बुधबार, साउन २०, २०८३
Wednesday, August 5, 2026

शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला

काठमाडौं – नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षले २९ साउनमा राष्ट्रिय भेला गर्ने अन्तिम तयारी गरेको छ। शनिबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका पूर्वमहामन्त्री तथा बीपीका कान्छा छोरा शशांक कोइरालाले ३१ साउनसम्म राष्ट्रिय भेलाको अन्तिम तयारी गरिएको बताए।

उक्त भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालासमेत सहभागी हुने भएका छन्। राष्ट्रिय भेलाका लागि शशांकको नेतृत्वमै ५५१ सदस्यीय समिति गठन गरिएको छ।

उक्त भेलामा शेखर पक्षको सहमति रहेको शशांकले पत्रकार सम्मेलनमा बताए। “उहाँले मेरो सहमति छ, व्यस्त भएकाले पत्रकार सम्मेलनमा आउन सकिनँ भनेर भनेर क्षमा माग्नु भएको छ,” कोइरालाले भने।

२७ पुसको विशेष महाधिवेशनमा सहभागी नभएको देउवा र शेखर पक्षले पार्टी एकताको अन्तिम प्रयास गर्दागर्दै पनि राष्ट्रिय भेलाबाट नयाँ कार्यदिशा तय गर्नुपर्ने अवस्थामा आइपुगेको बताएको छ। कोइरालाले सभापति गगन थापा पार्टी एकताका लागि अनिच्छुक देखिएपछि नयाँ कार्यदिशा तय गर्दै जानुपर्ने अवस्था आएको बताए।

निवर्तमान सभापति देउवा पक्षमा उपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, पूर्वउपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदारलगायत पुराना र अनुभवी नेताहरू रहेका छन्। बीपी स्मृति दिवसको अवसरमा ६ साउनमा इतर समूहले राष्ट्रिय भेलाको घोषणा गरेको थियो।

लामो समय वार्ताको प्रतिक्षामा रहेको इतर समूह उक्त प्रयासमा सभापति थापा अनिच्छुक देखिएपछि भेलाको अन्तिम तयारीमा जुटेको नेता मीन विश्वकर्माले बताए।

विशेषगरी २ जेठमा पन्ध्रौँ महाधिवेशनका लागि थापा पक्षले तयारी थालेपछि इतर समूहले असन्तुष्टि जनाउँदै आएको थियो। क्रियाशील सदस्यता अद्यावधिक, नवीकरण, नयाँ वितरणमा इतर समूह सहभागी थिएन। इतर समूहले चौधौँ र विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन, पन्ध्रौँ महाधिवेशन निष्पक्षताका लागि राजनीतिक संयन्त्र, क्रियाशील छानबिन, अनुशासनलगायत सबै समितिमा प्रतिनिधित्वको माग गर्दै आएको थियो।

तर, सभापति थापा इतर समूहको मागमा वार्ता-संवादमा कहिल्यै तदारुक नभएको आरोप इतर समूहले लगाएको छ। ६ साउनमा बीपी स्मृति दिवसको दिन इतर समूहले प्रज्ञा भवनबाट राष्ट्रिय भेलाको घोषणा गरेपछि थापाले ७ साउनमा  शेखरसँग भेट गरेका थिए। त्यसपछि थापाले अन्य कुनै नेतासँग भेट तथा संवादको निम्ति आह्वान नगरेको विश्वकर्मा बताउँछन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x