षसँग समन्वय गरिने भनाइ राख्नुभयो ।

पत्रकार र पत्रकारिता क्षेत्रसँग सम्बद्ध संस्थाहरूको विकासमा सहयोग पुर्‍याउन सरकारले समयसमयमा उपलब्ध गराउने अनुदान तथा आर्थिक सहायताको बाँडफाँट र खर्च प्रक्रिया पारदर्शी बनाउन पत्रकारितासँग सम्बन्धित सङ्घ–संस्थालाई अनुदान तथा आर्थिक सहयोग वितरणसम्बन्धी कार्यविधि २०८० अनुसार मन्त्रालयबाट अनुदान वितरण र अनुगमन गर्ने गरिएको मन्त्री गुरुङले स्पष्ट पार्नुभयो ।

आमसञ्चारमाध्यममा सबै नागरिकको पहुँच स्थापित गर्न गोरखापत्रबाट ४५, सार्वजनिक प्रसारण रेडियो नेपालबाट २५, नेपाल टेलिभिजनबाट १४ भाषामा र राष्ट्रिय समाचार समितिबाट ३ वटा मातृभाषामा कार्यक्रम प्रकाशन तथा प्रसारण हुँदै आएको उल्लेख गर्दै उहाँले आउँदाे आर्थिक वर्षमा थप भाषामा समेत समाचार सामग्री प्रकाशन र प्रसारण गरिने जानकारी दिनुभयो ।

मन्त्री गुरुङले विभिन्न सञ्चारमाध्यमलाई तथ्यमा आधारित र आधिकारिक सूचना सामग्री उपलब्ध गराई पत्रकारिता क्षेत्रको विश्वसनीयता वृद्धि गर्न प्रेस काउन्सिल नेपालबाट हुने अनुगमनलाई प्रभावकारी बनाउने उल्लेख गर्नुभयो ।

मन्त्री गुरुङले सूचना प्रविधि क्षेत्रमा विकसित नवीनतम प्रविधिको उपयोग गर्न कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी नीति स्वीकृतिको चरणमा रहेको र आउँदाे आर्थिक वर्षमा एआईएको प्रयोग, प्रवर्द्धन र नियमनका लागि केन्द्रको स्थापना गरिने जानकारी दिनुभयो । उहाँले अहिले ब्रोडब्यान्ड इन्टरनेट सेवा विभिन्न पालिकाका ६ हजार ५६६ वडा केन्द्रमा पुगेको, आउँदाे आर्थिक वर्षमा सबै वडामा पुर्‍याउन काम भइरहेको, ४ हजार २७२ स्वास्थ्य केन्द्र र ५ हजार ३४१ सामुदायिक माध्यमिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान भइसकेको जानकारी दिनुभयो । उहाँले आउँदाे आर्थिक वर्षमा थप सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गरिने, विद्यालयमा अनलाइनमार्फत शिक्षण सिकाइ हुन सक्नेगरी पूर्वाधार निर्माण गरिने उल्लेख गर्नुभयो ।

मन्त्री गुरुङले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्‍मा दर्ता भइसकेको उल्लेख गर्दै साइबर आक्रमणको पहिचान, रोकथाम र प्रतिकार्य गर्दै उत्थानशील साइबर स्पेस तयार गर्ने उद्देश्यका साथ राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गरिएको बताउनुभयो ।

मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी कार्यान्वयन गरिने, सरकारी र सार्वजनिक सेवामा नागरिकको पहुँचलाई सहज बनाउन र सेवाहरूको दक्षता बढाउन धेरैजसाे सेवाहरूलाई नागरिक एपमा आबद्ध गर्नेगरी प्रणाली विकास गरिएको उल्लेख गर्नुभयो ।

उहाँले आउँदाे आर्थिक वर्षदेखि एक स्थानीय तह एक स्मार्ट हुलाक कार्यक्रम लागू गरिने तथा काभ्रेपलाञ्चोकको बनेपामा अत्याधुनिक प्रविधियुक्त छायाङ्कन स्टुडियो निर्माण प्रारम्भ भएको समेत जानकारी गराउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x