बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

बीआरआईमा कांग्रेसले विमति राख्नुको अर्थ छैन : उपमहासचिव ज्ञवाली

काठमाण्डाैं, – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चीनसँग भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतामा नेपाली कांग्रेसको संस्थागत निर्णयले अर्थ लाग्ने बताएका छन् ।

बीआरआई सम्झौतामा नेपाली कांग्रेसका नेताहरूको फरक–फरक धारणा आइरहेका बेला उपमहासचिव ज्ञवालीले सत्ता गठबन्धनका एउटै दलबाट भिन्न मत आउन नहुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको हालै भएको चीन भ्रमणको क्रममा गत बुधबार बीआरआई कार्यान्वयनका लागि बनेको ‘फ्रेमवर्क सम्झौता पत्र’मा हस्ताक्षर भएको छ ।

नेपालले सन् २०१७ मै बीआरआईको सैद्धान्तिक सम्झौतामा हस्ताक्षर गरेको ७ वर्षपछि निकै रस्साकस्सी र विवादबीच ‘फ्रेमवर्क सम्झौता’मा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार बीआरआई परियोजना ‘ग्रान्ट फाइनान्सिङ (अनुदान) मा नभई ‘टेक्निकल सपोर्ट एन्ड एड फाइनान्सिङ मोडालिटी (प्राविधिक सहयोग र सहायता)’मा अघि बढ्नेछ ।

यसको अर्थ कांग्रेसले भनिरहेको ‘अनुदान’मा मात्र नभई ‘ऋण’ वा ‘अनुदान’ दुवैमा बीआरआई परियोजना अघि बढ्नेछ । परराष्ट्र मन्त्रालयले मंगलबार बीआरआई सम्झौता फ्रेमवर्कको पूर्णपाठ पनि सार्वजनिक गरेको छ ।

‘सम्झौताको दस्तावेज सार्वजनिक भइसकेपछि यसभित्र के छ, स्पष्टै भयो,’ काठमाण्डुपाटीसँग कुरा गर्दै ज्ञवालीले भने, ‘त्यसैले अब यसमा कुनै द्विविधा छैन । यसभित्र अपारदर्शी कुरा छैन ।’

कांग्रेसको संस्थागत विमति र असहमतिभन्दा केही साथीहरूको मात्र फरक धारणा आएको उल्लेख गर्दै ज्ञवालीले यसको अर्थ नरहेको बताए । ‘हामीले कांग्रेसको संस्थागत निर्णय बुझ्ने हो । पदाधिकारी बैठक गरेर उसले बीआरआईको कार्यान्वयनमा जान भनिसकेको छ,’ उनले भने । तर केही नेताहरूले किन फरक धारणा दिइरहेको आफूले नबुझेको बताउँदै उनले यसमा तथ्यभन्दा बढी ‘आग्रह’ रहेको टिप्पणी गरे ।

‘कतिपय देश र शक्तिले नेपाल र चीनबीच भइरहेको साझेदारी नहोस् भन्ने चाहेका छन्, सम्बन्ध गहिरो नहोस् चाहेका छन् । यसको पछाडि केही भूराजनीतिक प्रभाव पनि छ,’ उनले भने ।

कांग्रेसका केही व्यक्तिहरूमा बीआरआईलाई बुझ्ने आग्रह रहेको देखिएको र यसको पछाडि भने कुनै तथ्य भने नरहेको उनले बताए । ‘कांग्रेसभित्र यस पछाडि राजनीतिक बुझाइ पनि छ कि जस्तोे लाग्छ तर उहाँहरूले भनेको कुरा कहीँबाट पुष्टि हुँदैन,’ ज्ञवालीले भने ।

सम्झौता सार्वजनिक भए पनि बीआरआईको मोडालिटी सजिलै परिभाषित भएको उनले उल्लेख गरे । ‘हामी कांग्रेसको राजनीतिभित्र प्रवेश गर्ने होइन । कसैलाई महाधिवेशनको चासो होला, कसैलाई केही होला तर मूल सरोकार भनेको बीआरआई सहमति नेपालको हितमा छ कि छैन ? यसको कार्यान्वयनबाट नेपाललाई लाभ हुन्छ कि हुँदैन ?’ उनले भने ।

ज्ञवालीले नेपालले दुवै छिमेकीसँग समान सम्बन्ध राख्न खोजेको बताउँदै प्रधानमन्त्री ओली छिट्टै भारत भ्रमणमा जाने बताए । ‘भ्रमण छिट्टै हुन्छ तर मिति टुंगिएको छैन,’ उनले भने ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x