कश्यप एकेडेमीकाे वार्षिकोत्सव समारोह रोबोटद्वारा उद्घाटन
काठमाडौं । आधुनिक प्रविधि, संस्कार र उद्यमशील शिक्षाको अद्भुत संयोजन प्रस्तुत गर्दै कश्यप एकेडेमीले आफ्नो दोस्रो वार्षिकोत्सव समारोह एकदमै नवीन र आकर्षक शैलीमा सम्पन्न गरेको छ।
रोबोटद्वारा रिबन काटेर र मेसिनबाट पानसमा दीप प्रज्जवलन गरी उद्घाटन गरिएको दृश्यले उपस्थित सबैलाई अचम्मित बनाउँदै समारोहलाई झन् रोचक र स्मरणीय बनाएको थियो। मैत्रीनगर, कलंकीस्थित विद्यालय परिसरमा आयोजित उक्त समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम कम्पनी अध्यक्ष कमला खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष महाश्रम शर्मा उपस्थित रहेका थिए।
कार्यक्रममा विशेष अतिथिका रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिकेश तिवारी, जेष्ठ नागरिक नन्द प्रसाद सिलवाल, राष्ट्रिय योग प्रशिक्षक कञ्चन घिमिरे, विद्यालयका प्रिन्सिपल आर.बी. अधिकारी, सहायक प्रिन्सिपल नारायण पन्त, भाषा समन्वयक तथा ईसीए इन्चार्ज रबिन्सन बस्नेत, प्राथमिक तह इन्चार्ज एलिशा आचार्य लगायतको उपस्थिति रहेको थियो। अभिभावक प्रतिनिधिका रूपमा ध्रुव रेग्मी र यादव सेडाईंलाई पनि विशेष आतिथ्यता प्रदान गरिएको थियो। कार्यक्रमको सुरुआत नै अत्याधुनिक प्रविधिको प्रयोगबाट भएको दृश्यले उपस्थित सबैलाई रोमाञ्चित बनाएको थियो। रोबोटले कैँची समातेर रिबन काटेको र स्वचालित मेसिनबाट पानसमा बत्ती बालिएको क्षणले उपस्थित दर्शकहरू दंग परेका थिए। उपस्थित धेरैले यसलाई विद्यालयको प्रविधिमैत्री शिक्षण दर्शनको प्रत्यक्ष झलकका रूपमा व्याख्या गरेका थिए। कार्यक्रममा आगन्तुकहरूलाई विद्यालयका तर्फबाट स्वागत मन्तव्य राख्दै सहायक प्रिन्सिपल नारायण पन्तले वर्तमान समयको आवश्यकता र अभिभावकको अपेक्षालाई ध्यानमा राख्दै विद्यालयले दीर्घकालीन रणनीतिक योजनासहित अगाडि बढिरहेको बताए। उनले विद्यार्थीको पहिलो पाठशाला घर नै भएको भन्दै अभिभावकलाई आफ्ना नानीबाबुको शिक्षा र संस्कारप्रति सचेत रहन आग्रह गरे।
त्यस्तै कार्यक्रममा बोल्दै संस्थापक प्रधानाध्यापक आर.बी. अधिकारीले कश्यप एकेडेमीको मूल उद्देश्य संस्कार, विज्ञान–प्रविधि र उद्यमशीलतालाई एकैसाथ जोडेर समाजलाई आवश्यक जनशक्ति उत्पादन गर्नु रहेको बताए। उनले छोटो समयमै अभिभावकबाट प्राप्त विश्वास र सहयोगले विद्यालयलाई अझ अघि बढ्ने प्रेरणा दिएको उल्लेख गरे। “हामी केवल व्यवसायिक विद्यालय बन्न चाहँदैनौं,” उनले भने, “हाम्रो लक्ष्य समाज र राष्ट्रलाई आवश्यक पर्ने सक्षम, सिर्जनशील र जिम्मेवार नागरिक तयार पार्नु हो। त्यसबाट कीर्तिपुर नगरपालिका र मैत्रीनगर क्षेत्रलाई समेत देशभर चिनाउने हाम्रो उद्देश्य छ।” प्रमुख अतिथि महाश्रम शर्माले विद्यालयले अपनाएको समग्र शिक्षा प्रणालीले भविष्यका सक्षम नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले आधुनिक प्रविधि र संस्कारयुक्त शिक्षाको संयोजन आजको समयको प्रमुख आवश्यकता भएको पनि उल्लेख गरे। कार्यक्रमको औपचारिक सञ्चालन अनिल खड्का र दिया ठाकुरीले गरेका थिए भने सहभागिहरूको दर्ता आश्मा कार्की र कृतन नगरकोटीले गराएका थिए। कार्यक्रममा विभिन्न तहका विद्यार्थीहरूलाई समेत कार्यक्रम सञ्चालनको अवसर दिइएको थियो, जसले विद्यार्थीको नेतृत्व क्षमता विकासमा विद्यालयले दिएको महत्वलाई झल्काएको थियो। समारोहको अर्को आकर्षण भनेको विद्यार्थीहरूको सांगीतिक प्रस्तुति थियो। विद्यालयका संगीत प्रशिक्षक तथा संगीतकार आनन्द राईको संयोजनमा विद्यार्थीहरूले विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए।
आफ्ना नानीबाबुको प्रतिभा देखेर अभिभावकहरू निकै उत्साहित र गर्वित देखिन्थे। कार्यक्रममा विद्यालयले अग्रजप्रतिको सम्मान संस्कारलाई पनि विशेष महत्व दिएको देखियो। जेष्ठ नागरिक नन्द प्रसाद सिलवाललाई दोसल्ला ओढाएर सम्मानपत्रसहित अभिनन्दन गरिएको थियो। त्यसैगरी विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने शिक्षक, कर्मचारी र विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो। यस क्रममा सालिना पाण्डे उत्कृष्ट शिक्षक, एलिशा आचार्य उत्कृष्ट इन्चार्ज तथा इन्दिरा पौडेल उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित भएका थिए। छोटो समयमै गुणस्तरीय शिक्षा, प्रविधिमैत्री वातावरण र विद्यार्थी–केन्द्रित शिक्षण पद्धतिका कारण कश्यप एकेडेमी विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइ बन्न सफल हुँदै गएको सहभागीहरूको धारणा थियो।


WRITE COMMENTS FOR THIS ARTICLE