शिक्षा उपसमितिको प्रतिवेदनमा शिक्षक महासंघको आपत्ति

काठमाडौं– संघीय संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिवेदनमा पुनः असन्तुष्टि जाहेर भएको छ ।
गत चैत २० गते देखी काठमाडौंमा झन्डै एक महिना प्रदर्शन गरेर विद्यालय फर्किएको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले असन्तुष्टि जाहेर गरेको हो ।
आन्दोलनको मागको मर्म विपरीत शिक्षा उप समितिले प्रतिवेदन बुझाएको भन्दै अध्यक्ष लक्ष्मी किशोर सुबेदीले सामाजिक सञ्जालबाट असहमति जाहेर गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘शिक्षा उपसमितिको प्रतिवेदन’ शीर्षकमा असहमति जाहेर गर्दै लेखेका छन्, ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित उपसमितिले आज पेश गरेको प्रतिवेदन थुप्रै सवालमा अहिले दर्ता भएको विधेयक भन्दा पनि अनुदार र शिक्षक–कर्मचारी विरोधी भएको देखियो ।’
उनले अगाडी भने, ‘यसले अस्थायी प्रकृतिका राहत, साबिक उमावि, अस्थायी र करार, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा लगायतका शिक्षकलाई पनि सहमति बमोजिम न्याय गरेन, आबाधिक बढुवाको प्रबन्ध पनि चन्द्रमामा दिएको घडेरी जस्तै हुने भयो, सरुवा झन् शिक्षक मारा भयो, अस्थायी अवधि गणनाको समस्या पनि सम्बोधन भएन, विभागीय कार्यवाही जस्ताको तस्तै रह्यो ।’
हिजो मात्रै उपसमितिले आफ्नो प्रतिवेदन मूल समिति समक्ष पेश गरेको थियो, त्यसमा आन्दोलनरत शिक्षक महासंघको पुरै असन्तुष्टि देखिएको छ । अध्यक्ष सुबेदी अगाडी लेख्छन्, ‘बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको समस्या पनि सम्बोधन हुन सकेन, सबैलाई अन्याय गर्न खोजियो, विक्रम सम्बत २०७५, २०७८ र २०८० मा भएका सबै सहमतिलाई लत्त्याइयो र भर्खरै भएको २०८१ ०८२ को आन्दोलनलाई पनि बिर्सिएको देखियो।’
महासंघको निष्कर्षमा अध्यक्ष सुबेदीले भनेका छन्, ‘अब झन् दह्रो लडाइँ लड्नुको विकल्प छैन।’
WRITE COMMENTS FOR THIS ARTICLE