मङ्लबार, भदौ ९, २०८३
Tuesday, August 25, 2026

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण कहिले, कहाँ ?

काठमाडौं – प्रधानमन्त्रीमा बालेन्द्र शाहले पदबहाली गरेको चार महिनाभन्दा बढी समय व्यतित भइसकेको छ । तर अहिलेसम्म उनले नेपालको प्रधानमन्त्रीका हैसियतमा कुनै पनि देशको भ्रमण गरेका छैनन् ।

विगतमा नयाँ सरकार बन्नासाथ पहिलो भ्रमण भारतबाट सुरु गर्ने परम्पराजस्तै थियो । बालेनले यो ‘बिरालो बँधाइ’ तोड्लान् वा नतोड्लान् भन्ने कौतुहल धेरैलाई छ ।

भारत कुनै पनि हालतमा बालेनको पहिलो भ्रमण आफ्नो देशमा गराउन आतुर देखिन्छ । यसका लागि जोडबल लगाइरहेको पनि छ । तर बालेनले अहिलेसम्म कुनै पनि निर्णय लिएका छैनन् । तत्काल भारत भ्रमणका लागि उनले तत्परता नदेखाएको स्रोतहरु बताउँछन् ।

प्रधानमन्त्री निकट स्रोत भन्छ, ‘देशको सरकार प्रमुखको विदेश भ्रमण आवश्यकताका आधारमा हुनुपर्छ । नकि परम्परा धान्नकै लागि । पहिलो भ्रमण यही देशबाट गर्नुपर्छ भन्ने उहाँको मान्यता छैन । आवश्यकता अनुसार जता पनि जान सक्नुहुन्छ ।’
हालै मात्र प्रधानमन्त्री शाहले आफ्ना प्रमुख सल्लाहकार कुमार बेनलाई आफ्नो भ्रमणको गृहकार्यका लागि गोप्यरुपमा भारत पठाएको निकै चर्चा चल्यो । तर यो चर्चा अहिलेसम्म चर्चैमा सिमित छ । बेनले आफू भारत नगएको दावी गरेका छन् भने भारतीय विदेश मन्त्रालयले पनि उनको भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ ।

त्यसो त बालेन प्रधानमन्त्रीमा नियुक्त भएको केही दिनमै उनको भारत भ्रमण तय भएको समाचारहरु आएका थिए । तर ती समाचारहरु झूटा ठहरिए । प्रधानमन्त्रीलाई दवावमा पार्न भारतीय पक्षले नै ‘मिडिया ट्र्यायल’ गरिरहेको बालुवाटारको बुझाइ छ ।

भारतका दूतहरुले विगतका प्रधानमन्त्रीहरुलाई जस्तो बालेनसँग सहज ‘एक्सेस’ पाएका छैनन् । भारतका राजदूतले जति प्रयास गर्दा पनि बालेनसँग एकल भेट पाएनन् । नेपाल भ्रमणमा आउने तयारी गरेका भारतीय विदेश सचिव विक्रम मिश्री पनि प्रधानमन्त्री भेट्न नपाउने भएपछि रोकिए । त्यसले गर्दा बालेनसँग भारत केही चिसिएको छ । तर उनलाई चाँडोभन्दा चाँडो भ्रमण गराएर आफ्नो प्रभावमा लिने प्रयास भारतीय पक्षबाट भइरहेको स्रोतहरु बताउँछन् ।

बालेनले भने कुनै ‘ग्रीन सिग्नल’ दिएका छैनन् । अहिलेसम्म प्रधानमन्त्रीको कतै पनि विदेश भ्रमण तय नभएको स्रोतले बतायो ।

प्रधानमन्त्रीले देशभित्रकै समस्याहरुलाई प्राथमिकतामा राखेको स्रोतको भनाइ छ । हालै मात्र मधेसी दलहरुको वैठकका क्रममा बालेनले देशभित्रैका समस्यामा केन्द्रित हुनु परेकाले विदेश जान नसकेको सांकेतिक अभिव्यक्ति दिएका थिए ।

बैठकका क्रममा उनले भनेका थिए, ‘मलाई पनि मोदीले जस्तै विभिन्न देश घुमिराख्ने रहर होला । तर नेपालको संघीयता भारतको जस्तो बलियो छैन । प्रदेश सरकारहरुले निवारण गर्नु पर्ने विषय पनि संघ सरकारले नै हेर्नु पर्ने अवस्था छ । कसरी छोडेर हिँड्ने ?’

राष्ट्रसंघ महासभामा पनि नजाने प्रधानमन्त्री शाहले पहिलो विदेश भ्रमण गर्नका लागि सबैभन्दा उपयुक्त हुनसक्ने अवसर थियो संयुक्त राष्ट्रसंघको महासभा । तर उनले यो अवसर पनि त्यागिदिएका छन् ।

राष्ट्रसंघको ८१ औं महासभा आउँदो सेप्टेम्बर ८ देखि २२ सम्म संयुक्त राज्य अमेरिकामा आयोजना हुँदैछ । विश्वका सरकार प्रमुख र राष्ट्रप्रमुखहरु सहभागी हुने यो महासभामा नेपालका प्रधानमन्त्री शाहको प्रतिनिधित्व निकै महत्वपूर्ण हुन सक्थ्यो ।

जेनजी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनपछि बनेको सरकारका युवा प्रधानमन्त्रीबारे विश्वस्तरमा निकै कौतुहल छ ।

पहिलोपटक नेपालका प्रधानमन्त्रीको आवाज राष्ट्रसंघको ठुलो फोरममा चासोका साथ सुनिन सक्थ्यो । तर बालेनले त्यहाँ नजाने निर्णय लिएपछि यो एक्सपोजरको अवसर खेर गएको छ ।

महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्नेछन् । थुप्रै विश्वनेताहरुको उपस्थिति रहने मञ्चलाई जान बालेन किन अनिच्छुक देखिए त ? यसलाई बालुवाटार स्रोतले फरकरुपमा अर्थ्यायो ।

स्रोत भन्छ, ‘सरकार गठनदेखि नै परराष्ट्र मामिलामा पार्टी सभापति रवि लामिछानेज्यूले चासो राख्दै आउनुभएको छ । उहाँले प्रधानमन्त्रीज्यूलाई ‘वैदेशिक मामिलाहरुमा परराष्ट्रमन्त्रीज्यूलाई म बाटो देखाउँछु, तपाई सरकार सञ्चालनमा केन्द्रित हुनुस्’ भन्नुभएको थियो । त्यसैले परराष्ट्र मन्त्रालयका विषयहरुमा प्रधानमन्त्रीले त्यति हस्तक्षेप गर्नु भएको छैन ।

राष्ट्रसंघको बैठकमा परराष्ट्रमन्त्रीज्यूलाई पठाउने निर्णय पार्टी सभापतिको चाहना अनुसार भएको हो ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x